हर्कसँग हातेमालो गर्न लागेका हुन् सुदन किराती ?

किरण पौडेल २१ चैत २०८२ २१:३० | Saturday, April 4, 2026
34
SHARES
हर्कसँग हातेमालो गर्न लागेका हुन् सुदन किराती ?

काठमाडौँ- प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किरातीले राजीनामा दिएसँगै अब उनको पदचापबारे चासो चाखिएको छ। निर्वाचनलगत्तै अध्यक्ष मण्डलका सदस्यबाट राजीनामा दिए पनि हालसम्म उनको राजीनामा स्वीकृत भएको छैन। उनी निकट स्रोतका अनुसार निर्वाचनलगत्तै राजीनामा दिए पनि स्वीकृत नभएपछि पुनः निवदेन दिएका छन्।

‘पहिलै नैतिकताका लागि भनेर राजीनामा दिनुभएको हो। तर स्वीकृत नहुँदा पुनः पत्र बुझाउनुभएको हो,’ उनी निकट स्रोतले बतायो। उनले चुनावमा पार्टी पराजय भएको भन्दै राजीनामा दिएका हुन्। ‘उहाँले पदबाट मात्र राजीनामा दिनुभएको हो, पार्टीबाट होइन,’ ती नेताले बताए। तर उनी अब लामो प्रलोपामा रहने छैनन्। किनकि, पार्टीको हार र अनिश्चित भविष्यका कारण सँगै जान नसकिएको निष्कर्ष किरातीको छ।

प्रलोपाको बहुपदीय जिम्मेवारी, निर्वाचनताकाका अल्मलिएको चुनावी नीतिका कारण किराती बहिर्गमनमा पुगेका हुन्। ‘यो पार्टीले कतिपय ठाउँमा एमाले–कांग्रेस, कतै अन्यलाई समर्थन गर्‍यो। यो सामूहिक निर्णयबाट थिएन,’ ती नेता भन्छन्, ‘नेतानेताको आफुन्जे पनले यो काम भयो।’ सुदन आफैँ पनि चुनाव लडेनन्। भोजपुरबाट यसअघि सांसद बनेका उनले त्यहाँ हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई समर्थन जनाए। ‘हामीलाई सुदनजीले जहाँजहाँ समर्थन गर्नुभयो, त्यहाँत्यहाँ हाम्रो जित भयो,’ चुनावपछि श्रम संस्कृति पार्टी नेता ध्रुव राईले बताएका थिए।

पूर्वमा हर्कसँगै अघि बढ्न सुझाव

उनी निकट नेताहरूले ‘पछिल्लो राजनीतिक परिस्थितिपछि विभिन्न शक्तिसँग छलफल भइरहेको’ बताएका छन्। ‘गत निर्वाचनमा सुनसरी १ र भोजपुर, खोटाङमा औपचारिक समर्थन श्रम संस्कृतिलाई गरेका कारण श्रम संस्कृतिसहितका शक्तिहरूँंग ध्रुवीकरण हुने सम्भावना अलि बलियो भन्ने चर्चा स्वाभाविक हो’ उनी निकट एक नेताले भने।

अर्को कुरा, श्रम संस्कृतिले पनि प्रत्यक्षतिर यिनै तीन ठाउँमा मात्र चुनाव जित्यो। त्यसकारण पनि सुदनले जस लिन पाए। अहिले नेतामात्र नभई अन्य सुभेच्छुकले पनि सुदनलाई हर्कसँगै अघि बढ्न अनुरोध गरिरहेका छन्। उनीहरूले पूर्वको पहिचानको राजनीतिलाई एकताबद्ध गर्न पनि हर्कसहित अन्य पहिचानवादी नेताहरू एक ठाउँमा आउनुपर्ने बताएका छन्। सुदन निकट स्रोत भने यसबारे औपचारिकरूपमा खुलेको छैन। ‘माटो (श्रम संस्कृति) नै अलि बढी निकट छ। तर त्यहाँ कसरी रहन सकिन्छ भन्ने हो,’ किराती निकट एक नेता भन्छन्।

श्रम संस्कृति हर्कको एकमना पार्टी बनेको छ। हर्कले दिएको निर्देशन नै नियम छ भने पार्टीको सिद्धान्त नै ‘हर्कवाद’ छ। यसकारण पनि हर्कसँगै अघि बढ्न सकस हुने सुदन निकट स्रोतको बुझाइ छ। ‘हर्क साम्पाङ नटेर्ने स्वाभावका छन्। यसले पनि लामो समय सँगै रहन सकिन्न कि भन्ने लागेको छ,’ ती नेता भन्छन्।

मुख्यमन्त्री बन्ने बाटोमा लागेका हुन् सुदन?

सुदनले यसअघि श्रम संस्कृतिलाई ‘निशर्त’ सहयोग गरेको बताएका थिए। ‘एउटै व्यक्ति कतिपय चुनाव लड्ने भनेर मैले छाडेको हुँ,’ उनले भोजपुरबाटै तीनपटक चुनाव जिते। उनले ०६४ मा एमालेका नेता शेरधन राईलाई जिते तत्कालीन भोजपुर २ बाट संसद् छिरे। ०७० मा शेरधनले बाजी मार्दा सुदनले हारे।

०७४ मा शेरधन प्रदेशसभातिर लड्दा सुनले प्रतिनिधिसभामा मौका पाए। वाम गठबन्धन (एमाले–माओवादी) रहेको बेला शेरधनकै समर्थनमा सुदनले त्यसबेला चुनाव जिते। ०७९ मा फेरि शेरधनलाई नै हराएर तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट सुदनले चुनाव जिते।

अहिले सुदन चुनाव नै लडेनन्। चुनावअघि मात्रै तत्कालीन नेकपा माओवादी केन्द्रसहितका वाम दल एक हुँदा सुदनले प्रलोपा बनाए। तर अब उनी त्यसबाट बाहिरिने तयारीमा छन्। अब श्रम संस्कृतिमै भित्रिएर प्रदेशतर्फ चुनाव लड्ने कि भन्नेमा पनि छलफल चलिरहेको उनी निकट नेताहरूले बताएका छन्। ‘दाइ अब कता प्रवेश गर्ने भन्ने अन्योल नै छ,’ उनी निकट एक नेता भन्छन्,‘तर अब प्रदेशतिर अघि बढ्नुपर्छ कि भन्ने पनि छ।’

अहिले उनले प्रदेशसभामा चुनाव लडेर मुख्यमन्त्रीको बन्ने तयारीमा लागेको उनी निकट नेताहरू बताउँछन्। ‘हामीले माटोलाई गुन लगायौँ, अब माटोले गुन लगाउनुपर्छ भन्ने लाग्छ,’ ती नेता बताउँछन्। यता श्रम संस्कृति पार्टीले भने आफूहरू सुदन आए स्वागत गर्न तयार रहेको बताउँछ। ‘हामी त उहाँ मात्र होइन, जो कोहीलाई पनि स्वागत गर्न तयार छौँ,’ श्रम संस्कृतिका प्रवक्ता सत्य घले गुरुङ भन्छन्।

प्रकाशित: २१ चैत २०८२ २१:३० | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast