काठमाडौँ- एशिया प्रशान्त क्षेत्रका विभिन्न क्षेत्रगत विश्व युनियन महासंघहरूले नेपालमा ट्रेड युनियन अधिकारमाथि सम्भावित प्रतिबन्ध लगाउने सरकारी तयारीप्रति गम्भीर आपत्ति जनाउँदै संयुक्त वक्तव्य जारी गरेका छन्।
श्रमिकहरूको प्रतिनिधित्व गर्ने यी अन्तर्राष्ट्रिय संघहरूले नेपाल सरकारलाई यस्तो प्रस्ताव सर्त फिर्ता लिन आह्वान गरेका छन्।
विज्ञप्तिमा भनिएको छ,‘ट्रेड युनियन अधिकारमा हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानून र नेपालको संविधान दुवैको उल्लंघन हो।’
विज्ञप्ति अनुसार नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन को महासन्धि नं. ९८ अनुमोदन गरिसकेको छ, जसले श्रमिकलाई स्वतन्त्र रूपमा संगठन गठन गर्ने र सामूहिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गर्छ। युनियनहरूले चेतावनी दिँदै भनेका छन्,‘प्रस्तावित प्रतिबन्ध यी दायित्वहरूको स्पष्ट र प्रत्यक्ष उल्लंघन हो।’
त्यस्तै, नेपालको नेपालको संविधान २०१५ ले समेत धारा ३४ र ३५ मार्फत ट्रेड युनियन गठन र सहभागिताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ,‘ट्रेड युनियनमाथि कुनै पनि प्रतिबन्ध संवैधानिक रूपमा गैरकानूनी हुनेछ।’
युनियनहरूले श्रमिक अधिकारलाई लोकतन्त्रको आधारस्तम्भको रूपमा व्याख्या गर्दै ट्रेड युनियनहरू राज्यका विरोधी होइनन् तिनीहरू लोकतान्त्रिक शासनका अपरिहार्य अंग भएको बताएका छन्।
यदि प्रस्ताव अगाडि बढे नेपालले अन्तर्राष्ट्रिय स्तरमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइएको छ।
युनियनहरूले नेपाल सरकारलाई संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धता पालन गर्न, ट्रेड युनियनहरूसँग वास्तविक संवाद गर्न तथा श्रमसम्बन्धी कुनै पनि सुधार अघि बढाउँदा सहकार्य गर्न आग्रह गरेका छन्।




