जेनजी आन्दोलनपछि बनेको सरकारले २१ फागुनमा चुनाव गर्ने मान्डेट पाएको थियो। यसैबीच जनमानसमा विभिन्न जिज्ञासा रह्यो। कोही भन्थे कहाँ चुनाव हुन्छ? सम्भव छैन। कतिपयसँग वादविवाद पनि पर्यो। मैले पनि भन्ने गर्थेँ- अबको परिस्थितिमा चुनावको विकल्प छैन। स्वतन्त्र, धाँधलीरहित तथा शान्तिपूर्ण परिस्थितिमा चुनाव सम्पन्न गरेमा अन्तर्राष्ट्रिय जगत्मा पनि देशको इज्जत बढ्छ। भयो पनि त्यस्तै। म २१ फागुनका दिन मत दिन दिउँसोतिर बालुवाटारस्थित केन्द्रमा गएँ। १०-१२ मिनेटमै सहज ढंगले आफ्नो मत खसाल्न पाएँ। चुनाव सकेपछि भने आकाश धुम्म बादलले भरिएर कति दिन नरमाइलो भएकोमा हाल सूर्य भगवान्को दर्शन पनि पाउन थालेका छौँ।
चुनावमा मतदान। चुनाव सरकारले गराउने, मत आोफ्नो, अनि दानचाहिँ मन परेको विश्वास गरेको पार्टी वा व्यक्तिलाई दिने हो। यसरी मतदान भई चुनाव सम्पन्न हुन्छ। हालसालै देशमा पनि यही भयो। चुनाव तथा मतदानका बारेमा सोच्दा मलाई एउटा कुरा याद आउँछ। धेरै वर्षअगाडि एउटा हिन्दी फिल्म हेरेको थिएँ- अग्निकाल। पूरै चुनाव र मतदानसम्बन्धी राजनीतिक फिल्म। त्यसमा मुख्य गीतको एउटा कर्णप्रिय वाक्य यस्ता थिए- जनता नादान है, वह नहि जानता भोट कि क्या शान है।
हाम्रो देशमा पनि कतिपय वर्षसम्म यस्तै त हाल थियो। चुनाव हुने घुमिफिरी उही पार्टी, उही नेताहरूको सिक्का जम्ने। यिनीहरूको राजनीतिक ‘म्युजिकल चेयर गेम’ले देश तथा जनता आक्रान्त। जनता हेरेको हेरै। तर यसपालि भने वातावरण अर्के भयो। जनताले मतदानबाट नयाँ वातावरण बनाए। जनताले जितेको हो यसपालि।
यस वर्ष २०८२ साल जाँदै गर्दा देशमा एउटा अभूतपूर्व परिस्थिति सिर्जना भयो। चुनावपछि भर्खर तीन वर्षपहिले स्थापना भएको पार्टीले अधिकांश सिट जितेर एउटा आश्चर्यजनक नतिजा सुन्न पाइयो। पुराना तथा धेरै वर्षदेखि देशमा रजगज चलाउँदै आएका पार्टी प्रायः ध्वस्त भए। सर्मनाक हार भयो। यसलाई जनताले मन परिवर्तन गरी नयाँ पार्टीलाई विश्वास गरेको ज्वलन्त उदाहरण हो। जनता पिल्सिएका थिए। घीनलाग्दो राजनीतिक दाउपेचबाट, जहिले पनि उही नेताहरू, भ्रष्टाचारका काण्डैकाण्ड, जति बदमासी गरिए तापनि दोषीलाई कारबाही नहुने आदि।
अब नयाँ पार्टीले सरकार बनाएर देशमा सुशासन, भ्रष्टाचारविरोधी कामकारबाही हुनेछ। साथै विगतका यस्ता कतिपय गनाएका काण्डहरूको पनि छानबिन भई दोषीहरूलाई कानुनको कठघरामा उभ्याइनेछ। देशमा आशाको किरण सञ्चार भएको छ। जनता आशावादी हुन थालेको अनुभव हुन्छ। नयाँ पार्टीमा विषयगत विशेषज्ञहरूले भरिभराउ भन्ने खबरले सबैलाई झन् आशावादी बनाएको छ। भनाइ र गराइ उही भयो भने यो निकै खुसीको कुरा हुनेछ, तर भनाइ र गराइमा भिन्नता आएमा यो एकदम निराशावादी यथार्थ हुनेछ।
नेपाल एक प्राकृतिक सौन्दर्य तथा बहुआयामिक सौम्य शक्तिहरूले भरिपूर्ण देश हो। जनतामा पनि स्वदेश तथा विदेशमा पनि मातृभूमिप्रतिको समर्पण तथा चाहनाको कमी छैन। समयको गतिअनुसार चल्नुपर्ने देश त्यसरी नचल्दा हामी निकै पछि परेको सत्य हो। देशमा जुन रफ्तारमा विकासले गति लिनुपर्ने हो। त्यसो भएन। अब नयाँ वातावरण पैदा भएकाले आशा गर्ने ठाउँ छ। देशले काँचुली फेर्ने समय आएको अनुभव हुन्छ।
हुन त यो लेख तयार पार्दासम्म देशमा अन्तरिम सरकारले नै चलाइराखेको छ। तर अब केही दिनपछि नयाँ सरकारले देशको जिम्मा लिनेछ। अंग्रेजीमा एउटा भनाइ छ- Morning shows the day. यस्तै आभास भइरहेको छ सम्पूर्ण नपालीलाई। नयाँ पार्टी भए तापनि शिक्षाको दृष्टिकोणले उत्तम बुझिएका व्यक्तिहरू आगामी दिनमा मन्त्री पदमा आसिन भई आआप्mनो जिम्मेवारी सम्हाल्ने हुँदा नयाँ वातावरणमा देशको कामकाज अगाडि बढ्ने आशा गरौँ। जनताको पिरमर्का बुझेर सोको निराकरण गर्ने नेता चाहिएको हो। जनताले यही आशाले नयाँ पार्टीलाई यत्रो विश्वास तथा जिम्मेवारी सुम्पेको हो।
विगतमा विभिन्न कारणले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको बदनामी भएको थियो। मूल कारणमध्ये बेथितिका शासन, तहतहमा चरम भ्रष्टाचारका काण्डहरू, दोषीहरूलाई कारबाही नभएको आदि। अब हेर्नु छ, नयाँ आउन सरकारले यी क्यान्सररुपी देशको समस्यालाई कसरी निवारण गर्ला। नेपाली मनमा चरचराइरहेको घाउमा अब सामान्य मलम मात्र लगाएर निको नहुने हो कि! अपरेसन गरी निर्मूल पार्ने हो।
मेरा एक नजिकका आफन्त दक्षिण अमेरिकी देश पेरूको राजधानी लिमामा घुम्न गएका थिए। एउटा ठिक्कको होटलमा रुम बुक गरेको रहेछ। नेपालबाट पेरु त झन्डै १७ हजार पाँच सय किलोमिटरको दूरीमा पर्दछ। त्यो होटलको रिसेप्सनमा एक जना ठिटो मध्यरातसम्म पर्खेर बसेको थियो रे। सामान्य भलाकुसारीपछि निजले ‘ओहो मिस्टर श्रेष्ठ यति टाढाको देशबाट आउनुभयो। हार्दिक स्वागत’ भनेछ। त्यसपछि तपाईँको देशमा धेरै देवीदेवता छन् भनी सुनेको। अनि अर्काे प्रश्नमा तपाईँको देशमा भ्रष्टाचार पनि धेरै छ भन्ने सुनेको, साँचो हो भनेर प्रश्न तेर्स्याएछ। अक्क न बक्क हुने गरी।
अचेल इन्फरमेसन सुपरहाईवेको जमाना। विश्वको कुनै भागमा घटेको घटनाबारेमा तुरुन्तै विश्वभरि फैलिन्छ। जनताले जुनसुकै देशको कुरा पनि तुरुन्तै थाहा पाउँछन्। एउटा प्रमुख अफ्रिकी देशको कुरा गर्नुपर्दा त्यहाँका केही व्यक्तिहरूले बैंकिङ कसुरजन्य कामहरू गरेर बदनाम भएपछि हालको सरकारले त्यो इमेज बदल्न Reimaging गरी आएको छ।
पेरुको अवस्था पनि निरन्तर परिवर्तनीय छ। २९ वर्षअगाडि म टोकियोस्थित हाम्रो दूतावासमा काम गर्थेँ। हाम्रो दूतावास रहेको अपार्टमन्टको अर्काेपट्टि पेरुको दूतावास थियो। त्यहाँ गुसिकेन यिरिगोयन भन्ने व्यक्ति काउन्सिलर पदमा कार्यरत थिए। कुरा गर्यो कि हँसाउने। मैले त्यस्तो हँसाउन सक्ने व्यक्ति अहिलेसम्म भेटेको छैन। एक दिन उनले मलाई भने- ‘हेर मोहन! हाम्रो देशमा चोरले कुुनै सामान चोर्यो भन्ने त्यही सामान दुईवटा चोर्छ। एउटा आफूलाई राख्न, अर्काेचाहिँ प्रहरीलाई दिन।’ खै साँचो हो कि होइन, उनै जानून्। तर पेरुमा पनि त्यति बेला चरम बेथितिको शासन थियो। भ्रष्टाचारले तहल्का मच्चाएको थियो। साइनिङपाथ भन्ने गुरिल्लाहरूले निकै दुःख दिएका थिए। पेरु पनि राजनीतिक तथा आर्थिक समस्याले गाँजिएको देशचाहिँ हो। हालमा पनि ठूलै राजनीतिक समस्या आएको थियो।
कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ भन्ने एउटा चर्चित भनाइ छ। यसको मतलब जतिसुकै निराशाजनक परिस्थितिमा पनि आशाका किरण झुल्किन्छ भन्ने हो। हाम्रो देशको सवालमा पनि यताका समयमा केही सार्थक सौम्य शक्ति विकसित भयो। त्यो भनेको देशले सर्वप्रथम महिला प्रधानमन्त्री पायो। यो कुरा अभूतपूर्व थियो। उहाँको नेतृत्वमा स्वतन्त्र, शान्त तथा धाँधलीरहित वातावरणमा चुनाव सम्पन्न भई परिणाम आइसकेको छ। अब एउटा सशक्त बलियो सरकार बन्नेछ। त्यो सरकारले देशका जल्दाबल्दा समस्या केलाई एकएक गरी सल्टाउनेछ। परिवर्तनकै कुरा गर्ने हो भने देशमा यताका केही वर्षमा महिला राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा राजदूतजस्ता गरिमामय पदहरूमा आसिन भइसकेकाले महिला सशक्तीकरणतर्फ राम्रो प्रगति भएको मान्नुपर्छ।
विभिन्न कारणले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको इज्जतमा क्षय भइराखेकोमा हाल केही कारकतत्त्वहरूले गर्दा नेपालको इज्जतले उचाइ पाएको छ। संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोगमा नेपालका राजदूत तथा स्थायी प्रतिनिधिले प्रसिडेन्ट हुने मौका पाई राम्रो काम गरी आएको छ। साथै संयुक्त राष्ट्रसंघको महासभाले नेपालले प्रस्तुत गरेको ध्भििलभकक सम्बन्धी प्रस्तावलाई सर्वसम्मत रुपमा गत मार्च १२ का दिन पारित गरेको थियो। सो प्रस्ताव कुनै देशका लागि मात्र नभई सम्पूर्ण मानवजातिलाई नै भलो गर्ने अहंभूमिका भएको महत्त्वपूर्ण प्रस्ताव थियो।
अर्काे कुरा, अब आउने सरकारले हाम्रो परराष्ट्र नीतिलाई युक्तिसंगत ढंगले परिचालन गरी आर्थिक कूटनीतिलाई अति प्रभावकारी ढंगमा कार्यान्वयन गर्नु अति आवश्यक छ। हाम्रो भौगोलिक अवस्थाले गर्दा अन्तर्राष्ट्रिय भूराजनीतिमा ग्राह्यता पाउन थालेको अनुभव गरिन्छ। २१ औँ शताब्दीको एक क्वार्टर सकिँदा विश्वमा युद्धको विभीषिकाले मानवजातिलाई त्रस्त बनाएको छ।
राजनीतिक कारणका अगाडि मानवता गौण भएको अनुभव गरिएको छ। सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना हुँदा आउने दिनमा मानवजातिलाई युद्धको विभीषिकावाट बचाउन भनी लेखिए तापनि मानवजातिले यतिको प्रगति गर्दा युद्धप्रतिको मनको उन्माद हटाउन नसकेर यस्तो परिस्थिति उत्पन्न भएका हु्न्। विश्वमा शान्ति तथा स्थायित्व अपरिहार्य छ। यसका लागि सबभन्दा पहिला मानवले आफ्नो मनमा मानवताको अस्तित्व स्वीकार गर्न सक्नुपर्दछ।
अपूर्व भौगोलिक स्थिति, गौरवमय ऐतिहासिक गाथा तथा प्राकृतिक सौन्दर्य तथा उल्लेखनीय सौम्य शक्तिहरूको सम्मिश्रण भएको हाम्रो मातृभूमिलाई सही दिशामा दोहर्याउन सक्ने एक सशक्त दुरदष्टियुक्त नेताको खाँचो छ। हेर्दै जाऊँ समयले नेपालमा पनि एकजना लिक्वान यू जन्माउँछ कि!






