अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी
काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी देशहरूले स्ट्रेट अफ होर्मुज (सामरिक र व्यापारिक दृष्टिले महत्त्वपूर्ण समुद्री मार्ग) खुला बनाउन सहयोग नगरे उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को भविष्य अत्यन्त खराब हुन सक्ने चेतावनी दिएका छन्। उनले युरोपेली राष्ट्रहरूलाई इरानविरुद्धको आफ्नो युद्ध प्रयासमा सहभागी हुन स्पष्ट सन्देश दिएका हुन्।
अमेरिकी राष्ट्रपतिले आइतबार फाइनान्सियल टाइम्ससँगको अन्तरवार्तामा भने, ‘चीनले यो महत्त्वपूर्ण समुद्री मार्ग खुला बनाउन सहयोग गरेन भने यसै महिनाको अन्त्यमा हुने आफ्नो र सी चिनफिङबीचको शिखर बैठकसमेत स्थगित हुन सक्छ।’
उक्त समुद्रीमार्गबाट फाइदा लिने देशहरूले त्यहाँ कुनै समस्या नहोस् भन्ने सुनिश्चित गर्न सहयोग गर्नु उपयुक्त हुने ट्रम्पको भनाइ छ। उनका अनुसार अमेरिका भन्दा युरोप र चीन खाडी क्षेत्रको तेलमा धेरै निर्भर छन्।
‘कुनै प्रतिक्रिया आएन वा नकारात्मक प्रतिक्रिया आयो भने नाटोको भविष्यका लागि यो निकै खराब हुनेछ’, उनले भने।
ट्रम्पको यो भनाइ चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई विश्वको करिब पाँचौँ भाग तेल आवतजावत हुने यो समुद्री मार्ग खुला गर्न सामूहिक प्रयास गर्न आह्वान गरेको एक दिनपछि आएको हो।
दुई साताअघि अमेरिका र इजरायलले युद्ध सुरु गरेपछि इरानले प्रभावकारी रूपमा उक्त समुद्री मार्ग बन्द गरेको छ। यसबाट विश्व अर्थतन्त्रमा नयाँ तेल मूल्य झट्काको डर बढाएको छ। अमेरिका उक्त मार्ग खोल्ने प्रयासमा सफल हुन सकेको छैन।
अन्तर्राष्ट्रिय तेल मूल्य आइतबार साँझ प्रतिब्यारेल १०६ डलर पुगेको थियो। यो युद्ध सुरु भएयता करिब ४५ प्रतिशतले बढेको हो।
ट्रम्पले भने, ‘हामीले युक्रेनका लागि सहयोग गर्नुपर्ने अनिवार्य थिएन। युक्रेन हामीबाट हजारौँ माइल टाढा छ। तर हामीले मद्दत गर्यौँ। अब उनीहरूले हामीलाई सहयोग गर्छन् कि गर्दैनन्, त्यो हेर्न बाँकी छ।’
आफूलाई कस्तो सहयोग चाहिएको भन्ने प्रश्नमा उनले ‘जे आवश्यक पर्छ त्यही’ चाहिने बताए। उनका अनुसार युरोपसँग अमेरिकाभन्दा धेरै माइन हटाउने जहाज (माइनस्विपर) भएकाले ती पठाउनुपर्ने हुन सक्छ।
ट्रम्पले इरानी तट आसपास समस्या सिर्जना गर्ने तत्त्वहरू निष्क्रिय पार्न पनि सहयोग चाहिएको संकेत दिए। उनले युरोपेली कमान्डो टोली वा अन्य सैन्य सहयोगबाट ड्रोन र समुद्री बारुद प्रयोग गरी समस्या सिर्जना गर्ने समूहलाई नियन्त्रण गर्नुपर्ने बताए।
‘हामी उनीहरूलाई कडा प्रहार गरिरहेका छौँ,’ ट्रम्पले भने, ‘उनीहरूसँग अब समुद्रीमार्गमा सानो समस्या सिर्जना गर्नुबाहेक धेरै विकल्प छैन। तर यसबाट फाइदा लिने देशहरूले पनि यसलाई सुरक्षित राख्न हामीलाई सहयोग गर्नुपर्छ।’
ट्रम्पले यसै महिनाको अन्त्यमा बेइजिङमा हुने शिखर बैठकअघि चीनले पनि समुद्रीमार्ग खुला बनाउन सहयोग गर्ने अपेक्षा गरेको बताए। यो उनको दोस्रो कार्यकालपछि चीनको पहिलो भ्रमण हुनेछ। ‘चीनले पनि सहयोग गर्नुपर्छ, किनभने चीनले आफ्नो ९० प्रतिशत तेल यही जलमार्गबाट प्राप्त गर्छ’, ट्रम्पले भने।
गत अक्टोबरमा दक्षिण कोरियामा भेट हुँदा सी चिनफिङले ट्रम्पलाई चीन भ्रमणको निम्तो दिएका थिए। त्यतिबेला दुवै नेताले अमेरिका-चीन व्यापार र प्रविधि युद्धमा अस्थायी समझदारी गरेका थिए। इरान युद्ध जारी भए पनि चीनले शिखर बैठक सार्ने कुनै संकेत दिएको छैन।





