विराट गोल्डकपको उपाधि झापा ११ लाई

हिमाल प्रेस ७ वैशाख २०८३ ८:५४ | Monday, April 20, 2026
2
SHARE
विराट गोल्डकपको उपाधि झापा ११ लाई

काठमाडौँ- झापा ११ फुटबल क्लबले ३८औं संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाले यसअघि २०७१ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो ।

उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझायो । झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे। सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए ।

प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ८१औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल गर्दै टोलीको जित निश्चित गरे । खेलको इन्जुरी समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर बनाएका थिए । फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए ।

सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पाए । विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा बातवरण मन्त्री भिम पराजलुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए ।

चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित ८ टिमको सहभागिता थियो ।

प्रकाशित: ७ वैशाख २०८३ ८:५४ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast