अन्तर्वार्ता

‘मुम्बईको सडक संघर्षले विश्व व्यापार बुझ्ने अवसर दियो’

दुई सय रूपैयाँदेखि सय करोडको सञ्जाल बनाएका प्रवासी नेपाली मनाेज कोटालले जोडे मुम्बईबाट विश्व

आशा थपलिया ९ वैशाख २०८३ २१:३३ | Wednesday, April 22, 2026
22
SHARES
‘मुम्बईको सडक संघर्षले विश्व व्यापार बुझ्ने अवसर दियो’

उतिबेलाको बम्बे (मुम्बई) मा रोजगारी संकटको नब्बेको दशक। सात वर्षको उमेरमा बाबुको निधन। दु:खको पनि उत्कर्ष। बिहानको खानापछि बेलुका पानीको भर। राति चौकीदारको नोकरी, बिहान स्कुल, नाइट कलेज। अकल्पनीय सवारी दुर्घटना, जीवनभर अपांग हुन सक्ने चिकित्सकको अनुमान। मुम्बईको अण्डरवर्ल्ड डनको त्रास, संघर्ष पनि कति कति। तर पनि हार नमानेका ५५ वर्षीय प्रवासी नेपाली मनोज कोटाल। दुई सय रूपैयाँको कमाइ गर्ने मनोज आज सय करोड नेटवर्थका मालिक छन्। मुम्बई बसेर विश्व जोडने भएका छन्।

दुई करोड जनसंख्या रहेको मुम्बईमा करिब तीनदेखि पाँच लाख नेपाली बसोबास गरिरहेको अनुमान छ। यिनै नेपाली मध्येहरूबाट इन्टरनेसनल लजिस्टिकको क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव सँगालेका मनोज अहिले मुम्बईको ठाणेस्थित वाग्ले स्टेटमा रहेको ओमेगा बिजनेस पार्कको आफ्नो चेम्बरबाट दुईवटा कम्पनी सञ्चालन गरिरहेका छन्-  मास्क लजिस्टिक प्रालि र कोटाल म्यानेजमेन्ट सर्भिसेज। सिपिङ म्यानेजमेन्टमा डिप्लोमा गरेका मनोज इन्टरनेसनल लजिस्टिकबारे गहिरो ज्ञान राख्छन्। उनी नेपालमा सप्लाई चेन म्यानेजमेन्टमा युवाहरूका लागि व्यापक अवसर देख्छन्। नेपालसँगको उनको निकटता र सडक संघर्षदेखि सफलतासम्मको यात्राबारे उनको मुम्बईस्थित चेम्बरमा हिमाल प्रेसकालागि आशा थपलियाले गरेको कुराकानी:

तपाईंको पारिवारिक पृष्ठभूमि र नेपालसँगको सम्बन्ध बारेमा जानौँ न?

नेपाल-भारतबीच भएको १९५० को सन्धिकालमा नै बाजेबुबा रोजगारीको खोजीमा मुम्बई आउनुभएको थियो। मेरो जन्म मुम्बईमै भएको हो, तर हाम्रो जरा नेपालमै छ। बुबा बम्बेमा उतिबेलाको हिन्दुस्तान लिभर (हालको युनिलिभर) कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्नुहुन्थ्यो। म सात वर्षको हुँदा उहाँको देहान्त भयो। त्यसपछि घरको आर्थिक संरचना नै डगमगायो। यहाँ बसेर आफ्नो करियर बनाउने क्रममा मैले देखेँ- हरेक समुदाय आफ्नो मूल स्थानसँग जोडिएको हुन्छ। गुजराती, मारवाडी, दक्षिण भारतीय सबैले आफ्नो पहिचान जोगाएका छन्। त्यसैले मलाई उत्प्रेरित गरेको हो, हाम्रो पहिचान नेपाली हो। त्यसैले नेपालसँग जोडिनैपर्छ भन्ने लागेर म नेपालसँंग नजिकिँदै गए।

कहिलेदेखि नेपालसँग सक्रियरूपमा जोडिन थाल्नुभयो ?

