पोखरा- पोखराको सभागृहचोकमा एक महिलाको हत्या भएको छ। बुधबार साँझ ७ बजेर ८ मिनेटमा भएको सो घटनामा एक युवकले टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।
पोखरा–८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने गल्लीको दायाँतर्फ सडकपेटीमा उभिरहेकी ती महिलामाथि हतियार प्रहार गरेर युवक मोटरसाइकल/स्कुटर चढेर भागेको बताइएको छ।
हत्या हुनेमा पोखरा-५, मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल केसी भन्ने खुलेको छ। एक प्रत्यक्षदर्शीले भने, ‘ती महिला उभिरहेको बखत पछाडिबाट एक्कासि हानेर भागेको देखेँ। प्रहारबाट उनी चिच्चाउँदै ढलिन्। हान्ने युवक मोटरसाइकल हो कि स्कुटर ठम्याउन सकिनँ, चढेर तलतिर (शिवालयचोकतर्फ) भाग्यो।’
प्रहरीले अहिले घेराबन्दी गरी घटनास्थल मुचुल्का विवरण संकलन गरिरहेको छ। शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले घटनामा हत्याकाण्डमा संलग्नको खोजी भइरहेको बताए।
घटनास्थलमा अहिले ठूलो संख्यामा मानिसहरुको भिडभाड छ। पर्यटकीय राजधानी पोखराको मुख्य बजार क्षेत्रमै भएको हत्याकाण्डका घटनाले सर्वसाधारण त्रसित बनेका छन् ।




