काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभा बैठकमा व्यक्त गरेका धारणाप्रति आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता बादलले राखेको धारणाप्रति पौडेलले आपत्ति जनाएका हुन्।
उनले संसद बैठकमा एमालेको दल नेताको हैसियतले बादलले व्यक्त गरेको विचार पार्टीका स्थापित नीति र मान्यताविपरित रहेको बताएका छन्।

‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा.रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छ,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले यो विषयमा सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने उल्लेख गरेका छन्।
पौडेलले भनेका छन्, ‘यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।’
के भनेका थिए बादलले?
प्रतिनिधिसभा बैठकमा बोल्दै संसदीय दलका नेता बादलले भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा भएको रंगक्रान्ति सफल भएको टिप्पणी गरेका थिए। उनले निर्वाचनको परिणाममा विभिन्न पात्रको भूमिकाको संलग्नताको आरोपसमेत लगाए।
संसदीय दलका नेता बादलले जादूमय विजयका निर्णायक भूमिकामा नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबारा फाउन्डेसन रहेको बताएका थिए। उनले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाएको समेत उल्लेख गरे।
बादलले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका थिए।




