काठमाडौँ- विष्णु खत्री नेतृत्वको नेपाल राहत शिक्षक राष्ट्रिय समितिले आफ्नो आन्दोलन कुनै संघ, संगठन वा महासंघविरुद्ध नभई पूर्ण रूपमा पेसागत सुरक्षाका लागि भएको बताएको छ।
समितिले नेपाल शिक्षक संघको संघीय कार्यालय धुम्बाराहीमा बुधबार करिब चार घण्टा संघका अध्यक्ष सोमनाथ गिरी, इलमबहादुर शाही, ज्ञानेन्द्रबहादुर रावलसँग छलफल गरेको थियो।
त्यहाँ राहत शिक्षकका मागहरूबारे गम्भीर छलफल गरिएको थियो। समितिले लामो समयदेखिको संघर्षका क्रममा अपनाइएका रणनीतिहरू केवल आफ्ना एजेन्डा स्थापित गर्नका लागि मात्र भएको र त्यसलाई व्यक्तिगत अहंकारका रूपमा नलिन आग्रह गरेको छ।
छलफलका क्रममा पेसागत निरन्तरता सुनिश्चित गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने, पेसा छोड्ने शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’ व्यवस्था गर्ने तथा खाली हुँदै जाने राहत कोटालाई स्वीकृत दरबन्दीमा रूपान्तरण गरी खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने जस्ता मागहरूमा विचार विमर्श गरिएको थियो।
शिक्षक संघका पदाधिकारीहरूले सबै शिक्षकको पेसा जोगाउने कार्यमा आफ्नो सहयोग र अग्रसरता रहने प्रतिबद्धता जनाउँदै पेसा निरन्तरतासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोष नै अबको अपरिहार्य विकल्प भएको स्पष्ट पारेका छन्।
समितिले आफ्ना मागहरू कार्यान्वयन गराउन आगामी दिनमा थप पहल जारी राख्ने जनाएको छ।




