फाइल तस्बिर : एफपी
काठमाडौँ – गजामा इजरायली आक्रमणमा अल जजीरा टेलिभिजनका एक क्यामराम्यानसहित ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक जना बालक रहेका छन्।
यो जानकारी स्वास्थ्य अधिकारी र उद्धारकर्मीहरुले दिएका छन्।
अल जजीराले आफ्ना संवाददाता अहमद विशाहको मृत्यु भएको भन्दै घटनाको भत्र्सना गरेको छ। उनी शनिबार मध्य गजाको एक घरमा भएको आक्रमणमा मारिएका थिए।
अल जजीराले विशाहको मृत्यु ‘अन्तर्राष्ट्रिय कानुन र मादण्डहरुको स्पष्ट उल्लंघन भएको र यसले पत्रकारहरुलाई निशाना बनाउने तथा सत्यको आवाजलाई दबाउने’ पनि बताएको छ।
अर्कोतर्फ इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले विशाह ‘हमासको सैन्य शाखासँग आवद्ध भएको’ दाबी गरेको छ। तर, इजरायली सेनाले यो दाबी पुष्टि गर्ने कुनै पनि प्रमाण सार्वजनिक गरेको छैन।
गजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा इजरायल र हमासबीच लागू भएको युद्धविरामयता इजरायली सेनाको कारबाहीमा १ हजार ७ जनाको मृत्यु भइसकेको छ।
गजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई संयुक्त राष्ट्रसंघले विश्वनीय मान्दछ।




