रामेछाप दुर्घटना : थप एक जनाको मृत्यु

हिमाल प्रेस १८ फागुन २०८२ २०:५८ | Monday, March 2, 2026
24
SHARES
रामेछाप दुर्घटना : थप एक जनाको मृत्यु

रामेछाप- रामेछाप नगरपालिका-२, देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। यही फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमै मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक आरपी यादव र साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले जानकारी दिए।

दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये जिल्लाको खाँडादेवी गाँउपालिका–४ का ४७ वर्षीय सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, रामेछाप नगरपालिका–२ का २८ वर्षीया सविना खड्का, मन्थली नगरपालिका–३ का ४७ वर्षीय केदारकुमार रोक्का र सर्लाहीको लालबन्दी नगरपालिका स्थायी ठेगाना भई हाल भीमेश्वर प्रसुन कँडेल माविका शिक्षक कृष्णप्रसाद घिमिरे र ठेगाना नखुलेकी २५ वर्षीया दुर्गा कार्कीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त गाडी देउराली र साँघुटार गरी तीन वटा ‘बुथ’का निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली लिएर गइरहेको थियो। मावि देउरालीको निर्वाचन सामग्री बुझाएर सिरुबारी र हिमगङ्गा मावि साँघुटारमा रहेका दुई वटा मतदान केन्द्रका सामग्री लिएर जाँदै गरेको अवस्थामा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले जानकारी दिए। गाडी सडकबाट करिब २०० मिटरभन्दा तल खसेको थियो। रासस

प्रकाशित: १८ फागुन २०८२ २०:५८ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast