काठमाडौँ- टिकटकमा लोकप्रिय फलोअर्स र दर्शकको माया कमाएका आयुष सिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा पनि देखिँदैछन्।
आयुषले माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘राम नाम सत्य’ बाट डेब्यु गरेका हुन्। फिल्म चैत २७ अर्थात् यही शुक्रबारबाट देशभरका हलमा प्रदर्शन हुँदैछ।
फिल्मलाई लिएर निकै उत्साहित रहेको आयुषले बताए। फिल्ममा काम गर्ने अफर आइरहँदा राम नाम सत्यको कथा मन परेर जोडिएको उनले बताएका छन्। उनले भने, ‘यो फिल्मको कथावस्तु मन परेर मैले काम गरेको हुँ। मलाई अरु फिल्मको अफर नआएको होइन। तर, राम नाम सत्यको कथाले तान्यो र काम गर्न तयार भएँ।’
फिल्मभित्र आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने आयुषको तर्क छ। थोरै अंश फिल्मको ट्रेलरमा पनि अटाएको छ। ट्रेलरको संवादमा आफ्नो स्वर परिवारले चिन्न नसकेको उनले सुनाए।
टिकटकमा लाखौं फलोअर्स कमाएका आयुषलाई ती दर्शक हलसम्म तान्ने चुनौती छ। यो विषयमा आयुष भन्छन्, ‘विदेशमा बस्ने धेरै नेपालीहरूले पनि नेपालमा रहेका आफन्त र साथीभाइका लागि टिकट खरिद गरिदिने, हल बुक गरिदिने भन्नुभएको छ। दर्शक फिल्मप्रति नै उत्साहित रहेको पाएको छु।’
आयुषले फिल्मका लागि आफूले शतप्रतिशत मिहिनेत गरेको सुनाए। फिल्ममा कथावस्तु बलियो रहेको, सस्पेन्स-थ्रिलर कथा रोचक रहेको सुनाउँदै आयुषले हरेक कोणबाट फिल्मले दर्शकलाई मनोरञ्जन दिने तर्क गरे।
अब निरन्तर फिल्म क्षेत्रमा काम गर्ने आयुषको योजना छ। उनले भने, ‘मैले अझै मिहिनेत गर्नु छ। आफूलाई तयार पार्नु छ। त्यसैले, हतार गरेर काम गरिहाल्छु भन्दिनँ। तर, अब निरन्तर यही क्षेत्रमा अगाडि बढ्छु।’
उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा बनेको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायत कलाकारको अभिनय छ।




