पोखरा- फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ। यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ, जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो। यसको पहिलो शाखा काठमाडौँमा छ, दोस्रो शाखाको शुक्रबार महानायक राजेश हमालले उद्घाटन गरेका हुन्।
हमालले यसको औपचारिक उद्घाटन गर्दै पोखराले अब फरक किसिमको सिनेमाटिक अनुभव पाउने बताए। उद्घाटन पश्चात सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै उनले भने, ‘पोखरा आफैँमा सुन्दर सहर हो, यहाँ धेरै चलचित्र छायांकन हुन्छन्। अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो।’ कार्यक्रममा पोखरामा आफ्नो करियरको तेस्रो चलचित्र देउकीको छायाकन भएको दिनको सम्झनासमेत हमालले गरेका गरेका थिए।
फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाका अनुसार काठमाडौँमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै यो सेवा पोखरामा विस्तार गरिएको हो। उनले काठमाडौँमा भन्दा पोखराको प्रविधि अझ उन्नत भएको बताए।
यस १८ डी सिनेमामा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक संसारमा प्रवेश गर्ने अवसर पाउनेछन्। चलचित्र हेरेर दर्शकले रोमाञ्चक अनुभव लिन सक्छन्। यसमा कुनै चश्मा वा हेडसेटको आवश्यकता पर्दैन, जसले सबै उमेर समूहका दर्शकलाई सहज रूपमा आकर्षित गर्ने थापाले बताए।
कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे।