सन् २०१३ बाट म नियमित रूपमा नेपाल जान थालेँ। सानोदेखि नै हाम्रो परिवार अध्यात्मिक थियो। सन्त निरकांरी मिसनको सत्संगको कार्यक्रम सुदूरपश्चिम जाँदा मैले नेपाललाई नजिकबाट बुझ्न थाले। त्यसपछि कैलाली टीकापुरमा घर पनि बनाएँ। मेरो छोराको बिहे पनि नेपालमै गरेँ। बुहारी पनि नेपाली भित्र्याएको छु।

आज सफल उद्यमी हुनुहुन्छ, कतिका चुनौतीहरू आए?

भारतमा मात्र नभई एसियामै ‘ड्रिम सिटी’ का रूपमा चिनिने मुम्बईमा जन्मिए पनि मेरो जीवन सजिलो थिएन। सन् १९८० को अन्त्यतिर मुम्बईमा ठूलो आर्थिक संकट आयो। आर्थिक उदारीकरण नीतिका कारण मुम्बईको आर्थिक मेरुदण्ड मानिने कपडा उद्योग (टेक्सटाइल मिलहरू) बन्द हुन थाले। उत्पादन हब मुम्बई कर्पोरेट हबमा रूपान्तरण हुन थाल्यो। हजारौँ मजदुरहरू बेरोजगार भए। त्यो परिवर्तन सहज थिएन। विशेष गरी निम्न र मध्यम वर्गीय कामदारहरूका लागि। अवस्था कतिसम्म नाजुक थियो भने मजदुरहरूले आफ्नो घर बेचेर, लत्ताकपडा सामानहरू बेचेर, अनि महिलाहरूले त परिवार चलाउन आफनो जीवन नै बेच्नुपरेको दर्दनाक यथार्थ पनि थियो। ९०को दशकमा बेरोजगारी गम्भीर समस्या बन्न पुग्यो।

भनेपछि चुनौतीको बाक्लो चाङ नै रहेछ?

हो नि, १९७८मा नै पिताजी (मानसिंह कोटाल) स्वर्गे हुँदा परिवारमा बज्रपात परिसकेको थियो। हामी चार जना छोरा छोरी थियौं। तीन दाजुभाइ र एक दिदी। म कान्छो थिएँ। नेपालबाट आउनुभएकी मेरी आमा (मनिका कोटाल) अशिक्षित हुनुहुन्थ्यो। हाम्रो परिवार पनि चरम आर्थिक संकटमा थियो। बिहान खाए बेलुका के खाने भन्ने अवस्था थियो। कति रात त पानी मात्र पिएर सुतेको अझै याद आउँछ। आज कुनै चीजको कमी छैन तर ती दिनहरू याद आउँदा आज पनि आँखा रसाउँछन्।

त्यसो भए यहाँको पढाइको यात्रा कतिको सहज रह्यो?

थिएन। तर मेरो जेठो दाजुले आफ्नो पढाइ छोडेर हामीलाई पढाउने जिम्मेवारी लिनुभयो। ९-१० कक्षामा थिएँ। पढ्नु पनि थियो साथसाथै कमाउनु पर्ने मानसिक दबाब पनि। अनि मैले पनि काम गर्न थालेँ।

के कस्ता काम गर्नुभयो त्यो उमेरमा?

भारतमा पहिलो पुस्ताका नेपालीले आएर जे काम गरेका थिएँ। मैले पनि त्यही कामलाइ निरन्तरता दिए। नाइट सिफ्टमा सेक्युरिटी गार्डको नोकरी गर्न थाले। बिहान स्कुल जान्थेँ, राति सेक्युरिटी गार्डको काम गर्थेँ। पढाइ छोड्न सक्दिनथे।  त्यसैले बिहान मुम्बईको स्वामी विवेकानन्द हाइस्कुलमा पढन जान्थे, राती काम गर्ने बेलामा गृहकार्य पनि त्यहिं सिध्याउँथे। अनि पछि दिउँसो काम गरेर कलेजमा राति पढ्न् थाले। मुम्बईमा नाइट कलेजको सुविधा थियो र मैले स्नातक गर्न सकें।

कस्तो थियो त्यो समय ?

साउथ बम्बेको भिक्टोरिया टर्मिनसल (आजको छत्रपति शिवाजी टर्मिनल) नजिकै सिद्धार्थ कलेज थियो, जुन बम्बे युनिभर्सिटीसँग आबद्ध थियो। आर्थिकरूपमा कमजोर विद्यार्थीहरूका लागि भारत सरकारले न्यूनतम शुल्कमा पढ्ने व्यवस्था गरेको थियो, जसले हामीजस्ता युवाहरूलाई ठूलो अवसर दिएको थियो। तर त्यहाँको न्यूनतम शुल्क तिर्न सक्ने पनि क्षमता थिएन। हाईस्कुल भर्नाका लागि मलाई दुई सय रूपैयाँ आवश्यक थियो। त्यसका लागि पनि मैले एउटा होटलमा दुई महिना काम गरेँ। त्यही कमाएको दुई सय रूपैयाँ तिरेर म स्कुल भर्ना भए।

नाइट कलेजमा पढ्दा मासिक एक सय रूपैयाँ तिर्नुपर्थ्यो। कलेजमै च्यारिटेबल लाइब्रेरी र किताबहरूको व्यवस्था थियो, जसले गर्दा अतिरिक्त आर्थिक भार बिनानै पढाइ अगाडि बढाउन सम्भव भयो। त्यतिबेला मेरो मासिक तलब ६ सय रूपैयाँ थियो। त्यसमध्ये दुई सय रूपैयाँ आफ्ना व्यक्तिगत खर्चका लागि राख्थेँ भने चार सय रूपैयाँ घरमा दिन्थे। यो सन् १९८०-९० को दशकको कुरा हो। त्यो समयमा त्यति पैसाले परिवारको आधारभूत आवश्यकताहरू पूरा गर्न सकिन्थ्यो। त्यो दशक वास्तवमै संघर्षको समय थियो, जहाँ काम, पढाइ र परिवारको जिम्मेवारी सँगसँगै सम्हाल्नुपर्थ्यो।

तपाईंको जागिरे जीवन कसरी सुरु भयो?

मैले नरोत्तम मोरारजी इन्स्टिच्युट अफ सिपिङ, मुम्बईबाट सिपिङ म्यानेजमेन्टमा डिप्लोमा सके लगतै मित्सुइ लाइन एजेन्सी सिपिङ जापनिज कम्पनीबाट जागिर थालेँ। करिब २० वर्ष त्यहाँ काम गरेँ। अपरेसन विभागबाट मैले काम सुरु गरेको हो। मुम्बई पोर्टबाट बाह्य मुलुकमा पठाउने मालसामानको धुलाइ, कन्टेनरमा माल लोड गर्ने, भन्सार प्रकृया पूरा गराउने, प्राविधिक कागजातहरू बनाउने सम्पूर्ण काम गर्थे। पछि मेहनत र लगनशीलता देखेर मलाई अपरेसन विभागको प्रमुख बनाइयो। सामान्य काम गर्दै प्रमुख भएर काम गर्न थालेपछि थप अनुभव भयो नि।

करियरमा आएको टर्निङ  प्वाइन्ट के थियो?

सिपिङ कम्पनीमा अपरेसनबाट सुरु गरेर म सिनियर अपरेसन म्यानेजरसम्म पुगेँ। ५ वर्षमै मेरो तलब ६ सयबाट २५ हजार पुगेको थियो। त्यो मेरो जीवनको ठूलो मोड थियो। त्यतिबेला लाग्थ्यो विश्वकै सबैभन्दा धनाढय व्यक्ति मै हुँ। मलाई सम्झना छ, त्यो तलब मैले आमालाई सुम्पिएर उहाँको आशीर्वाद लिएको थिएँ। मेरो जीवन अनुशासित थियो, धार्मिक थिएँ। सन्त निरंकारी भन्ने एउटा आध्यात्मिक मिसनसँग हाम्रो परिवार नै जोडिएको थियो। हरेक सप्ताह सत्संगमा भाग लिन्थ्यौँ। वास्तवमा आध्यात्मले हाम्रो पारिवारिक र पेसागत जीवन सन्तुलित बनाउँछ।

मुम्बईको समुद्री बन्दरगाहमा काम गर्दाको अनुभव?

नियमित मालसामान आवागमनको जाँच गर्ने जिम्मेवारीमा थिए। बेलार्ड स्टेटमा अफिस थियो। इन्दिरा गान्धी बन्दरगाहसँग जोडिएको थियो। भारतको सबैभन्दा ठूलो बन्दरगाह थियो त्यो। बन्दरगाह एउटा अन्तर्राष्ट्रिय स्थान थियो। विमानस्थलजस्तै सामुद्रिक बन्दरगाहमा सुरक्षा नियम निकै कडा हुन्थ्यो।

त्यतिबेला त बम्बेमा अण्डरवर्ल्डका डनहरूको पनि दबदबा थियो  नि, होइन?

हो नि। त्यतिबेला बम्बेमा अन्तर्राष्ट्रिय बन्दरगाहबाट अनाधिकृत कारोबार गर्ने समूह थियो। जसको नाइके हाजी मस्तान र करीम लाला थिए, जसलाई अण्डरवर्ल्ड डनको रूपमा चिनिन्थ्यो। बम्बे नै डराउँथ्यो उनीहरूसँग। एक दिनको कुरा हो- म काममा जाँदै गर्दा पोर्ट बाहिरसम्म जानका लागि एक व्यक्तिले मसँग लिफ्ट मागे। मेरो हाकिमले सुरुमा एउटा कडा निर्देशन दिएका थिए- ‘पोर्टभित्र न कसैसँग लिफ्ट लिनु न कसैलाई दिनु।’ किनकि त्यहाँ के भइरहेको छ, कसले के बोकेको छ भन्ने थाहा नहुने। अत्यन्त जोखिमपूर्ण वातावरण थियो। त्यसैले मैले त्यो व्यक्तिलाई लिफ्ट दिइनँ।

त्यही साँझ मलाई एउटा फोन आयो- मलाई पोर्टभित्रकै एक स्थानमा बोलाइयो, जसलाई ‘घडियाल गोदी (वाच पोर्ट)’ भनिन्थ्यो। त्यहाँ पुग्दा जुन व्यक्तिसँग भेट भयो, त्यो मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो। मेरो प्रत्यक्ष भेट हाजी मस्तानसँग भइरहेको थियो। म केही पर उभिएको थिएँ। उनका मानिसहरूले ‘हाजी मस्तान’ साहेबले बोलाउनुभएको छ भने। म नजिक गएँ। दुब्लो पातलो, कालो रंगको मान्छे सेतो सफारी सुटमा, नाके स्वरमा मलाई हिन्दीमा सोधे- ‘क्यूँ छोटे तुने मेरे आदमीको लिफ्ट नही दिया?’ मैले विनम्रतापूर्वक जवाफ फर्काए, ‘हाजी साहब माफ करना ए कुछ अच्छी चीजे लेकर नही जा रहा था इसलिए मैने मना किया।’ अनि उनले धम्कीको स्वरमा भने, ‘तुझे गोदीमे काम करना है कि नही?’ ओहो, त्यो क्षण मेरो लागि अत्यन्त तनावपूर्ण थियो।

अनि कसरी जोगिनुभयो त?

मैले अलिकति समझदारीले काम लिएँ, मेरो बुबाले काम गर्ने ठाउँ अर्को डन करीम लालाको एरिया थियो। डनहरूबीच पनि एउटा समझदारी हुन्थ्यो। यसको पछाडि पनि एउटा वास्तविकता के छ भने सत्तरीको दशकमा भारतमा चौकीदारीमा काम गर्ने दुई समुदाय मात्र हुन्थ्यो। नेपाली र अफगानी। मेरो बुबाको साथी अफगानी चौकीदार थियो। अफगानी चौकीदारहरू करीम लालाको पक्षका हुन्थे त्यसकारण मेरो बुबाको पनि करीम लालासँग भेटघाट भइरहन्थ्यो।

अनि मैले बुबाको नाम उल्लेख गरे। मैले हाजी मस्तानलाई भने, साहब मै साथीका बेटा हुँ , जो सिउडीमे रहते थे। बुबाको चिनजानलाई बताउँदै गएपछि उनले ‘जा बेटा जा’ भनेर मलाई छाडिदिए। यदि मैले बुबाको बारे बताउन नसकेको भए अथवा हाजीलाई विश्वस्त बनाउन नसकेको भए त्यो दिन मुम्बईमा मेरो अन्तिम दिन पनि हुन सक्थ्यो।

त्यस्तो डर थियो?

हो नि। कि त त्यो ठाउँमा उनीहरूसँग मिलेर काम गर्नु भनेको सामान्य जीवनमा फर्किने बाटो बन्द गर्नु हुन्थ्यो। छिर्ने बाटो त हुन्थ्यो निस्किने बाटो नै हुन्नथ्यो। मेरो पनि मुटु कामिरहेको थियो। आजभोलि त्यस विषयमा बलिउडमा धेरै फिल्महरू पनि बनिसकेका छन्। ती फिल्महरू त्यसै बनेका होइनन्।

राम्रो समय कहिलेबाट देख्नुभयो ?

अर्को एउटा कठीन परीक्षा बाँकी नै थियो। मेरो जीवनको सबैभन्दा कठिन तर सिकाइपूर्ण अनुभव एक गम्भीर सडक दुर्घटनासँग जोडिएको छ। एक दिन मोटरसाइकलमा घर फर्किँदै गर्दा अचानक भएको दुर्घटनाले मेरो जीवन बदलिदियो। उक्त दुर्घटनामा म गम्भीर रूपमा घाइते भएँ। दुर्घटनापछि मलाई तुरुन्तै अस्पताल लगियो, जहाँ मैले तीन महिनासम्म उपचार गराएँ। मेरा दुवै खुट्टा भाँचिएका थिए। डाक्टरहरूले सुरुवातमा मेरो अवस्था हेरेर भविष्यमा म हिँड्न सक्दिनँ भनेर सुनाए। यसले मेरो मन निकै कमजोर भयो र म डिप्रेसनमा पुगेँ। तर मैले हार मानिनँ। शारीरिक उपचारका साथै मानसिक रूपमा पनि आफूलाई बलियो बनाउने प्रयास गरिरहेँ। मेरो आत्मविश्वास, परिवारको साथ, र उपचारको प्रभावले गर्दा बिस्तारै मेरो स्वास्थ्यमा सुधार आउन थाल्यो। करिब एक वर्षपछि म पूर्ण रूपमा निको भएर फेरि आफ्नै खुट्टामा हिँड्न सक्षम भएँ।

यस कठिन यात्रामा पनि मैले आफ्नो कामप्रतिको समर्पण छोडिनँ। अस्पतालबाटै पनि मैले अफिसको काम गरिरहेँ। मेरो यो मेहनत र लगनशीलतालाई मेरो कम्पनीले उच्च मूल्या‌ंकन गर्‍यो। अन्ततः एक वर्षपछि म फेरि नियमितरूपमा आफ्नो काममा फर्कन सफल भएँ। यसमा आध्यात्मिक शक्ति र दृढ इच्छाशक्तिले ठूलो भूमिका खेलेको छ। यो अनुभवले मलाई जीवनमा जति नै ठूलो समस्या आए पनि धैर्य, आत्मविश्वास र निरन्तर प्रयासले त्यसलाई जित्न सकिन्छ भन्ने महत्त्वपूर्ण पाठ सिकायो।

सिपिङ र लजिस्टिक इन्डस्ट्रिजमा लामो अनुभव सँगाल्दा के सिक्नुभयो?

यो उद्योगले मलाई केवल ढुवानी प्रणाली मात्र होइन, विश्वव्यापी व्यापारको समग्र संरचना, कार्यप्रणाली र रणनीतिहरूबारे पनि विस्तृत ज्ञान दियो। यो क्षेत्र वास्तवमै गतिशील छ, जहाँ व्यापारी, उत्पादक, खरिदकर्ता र विक्रेताहरूबीच निरन्तर समन्वय भइरहेको हुन्छ। लजिस्टिक्स र सिपिङ प्रक्रियामा संलग्न भएपछि मैले उत्पादकहरूले आफ्नो व्यवसाय कसरी सञ्चालन गर्छन् भन्ने कुरा नजिकबाट बुझ्न थालेँ। विशेष गरी, भारतबाट अन्य देशहरूमा सामान कसरी निर्यात गरिन्छ, कागजी प्रक्रिया कसरी पूरा गरिन्छ र अन्तर्राष्ट्रिय बजारमा सामान कसरी पुर्‍याइन्छ भन्ने विषयहरूमा स्पष्ट भएँ। यसका साथै, विदेशका क्रेताहरूको काम गर्ने तरिका पनि जान्ने मौका पाएँ। यो अनुभवले मेरो व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा सोच्ने दृष्टिकोणसमेत विकास गरायो।

मास्क लजिस्टिक तथा कोटाल म्यानेजमेन्ट सर्भिसेज स्थापना गर्दा भिजन के थियो?

मास्क लजिस्टिक (सन् २०१०) व्यवसायिक उद्देश्यले स्थापना गरिएको हो। मास्कले कुनै पनि आयातकर्ता र निर्यातकर्ताबीच इन्टरनेशल लजिस्टिकको सम्पूर्ण काम गर्छ निर्यातकर्तालाइ आफ्ना सामान सुरक्षित रूपमा क्रेतासम्म पुरयाउन आवश्यक यी सेवाहरू सडक, रेल र समुद्री मार्ग मार्फत प्रदान गर्छौ ।

कोटाल म्यानेजमेन्ट(२०१३) मैले केवल व्यवसायिक नाफाका लागि होइन, सामाजिक उत्तरदायित्व सहित सुरु गरेको हुँ । विशेषगरी, सिपिङ र लजिस्टिक्स क्षेत्रमा प्रवेश गर्न चाहने उद्यमीहरूलाई आवश्यक पर्ने सम्पूर्ण समाधान दिनकालागि स्थापना गरिएको हो। यो क्षेत्रमा आउन चाहनेहरूलाई म तीनवटा मुख्य मन्त्र दिन्छु, कम्पनी कसरी स्थापना गर्ने, कसरी सञ्चालन गर्ने, र कसरी बिस्तार गर्ने? मैले सेवा दिए वापत केवल न्यूनतम शुल्क मात्र लिने गरेको छु।

आज मेरो नेटवर्कमा प्यान इण्डिया लगायत करिब छ सय भन्दा बढी क्लाइन्टहरू छन्। सुरुमा ती कम्पनीहरूको कारोबार करिब एक करोड रुपैयाँ हाराहारीमा थियो, तर अहिले त्यो बढेर एक हजार करोड भन्दा माथि पुगेको छ। पुणेको एक कम्पनीलाइ चीनको अलिबाबा कम्पनीले लगानी गरेको छ। अर्को कम्पनी अमेजनसँग प्रतिस्पर्धा गरिरहेको छ। अर्को कम्पनीले अहिले आइपीओ ल्याउन लागेको छ । साना उद्यमीदेखि बहुराष्ट्रिय कम्पनीसम्मलाई सेवा दिइरहेको छु।

दुबई र अमेरिकामा विस्तारित हुनुको कारण?

क्लाइन्टहरूले दिएको सुझावका आधारमानै मैले आफ्नो व्यवसाय विस्तार गरेको हुँ। मैले अन्तर्राष्ट्रिय कानुनको पनि राम्रोसँग अध्ययन गरेको छु। पछिल्लो दुई दशकमा भारतका नागरिकहरूले उल्लेखनीय प्रगति हासिल गरेका छन्। यहाँका उद्योगी-व्यवसायीहरूले विदेशमा लगानी बढाइरहेका छन्। उनीहरूकै सुझावमा मैले विदेशमा पनि आफ्ना सेवाहरू विस्तार गरेको हुँ। अमेरिकामा इस्ट र वेस्ट कोस्ट दुवैमा गरेर मैले ५० कम्पनीको व्यवस्थापन परामर्श दिइरहेको छु।

दुई सय रूपैयाँको कमाइबाट आयआर्जन सुरु गर्नुभएको थियो, आज तपाईको नेटवर्थ?

मेरो नेटवर्थ अहिले सय करोड पुगेको छ। दुई कम्पनीको वार्षिक कारोबार करीब २० करोड रुपैयाँ हाराहारीमा रहेको छ। व्यापारमा मुनाफा तुलनात्मकरूपमा बढी हुन्छ भने सेवा उद्योगमा नाफा सीमित हुन्छ। आजको विश्व अर्थतन्त्र भूराजनीतिक तनाव, प्रतिस्पर्धा र अनिश्चितताले प्रभावित छ। ढुवानी, भन्सार दर, कर तथा अन्य शुल्कहरू समय-समयमा परिवर्तन भइरहन्छन्। तर हामीले क्लाइन्टसँग गरेको संझौता अनुसार तय गरिएको दरमै सेवा दिनुपर्ने बाध्यता हुन्छ। यसले व्यवसाय सञ्चालनमा थप चुनौती ल्याएको छ। लागत बढ्ने तर मूल्य बढाउन नसक्ने, प्रतिस्पर्धामा टिकिरहनुपर्ने दबाब र अनिश्चित नीतिगत वातावरणसँग जुध्नुपर्ने अवस्था छ।

प्रति घण्टाको चार्ज गर्नुहुन्छ रे?

यदि क्लाइन्ट अफिसमै आएर परामर्श लिन्छन् भने म प्रति घण्टा २० हजार रूपैयाँ शुल्क लिन्छु। यदि मलाई बाहिर बोलाइन्छ भने २५ हजार प्रतिघण्टा र त्यसबाहेकका सम्बन्धित सम्पूर्ण खर्च क्लाइन्टले वहन गर्नुपर्छ। म सामाजिक उत्तरदायित्व र व्यवसायिक स्थायित्वबीच सन्तुलन मिलाएर काम गरिरहेको छु।

नेपालतर्फ आकर्षणको कारण?

मैले भारतमा रहेर आफ्नो क्षेत्रमा योगदान दिँदै आएको छु। अब म नेपालका युवाहरूलाई पनि आफूले हासिल गरेको ज्ञान र अनुभव बाँड्न चाहन्छु। सिपिङ, लजिस्टिक्स, सप्लाई चेन म्यानेजमेन्टजस्ता क्षेत्रमा तालिम दिएर नेपाली युवाहरूलाई लजिस्टिक्स उद्योगमा आफ्नो करियर बनाउन सक्ने बनाउन चाहन्छु। प्रशिक्षण केन्द्र स्थापना गर्न इच्छुक छु। हाल म मुम्बईका विभिन्न विश्वविद्यालयहरूमा गेस्ट लेक्चररको रूपमा आबद्ध छु। यदि नेपालका कुनै संस्था वा संस्थानले चाहना देखाए भने म आफ्नो अनुभव र ज्ञान निःसंकोच रूपमा साझा गर्न तयार छु।

नेपाल भूपरिवेष्ठित मुलुक हो, अनि लजिस्टिकको क्षेत्रमा सम्भावना छ पनि भन्नुहुन्छ?

नेपालमा अथाह सम्भावना छ। समुद्री बन्दरगाह नभए पनि नेपालमा सुख्खा बन्दरगाह छ। सप्लाई चेन व्यवस्थापन मार्फत यहाँ हजारौं रोजगारी सिर्जना गर्न सकिन्छ। यदि नीति सुधार गरियो भने कम्तीमा १० हजार युवाले रोजगारी पाउन सक्छन्। भारतमा सिपिङ र अनलाइन सफ्टवेयरसम्बन्धी कामहरू व्यापक रूपमा भइरहेको छ। मग्स, सीएमए सीजीएम ग्रुप, मेडिटेरेनियन सिपिंग कम्पनी, हेपेग-ल्याइेड जस्ता विश्वका चार शीर्ष सिपिङ कम्पनीहरूको करिब ९० प्रतिशत ब्याक अफिस सञ्चालन मुम्बईबाट भइरहेको छ।

यस्ता अवसरहरूबाट नेपाली युवाहरूले पनि लाभ लिन सक्छन्। आईटी क्षेत्रमा नेपाली युवाहरू सक्षम छन्। उनीहरूलाई आवश्यक तालिम दिइयो भने ब्याक-अफिस लजिस्टिक्स काम उनीहरूले सजिलै गर्न सक्छन्। सप्लाई चेन व्यवस्थापन केवल भौतिक काम मात्र होइन यसमा कागजी प्रक्रिया, आईटी सम्बन्धी कामहरूको पनि ठूलो हिस्सा हुन्छ। बुकिङ अर्डरदेखि मेनिफेस्ट फाइलिङ, ओभरसिज नेटवर्किङसम्मका विविध कार्यहरू यस क्षेत्र अन्तर्गत पर्दछन्।

भारतमा नेपालीहरूको व्यावसायिक संस्था (एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिज) सँग पनि जोडिनु भएको छ, सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ नि?

एभरेष्ट चेम्बरको मुम्बई शाखामा म उपाध्यक्षको रूपमा आबद्ध छु। यो संस्थाको माध्यमबाट नेपाली लगानीकर्ताहरूलाई जागरुक गराउन पहल गर्छु। अर्को कुरा मलाई पढ्न निकै मन पर्छ। विशेष गरी रतन टाटाको एक पुस्तकले मेरो सोचमा ठूलो प्रभाव पारेको छ। उहाँको विचारअनुसार ५० वर्षसम्म हामीले जीवनका धेरै उपलब्धि हासिल गरिसकेका हुन्छौँ। र, त्यो यात्रामा समाजको पनि ठूलो योगदान हुन्छ। त्यसैले त्यसपछि हाम्रो कर्तव्य हुन्छ, समाजलाई केही फर्काउने।

