प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र आर्मी विजयी

हिमाल प्रेस ८ चैत २०८२ १८:४० | Sunday, March 22, 2026
18
SHARES
प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र आर्मी विजयी

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ। काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गरेको हो।

दुई सय ७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशको पारी ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो। बागमतीका लागि विवेक मगरले ३४ रन, उत्तम मगरले २६, सुबास खत्रीले २७ रन तथा रिजन ढकालले अविजित २० रन जोडे।

बलिङतर्फ एपीएफका रोहित पौडेल र अभिषेक गौतमले तीन/तीन तथा युवराज खत्री, नन्दन यादव र कमलसिंह ऐरीले एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनायो। एपीएफका लागि आसिफ शेखले सर्वाधिक ११४ रनको योगदान दिए। उनले १४ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै सन्दीप जोराले ५२, लोकेश बमले २९, युवराज खत्रीले अविजित २६ तथा कप्तान रोहित पौडेलले ९ रन बनाए। बलिङतर्फ बागमतीका रिजन ढकालले चार, इसान पाण्डेले दुई तथा सन्दिप लामिछाने र सोनु देवकोटाले एक एक विकेट लिए।

त्यस्तै तल्लो मूलपानी मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गरेको छ।

त्रिभुव आर्मीले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल पुलिस २२१ रनमा अलआउट भयो।

यसअघि ब्याटिङ गरेको त्रिभुवन आर्मीले बासिर अहमदको शतकीय इनिङको मद्तले निर्धारित ४७ ओभरमा ८ विकेटको क्षतिमा २४३ रन बनायो। बासिरले ८६ बल खेलेर सय रन बनाए। त्यस्तै भीम शार्कीले ६२ रनको योगदान दिए।

नेपाल पुलिसका लागि श्रवण यादवले ३, सागर ढकाल र रासिद खानले २–२ तथा ललित राजवंशीले एक विकेट लिए।

२४४ रनको लक्ष्य पछ्याएको नेपाल पुलिसका लागि रासिद खानले ६०, शंकर रानाले ४६, आरिफ शेखले ३८, करण केसीले २३ रनको योगदान दिए।

नेपाल आर्मीका लागि नरेन साउदले ३, अकाश चन्दले २, कुशल मल्ल, सहबाब आलम, बासिर अहमद र पवन कार्कीले १–१ विकेट लिए।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा सात प्रदेश सहभागी छन्। शनिबारदेखि सुरु भएको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन्।

प्रकाशित: ८ चैत २०८२ १८:४० | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast