काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विद्यालय कर्मचारीका माग सम्बोधनका लागि सञ्चालन गरिएको आन्दोलनको समीक्षा तथा आगामी रणनीति तय गर्न राष्ट्रिय समिति र जिल्ला अध्यक्षहरूको भौतिक बैठक बोलाएको छ।
परिषद्ले जारी गरेको पत्रअनुसार नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्यालय कर्मचारीहरूलाई गरेको उपेक्षा र त्यसको विरोधमा असार २९ गतेदेखि साउन ५ गतेसम्म सञ्चालन गरिएको पहिलो चरणको आन्दोलनको समीक्षा बैठकमा गरिनेछ। आन्दोलनका आगामी कार्यक्रम र रणनीतिबारे पनि छलफल गरी निष्कर्ष निकालिने जनाइएको छ।
परिषद्का महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीद्वारा हस्ताक्षरित पत्रमा राष्ट्रिय समिति पदाधिकारी तथा सबै जिल्ला अध्यक्षहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
बैठक असार ६ गते शनिबार बिहान १०:३० बजे काठमाडौँको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा आयोजना हुने जनाइएको छ।
परिषद्ले विद्यालय कर्मचारीका सेवासुविधा, तलब तथा व्यवस्थापनसँग सम्बन्धित मागहरूलाई सरकारले बजेटमार्फत सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइरहेको छ।




