के भन्छन् चुनाव जितेका हारेका नेताहरू?

हिमाल प्रेस २३ फागुन २०८२ १६:०० | Saturday, March 7, 2026
14
SHARES
के भन्छन् चुनाव जितेका हारेका नेताहरू?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी रहँदा विजयी र पराजित दुवै पक्षका नेताहरूले विभिन्न प्रतिक्रिया दिएका छन्। विजयी उम्मेदवारहरूले जनताको विश्वासलाई काममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने पराजित उम्मेदवारहरूले लोकतान्त्रिक संस्कारअनुसार परिणाम स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई दिएका छन्।

चितवन-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले अब बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन्। निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले चुनावअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिसकेकाले अब उनकै नेतृत्वमा सरकार बन्ने बताइन्।

गौतमले नेपाली जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिएको भन्दै त्यसलाई परिणाममुखी काममार्फत पूरा गर्ने प्रतिबद्धता जनाइन्। उनले ५९ हजार २७७ मत ल्याएर विजयी भएकी हुन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन्।

काठमाडौँ-७ बाट निर्वाचित रास्वपाका गणेश पराजुलीले आफ्नो पार्टीका लागि संविधान संशोधनभन्दा सुशासन महत्त्वपूर्ण भएको बताएका छन्। उनले संविधान संशोधन जटिल विषय भएकाले त्यसका लागि व्यापक सहमति आवश्यक पर्ने उल्लेख गर्दै अहिलेको प्राथमिकता सुशासन स्थापना गर्नु रहेको बताए।

पराजुलीले रास्वपाले प्रदेश संरचना खारेज गर्ने नभई त्यसको स्वरूप सुधार गर्नुपर्ने पक्षमा रहेको पनि स्पष्ट पारे। उनी काठमाडौँ-७ बाट २७ हजार ८०५ मतसहित निर्वाचित भएका हुन्।

यसैबीच मोरङ-६ बाट पराजित भएका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विजयी रास्वपाकी उम्मेदवार रुविना आचार्यलाई बधाई दिएका छन्। उनले लोकतान्त्रिक निर्वाचन जय-पराजयभन्दामाथि संस्कार र संस्कृति विकास गर्ने पद्धति भएको उल्लेख गर्दै निर्वाचन परिणामलाई सम्मान गरेको बताएका छन्।

कोइरालाले लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै सक्षम युवा संसदमा पुगेको देख्दा खुसी लागेको पनि बताएका छन्। साथै उनले मोरङ-६ का मतदाताप्रति आभार व्यक्त गर्दै क्षेत्रसँगको आफ्नो सम्बन्ध निरन्तर रहने बताएका छन्।

रूपन्देही-२ मा पराजित भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरेका छन्। उनले विजयी रास्वपाका उम्मेदवार सुलभ खरेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

पौडेलले लोकतन्त्रको सुन्दरता जनताको अभिमतमा रहेको भन्दै आफू पदमा रहे वा नरहे पनि रूपन्देहीको विकासका लागि निरन्तर लागिरहने बताएका छन्। उनले चुनावी अभियानमा सहयोग गर्ने नेताकार्यकर्ता तथा मतदाताप्रति आभार पनि व्यक्त गरेका छन्।

त्यस्तै दाङ-२ बाट पराजित भएका एमाले महासचिव शंकर पोखरेलले पनि निर्वाचन परिणाम स्वीकार गर्दै जनताले परिवर्तनको आशासहित नयाँ शक्तिलाई मत दिएको बताएका छन्। उनले विजयी रास्वपाका उम्मेदवार विपिन आचार्यलाई बधाई दिँदै लोकतान्त्रिक प्रक्रियामा हार-जित स्वाभाविक हुने बताएका छन्।

चितवन-३ मा पराजित भएकी नेकपाकी उम्मेदवार रेनु दाहालले भने आफूले काममार्फत जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भरतपुर महानगरको मेयरका रूपमा ९ वर्ष विकास र सुशासनका लागि काम गरेको उल्लेख गरिन्।

दाहालले विजयी सोविता गौतमलाई बधाई दिँदै रास्वपाले देशभर प्राप्त गरेको मतलाई ‘सुनामीको लहड’ को संज्ञा दिएकी छन्। साथै आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै उनीहरूप्रति सधैं ऋणी रहने बताएकी छन्।

मतपरिणाम सार्वजनिक हुने क्रम अझै जारी रहेकाले अन्य नेताहरूको प्रतिक्रिया पनि आउने क्रम जारी रहेको छ।

प्रकाशित: २३ फागुन २०८२ १६:०० | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast