‘चिकित्सक राम्रो नभएको, डायलासिस सेवा दर्ता नगरी दिएको’ गुनासो सुल्झ्याउन चितवनका अस्पताललाई निर्देशन

हिमाल प्रेस १४ वैशाख २०८३ ९:२९ | Monday, April 27, 2026
16
SHARES
‘चिकित्सक राम्रो नभएको, डायलासिस सेवा दर्ता नगरी दिएको’ गुनासो सुल्झ्याउन चितवनका अस्पताललाई निर्देशन

चितवन- जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकसँगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिएका छन्। स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई चिकित्सकहरुले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उनले निर्देशन दिए । चिकित्सकको व्यवहार राम्रो नभएको, डायलासिस लगायतका सेवा दर्ता नगरी दिएको, एम्बुलेन्सहरुले बिरामी ल्याएबापत कमिसन दिने गरेको, अस्पतालजन्य फोहोर व्यवस्थित नगरिएको उनको भनाइ थियो ।

उनले भने, ‘बिरामीको मृत्यु हुँदा आँसु झार्नु भनेको होइन, तर चिकित्सक संवेदनशील हुनै पर्छ ।’ अस्पतालहरुले बीमा र नगदका बिरामीलाई फरक व्यवहार गरेको, अनावश्यक परीक्षणहरु गर्ने गरेको, विपन्नको उपचार प्रबन्ध राम्रो नभएको, ज्येष्ठ नागरिकले छुट नपाएको उनले बताए । कर्मचारीले तोके अनुसारको सुविधा नपाएको, सरकारी अस्पतालको टोकन प्रणाली राम्रो नभएको, बहिरङ्ग सेवामा जनशक्तिको व्यवस्थापन राम्रो नभएको, आन्तरिक र बाह्य ‘रिफरल’को राम्रो व्यवस्थापन भएको उनले बताए ।

अस्पतालहरुको सेवाको गुणस्तर राम्रो नभएको भन्दै उनले भने, “गुणस्तरका व्यवहार र शैली परिवर्तन गर्नुपर्छ ।” जिल्ला प्रशासन कार्यालय चितवन र जनस्वास्थ्य कार्यालयले यहाँ आयोजना गरेको ‘जिल्लामा नागरिक स्वास्थ्य सेवा विषयक परामर्श’ उनले अस्पतालका व्यवस्थापक र सञ्चालकहरुको कुरा सुनेपछि निर्देशन दिएका हुन् ।

कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालका समस्याहरु, कमजोरीहरु र अब सुधार्नुपर्ने विषयमा प्रस्तुति दिए । पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवामा व्यापक सुधार गरिएको भन्दै उनले विगतमा बिरामीले चिकित्सक खोज्नुपर्ने अवस्था रहेकामा अहिले चिकित्सकले अस्पतालमा बिरामी खोज्ने गरेको बताए ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा धेरै सुधार भएको भन्दै तथ्याङ्कले त्यो कुरा पुष्टि गर्ने बताए । उनले अझै धेरै सुधार गर्नुपर्ने भन्दै सरकारले दिनुपर्ने विपन्न र बीमाको भुक्तानी समयमा दिएमा अस्पताल सुधार गर्न सहज हुने बताए । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले ऐनका बारेमा जानकारी गराउँदै तत्अनुसार काम हुन नसकेको बताए ।

निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीले निजी क्षेत्रले स्वास्थ्यमा ठूलो लगानी गरेको भए पनि राज्यका तर्फबाट सम्बोधन गर्नुपर्नेमा ध्यान नदिइएको बताए ।

कार्यक्रममा निजी अस्पताल र क्लिनिकहरुका सञ्चालकहरुले आफ्ना गुनासाहरु राखेका थिए । यस्तै यातायात व्यवसायीहरुले स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित: १४ वैशाख २०८३ ९:२९ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast