काठमाडौँ- नेपालको स्थापित बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिफा विश्वकप २०२६ को नेपालमा हुने प्रसारणको सह–प्रायोजक बनेको छ।
विश्वकपको नेपालका लागि आधिकारिक प्रसारणकर्ता ‘हिमालय स्पोर्ट्स’ सँग कम्पनीले सम्झौता गरेको हो।
यस सहकार्यअन्तर्गत नेपाल लाइफले फिफा विश्वकप २०२६ को प्रसारणका क्रममा हिमालय स्पोर्ट्स टेलिभिजन तथा डिंगो एपमार्फत आफ्नो उपस्थिति जनाउनेछ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकपको प्रसारणमा हिमालय स्पोर्ट्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताएका छन्।
अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गरेको फिफा विश्वकप २०२६ लाई लिएर नेपाली फुटबल प्रशंसकहरुमाझ उत्साह बढेको बेला नेपाल लाइफको यो सहकार्य सार्वजनिक भएको हो।