म पनि यही सोचमा विश्वास गर्छु, अब समाजका लागि पनि केही गर्नुपर्छ भन्ने मान्यताअनुसार आफ्नै समुदायबाट सुरु गर्नुपर्छ भन्ने मेरो विश्वास हो। मेरो लागि ‘समाज’ भनेको नेपाली समाज हो। मुम्बईमा रहेका विभिन्न नेपाली संघसंस्थामार्फत् म निरन्तर सहयोग गर्दै आएको छु र भविष्यमा पनि यसलाई अझ बिस्तार गर्ने योजना छ।

नेपाल-भारत व्यापार सम्बन्धलाई कसरी हेर्नुहुन्छ?

यो ‘विन-विन’ अवस्था हो। दुवै देशका लागि अवसर बराबर छ। तर अवसर र लाभका लागि राजनीतिक तहमा स्पष्टता र सम्झौता सुधार आवश्यक देख्छु। नेपालसँग प्राकृतिक स्रोतहरू छन्, त्यसलाई सहीरूपमा उपयोग गर्न सके ठूलो आर्थिक फाइदा लिन सकिन्छ। करिब ७० लाख नेपालीहरू भारतमा बसोबास गरिरहेका छन्। यदि गहिरो अध्ययन गर्ने हो भने भारतमै मात्र पनि एक लाखभन्दा बढी नेपालीहरू उद्यमीको रूपमा स्थापित भइरहेका छन्। नेपाल सरकारले उपयुक्त वातावरण सिर्जना गरी आह्वान गरेमा ती नेपालीहरू नेपालमै लगानी गर्न अवश्य पनि आकर्षित हुन सक्छन्। मेरो एउटा मुख्य उद्देश्य भनेको नेपाली उद्यमीहरूलाई सचेत गराई उनीहरूलाई नेपालभित्र लगानी गर्न प्रोत्साहित गर्नु पनि हो।

नेपाली उद्योगीहरूका लागि अन्तर्राष्ट्रिय बजार प्रवेश अझै सहज छैन। विविध प्राविधिक र प्रशासनिक अवरोधहरू अझै पनि तगारो बनिरहेका छन् नि?

यसलाई सहज बनाउन सीमा क्षेत्रमा रहेका प्राविधिक तथा प्रशासनिक समस्याहरू समाधान गर्न आवश्यक छ। दुवै देशका विज्ञहरूबीच समन्वय गरेर अन्तर्राष्ट्रिय सीमा कानुन र जटिल प्रक्रियाहरूलाई सरलीकरण गर्न पहल गर्नुपर्छ। विकसित मुलुकहरूमा अधिकांश व्यापारिक प्रक्रिया ‘पेपरलेस’ भइसकेका छन्। आजको युग प्रविधिको युग हो। नेपालमा पनि युवा नेतृत्वको सरकार छ, जहाँ आईटीमा दक्ष र शिक्षित युवाहरूको उपस्थिति बलियो छ। आधुनिक प्रणाली, डिजिटाइजेसन र मोर्डनाइजेसनलाई तीव्र रूपमा अगाडि बढाउनु अहिलेको आवश्यकता हो। युवा नेतृत्वको सरकारबाट त यत्तिको परिवर्तन अपेक्षित छ।

सफलताको मूल मन्त्र?

ऊर्जा सही दिशामा लगाउने र लक्ष्यप्रति निरन्तर केन्द्रित रहने। सफलता आफैँले तपाईंको कदम चुम्नेछ।

अन्त्यमा, भविष्यको लक्ष्य र दृष्टिकोण?

मैले जीवनमा अपेक्षा गरेभन्दा बढी प्राप्त गरेको छु र धेरै अवसर तथा उपलब्धिहरू हासिल गरेको छु। अब म सामाजिक क्षेत्रमा योगदान गर्ने इच्छा राख्छु। त्यसै क्रममा, एक उद्यमी तथा अनुभवी व्यवसायीको रूपमा नेपालका युवाहरूलाई योगदान गर्न चाहन्छु। नेपाललाई स्विट्जरल्यान्ड वा सिंगापुरजस्तै विकसित देश बनाउन सकिन्छ भन्ने विश्वास छ। आफ्नो जीवनकालमै एक समृद्ध र विकसित नेपाल देख्ने मेरो उत्कट चाहना छ।

प्रकाशित: ९ वैशाख २०८३ २१:३३ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast