सुर्खेत- सुर्खेतमा पनि भयरहित, निर्वाध र शान्तिपूर्णरूपमा मतदान सकिएको छ। सुर्खेतमा ५४.९७ प्रतिशत अर्थात् १ लाख ३६ हजार ८२६ मत खसेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ।
दुई निर्वाचन क्षेत्रका मतपेटिका आज (बिहीबार) अबेर रातिसम्म गणनास्थलसम्म संकलन गरिने छ। सुर्खेत क्षेत्र नम्बर १ मा ६५ हजार ३ सय ७१ अर्थात ५३.१९ प्रतिशत र क्षेत्र नम्वर २ मा ७१ हजार ४ सय ५५ अर्थात ५५. ९७ प्रतिशत मत खसेको छ।
सुर्खेतमा यस पटकको निर्वाचनमा महिलाको उल्लेख्य उपस्थिति देखिएको छ। सुर्खेतको निर्वाचनमा ५९ हजार १६४ पुरूष छन् भने महिला ७७ हजार ६ सय ६२ मतदाता सहभागी भएका छन। झण्डै महिला पुरूषभन्दा १८ हजार ४९८ ले बढी रहेको छ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मेहेलकुनास्थित सिटी हलमा गरिने छ। क्षेत्र नम्बर २ को मत गणना वीरेन्द्रनगरको सिटी हलमा गणना गरिने मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए। सुर्खेतमा १४२ मतदान स्थल र ३०५ मतदान केन्द्र रहेका छन्। सबै मतपेटिका संकलन गरिसकेपछि मतगणना गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ।





