मधेशका सांसदसँग प्रधानमन्त्रीको छलफल : जानकी मन्दिरदेखि रेडक्रसको भ्रष्टाचारसम्म

हिमाल प्रेस १८ चैत २०८२ १७:३३ | Wednesday, April 1, 2026
106
SHARES
मधेशका सांसदसँग प्रधानमन्त्रीको छलफल : जानकी मन्दिरदेखि रेडक्रसको भ्रष्टाचारसम्म तस्बिर ; प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- मधेश प्रदेशका सांसदहरूले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा समावेश गराउन आवश्यक पहल गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा धनुषा–३ बाट निर्वाचित सांसद मनिष झाले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा समावेश गराउन सरकारको तर्फबाट आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्न आग्रह गर्‍यौँ, अहिले ९ वटा सम्पदाहरू सूचीकृत हुने अवस्थामा रहेकोमा शीर्ष तीनमा जानकी मन्दिर रहेको छ,’ उनले भने,‘केही कामहरू तीनवटै तहका सरकारहरूले गर्नुपर्नेछ, यसका लागि संयुक्त योजना बाउन संघीय सरकारलाई पहल गर्न अनुरोध गरेका छौँ।’

जनकपुरधामलगायतका क्षेत्रमा हरेक वर्ष हुने गरेको खानेपानी समस्या समाधान गर्नतर्फ पनि प्रधानमन्त्री शाहलाई ध्यानाकर्षण गराएको उनले बताए।

‘खानेपानी समस्या अन्त्य गर्न आवश्यक जलसतह सफा गर्न केन्द्रबाट विशेष अभियान सञ्चालन गर्न जरूरी रहेको भनेका छौँ,’ उनले भने।

सांसद झाले धनुषा रेडक्रसमा व्यापक भ्रष्टाचार रहेको भन्दै यसमा हस्तक्षेप गर्न प्रधानमन्त्री शाहलाई ध्यानाकर्षण गराएका छन्।

‘रेडक्रसमा व्याप्त भ्रष्टाचार रहेको छ, धनुषा पनि भ्रष्टाचारबाट अछुतो छैन। संभव भए देशभरकै नभए कम्तीमा धनुषा रेडक्रसलाई विघटन गरेर नयाँ म्यान्डेट दिनुपर्छ भनेर प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेको छु,’ उनले भने।

झाले जनकपुर–आयोध्या रेलमार्ग सञ्चालनका लागि केन्द्र सरकारबाट आवश्यक पहल गर्न पनि उनले प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन्। त्यस्तै उनले कृषिजन्य उत्पादनका लागि संकलन केन्द्र स्थापना गरेर बजारसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

सांसदहरूसँग छलफलका क्रममा प्रधानमन्त्री शाह सक्रिय सहभागिता जनाएको उनले बताए। उनले भने,‘प्रधानमन्त्रीज्यू एक्टिभ्ली सहभागी हुनुभयो, फिडब्याक पनि दिनुभयो।’

प्रधानमन्त्री शाहले आगामी बजेटलाई लक्षित गर्दै तत्काल गर्न सकिने कामहरूबारे जानकारी लिन मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्री शाहले आ–आफ्ना क्षेत्रमा तत्काल गर्न सकिने कामको सूची मन्त्रालयगत रूपमा लेखेर सचिवालयमा पठाउन निर्देशन दिए।

छलफलका क्रममा कतिपय सांसदहरूले जिल्लाका एसपी र सीडीओले आफूहरूको कुरा सुन्न नचाहेको भन्दै प्रधानमन्त्री शाहसँग गुनासो गरेका थिए। जवाफमा उनले जनप्रतिनिधि भएपछि कुरा सुन्नैपर्ने र यसका लागि आफूलाई प्रहरी प्रमुखलाई निर्देशन दिने बताए।

‘कतिपय माननीयज्यूहरूले एसपी र सीडीओले कुरा नसुनेको गुनासो गर्नुभयो,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै झाले भने,‘यसरी कसरी हुन्छ? जनप्रतिनिधिको कुरा सीडीओ र एसपीले सुन्दैन? म आजै आईजीपी र गृहसचिवलाई निर्देशन दिन्छु, कुरा गर्छु, यसरी भयो भने सचिवालयमा जानकारी गराउनुस्।’

प्रधानमन्त्री शाहले भइपरी आएको कुराका लागि आफ्नो सचिवालयसमेत रहने गरी प्रतिनिधिसभा सदस्यहरूको व्हाट्सएप समूह बनाउन निर्देशन दिएका छन्। सुदूरपश्चिमका सांसदहरूले सोमबार छलफलका क्रममा हवाई उडान कम भएको गुनासो गरेपछि बुधबारबाटै उडान संख्या बढाइएको उनले जानकारी दिए।

प्रकाशित: १८ चैत २०८२ १७:३३ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast