सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री

हिमाल प्रेस १९ वैशाख २०८३ ७:२८ | Saturday, May 2, 2026
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको  प्राथमिकता : सञ्चारमन्त्री सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् ।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताए ।

उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, ‘स्टार्टअप’ समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालामा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्नुभएको छ ।

‘यसै सन्दर्भमा मन्त्रालयले आगामी दशक–लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘नागरिक ‘एप’लाई थप सुदृढ र प्रभावकारी बनाउँदै नागरिकले राज्यका अत्यावश्यक सेवाहरु एउटै डिजिटल ‘प्लेटफर्म’मार्फत सहज रुपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार गरिँदै छ ।’

नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, ‘डेटा’ अर्थतन्त्र तथा ‘आर्टिफिसियल इन्टेलिजेन्स’को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, राष्ट्रिय ‘साइबर’ सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी तथा संस्थागत संरचनाको सुधारलाई मन्त्रालयले तीव्रता दिएको उनको भनाइ छ ।

देशभर उच्च गतिको ‘ब्रडब्यान्ड इन्टरनेट’ विस्तार, सरकारी ‘डाटा सेन्टर’ तथा ‘डिजास्टर रिकभरी’ प्रणालीको सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि, तथा दक्ष सूचना प्रविधि जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्दै डिजिटल समावेशिता सुनिश्चित गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको उनले बताए । रासस

प्रकाशित: १९ वैशाख २०८३ ७:२८ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast