तस्बिर : एएफपी
लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप हुँदा पाँच सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।
प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’ को समर्थनमा ट्राफलगर स्क्वायरमा शनिबार आयोजित सिट–इन प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गिरफ्तारी अभियान चलाएको हो।
मेट्रोपोलिटन प्रहरीले दिएको जानकारी अनुसार मध्यरातसम्म १८ देखि ८७ वर्ष उमेर समूहका कुल ५२३ जनालाई नियन्त्रणमा लिइएको छ।
प्रदर्शनकारीहरू उक्त प्रतिबन्धित समूहको समर्थनमा प्लेकार्ड बोकेर भेला भएका थिए। प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिँदा अन्य सहभागीहरूले जयजयकार र ताली बजाएर समर्थन जनाएका थिए।
‘प्यालेस्टाइन एक्सन’ लाई गत जुलाईमा आतंकवादी संगठनको सूचीमा राखिएको थियो। लन्डनको उच्च अदालतले फेब्रुअरीमा उक्त प्रतिबन्धमाथि प्रश्न उठाउँदै यसले अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गरेको ठहर गरेको थियो।
सरकारलाई त्यस निर्णयविरुद्ध अपिल गर्ने अनुमति दिइएको छ।




