काठमाडौँ- एक समय सत्ता गठनका लागि अपरिहार्य ‘म्याजिक नम्बर’ मानिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कमजोर राजनीतिक हैसियतमा पुगेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा चामत्कारिक मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ। प्रत्यक्ष र समानुपातिक गरी झन्डै दुईतिहाई सिट रास्वपाले ल्याउँदा अन्य पुराना शक्ति भने खुम्चिन पुगेका छन्। रास्वपाको वर्चस्व हुँदा माओवादी पृष्ठभूमिका दललाई सबैभन्दा धेरै नोक्सान भएको छ।
२०७९ को प्रतिनिधिसभा सदस्य चुनावमा माओवादी प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सिटमा निर्वाचित भएको थियो। निर्वाचनमा माओवादीको समानुपातिकतर्फ ११ लाख ७५ हजार ६८४ (११.८८ प्रतिशत) मत आएको थियो।
२०८२ को चुनावमा आइपुग्दा प्रचण्ड नेतृत्वको माओवादीमा झन्डै दुई दर्जन दल समाहित भएर नेकपा बनेको छ। प्रचण्ड नेतृत्वको माओवादी र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी प्रमुख शक्ति थिए। प्रचण्ड नेकपाको संयोजक र माधवकुमार नेपाल उपसंयोजक भए। नेकपाका केन्द्रीय सदस्यको संख्या मात्रै २५ सयभन्दा बढी छ।
यसपटक प्रत्यक्षतर्फ आठ सिटमा सीमित नेकपाले समानुपातिकतर्फ भने आठ लाख १० हजारभन्दा बढी मत पाएको छ। जेनजी आन्दोलनपछि २२ दलसँग एकता गरेको माओवादीले नाम, चुनाव चिह्न र संगठनात्मक ढाँचासमेत फेर्यो। माओवादी नाम परिवर्तन गरेर नेकपा राख्दा गोलाकारभित्रको हसिया–हथौडा चुनाव चिह्नलाई तारामा रूपान्तरण गरियो।
२०७९ को चुनावमा पाँच दलीय गठबन्धन बनाएर चुनावमा गएको माओवादी यसपटक एक्लै प्रतिस्पर्धामा थियो। नेकपाका प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टीले प्रत्यक्षमा ३० देखि ३५ सिट र समानुपातिकमा १५ लाख मत ल्याउन अनुमान थियो। त्यसविपरीत प्रचण्ड नेतृत्वको पार्टी यसपल्ट चौथो दलमा सीमित भएको छ।
नेकपाले समानुपातिक मत बढाउन १६४ स्थानमा आफ्नै उम्मेदवार उठाएको थियो। बागलुङमा जनमोर्चालाई समर्थनबाहेक नेकपाले अन्य ठाउँमा तालमेल गरेन। ‘हामीले समानुपातिक मत बढाउन प्रत्यक्षमा उम्मेदवार उठाएका थियौँ, तर सफल हुन सकेनौँ,’ प्रवक्ता सापकोटा भन्छन्।
माओवादीले चुनावअघि अनेक आकलन गरेको समाचार बाहिर आए पनि संयोजक प्रचण्ड आफैँ चुनावमा पराजित हुने भयमा थिए। सोही कारण उनी सुरक्षित क्षेत्र मानिने रुकुम पूर्व पुगेको नेताहरू बताउँछन्। ‘अध्यक्ष कामरेड (प्रचण्ड) ले जेसुकै भने पनि उहाँ चुनाव जित्नकै लागि रुकुम पूर्व पुग्नुपरेको हो’, नेकपाका एक नेताले भने। तीन गाउँपालिकामा रहेको रुकुम पूर्वबाट प्रचण्ड १० हजार २४० मत ल्याएर निर्वाचित भए।
प्रत्यक्षतर्फ चुनाव जित्नेमा प्रचण्डसहित वर्षमान पुन (रोल्पा), रमेश मल्ल (सल्यान), गोपाल शर्मा (रुकुम पश्चिम), महेन्द्रबहादुर शाही (कालिकोट), युवराज दुलाल (सिन्धुपाल्चोक), धनबहादुर बुढा (डोल्पा) र मातृका यादव (धनुषा) छन्। नेकपाबाट जितेका सातजना पूर्वमाओवादी हुन्। धनबहादुर बुढा भने पूर्व नेकपा एकीकृत समाजवादी पार्टीका नेता हुन्।
धनुषा-१ मा दोस्रो स्थानमा रहेका नेकपाका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिएको छ। उम्मेदवारी खारेज भएका रास्वपाका किशोरी साहका पक्षमा २० हजार ९१६ मत आउँदा यादव दोस्रोमा सीमित थिए। यादवले १० हजार ४०३ मत ल्याए पनि निर्वाचित भएको प्रमाणपत्र पाएका छन्।
२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादीको मत त्यसयता निरन्तर खस्कँदै छ। माओवादी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा २६ सिटमा सीमित भएको थियो।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन गर्दा माओवादीले ३६ सिट बनाएको थियो। २०७९ मा पनि गठबन्धन गरेर माओवादीले प्रत्यक्षतर्फ १८ सिटमा जितेको थियो।
पहिला र अहिले : कहाँकहाँ घट्यो सिट?
काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा नेकपाका उम्मेदवारहरूको जमानत जफत भएको छ। नेकपा प्रवक्ता सापकोटाका अनुसार रास्वपाको चामत्कारिक मतले नेकपालाई पछाडि धकेलेको हो।
कोशीमा २०७९ को चुनावमा माओवादीले मोरङ, भोजपुर र खोटाङमा एकएक सिट जितेको थियो। त्यति बेला भोजपुरबाट सुदन किराँती, खोटाङबाट रामकुमार राई र मोरङ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी निर्वाचित भएका थिए। यसपटक कोशीबाट प्रत्यक्षतर्फ माओवादीले कुनै सिट ल्याउन सकेन।
२०७९ मा मधेश (सर्लाही २) बाट महिन्द्रराय यादव निर्वाचित भएका थिए। अहिले मातृका यादव निर्वाचित भएका छन्।
अघिल्लो चुनावमा बागमती प्रदेशमा चार सिट जितेको माओवादी यसपालि एक सिटमा सीमित छ। नुवाकोट १ मा हितबहादुर तामाङ, काभ्रे १ मा सूर्यमान तामाङ, सिन्धुपाल्चोकमा १ मा माधव सापकोटा ‘सुबोध’, सिन्धुली २ मा लेखनाथ दाहाल निर्वाचित भएका थिए। यसपटक सिन्धुपाल्चोक २ मा युवराज दुलाल निर्वाचित भएर बागमती प्रदेशमा पार्टी शून्य हुनबाट जोगिएको छ।
गण्डकीमा २०७९ मा माओवादीले दुई सिट जितेको थियो-गोरखा २ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागलुङबाट देवेन्द्र पौडेल निर्वाचित भएका थिए। गण्डकीमा यसपल्ट नेकपा शून्यमा सीमित भएको छ।
अघिल्लो चुनावमा लुम्बिनीबाट तीन सिट जितेको नेकपा यसपटक दुई सिटमा सीमित भएको छ। २०७९ मा रोल्पाबाट वर्षमान पुन, रुकुम पूर्वबाट पूर्णबहादुर घर्ती, दाङ २ बाट रेखा शर्मा निर्वाचित भएकी थिइन्। यसपटक रोल्पाबाट वर्षमान पुन र रुकुम पूर्वबाट प्रचण्ड निर्वाचित भएका छन्।
कर्णालीमा २०७९ मा माओवादीले चार सिट जितेको थियो। अघिल्लो चुनावमा रुकुम पश्चिमबाट जनार्दन शर्मा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीकोटबाट महेन्द्रबहादुर शाही, हुम्लाबाट छिरिङ डमडुल लामा (कार्चेन) निर्वाचित भएका थिए। यसपटक डोल्पाबाट धनबहादुर बुढा, कालिकोटबाट महेन्द्रबहादुर शाही र सल्यानबाट रमेश मल्ल निर्वाचित भएका छन्। सुदूरपश्चिममा पनि नेकपाले प्रत्यक्षतर्फ चुनाव जित्न सकेन। २०७९ को चुनावमा पनि माओवादी सुदूरपश्चिममा शून्य थियो।
‘यसअघिसम्म म्याजिक नम्बर भनिए पनि अब त्यो अवस्था रहेन। अब माओवादी झनै कमजोर भयो’, वामपन्थी दल निकट पत्रकार उजिर मगर भन्छन्।
२०७४ यता काठमाडौँमा पत्तासाफ प्रचण्डको पार्टी
जनयुद्धको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा काठमाडौँ उपत्यकामा चार सिट जितेको थियो। काठमाडौँ २ मा झक्कुप्रसाद सुवेदी, काठमाडौँ ६ मा हितमान शाक्य, काठमाडौँ ७ मा हिसिला यमी र काठमाडौँ १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव जितेका थिए।
२०७० को चुनावमा प्रचण्ड काठमाडौँ १० बाट पराजित भए। वाम गठबन्धनको सहयोगमा उपत्यकाबाट पम्फा भुसाल ललितपुर ३ बाट निर्वाचित भइन्। त्यसयता काठमाडौँमा माओवादीले जितेको छैन। यसपटक त नेकपाले बागमतीमा एक सिट मात्र जितेको छ।
अब रहेन प्रचण्डको ‘म्याजिक नम्बर’
२०८१ असारको कुरा हो, तत्कालीन माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूसँग म्याजिक नम्बर रहेकाले पाँच वर्ष सरकार चलाउने दाबी गर्थे। एमाले, रास्वपा र राप्रपासमेतलाई लिएर सरकारको नेतृत्व गरेको माओवादीसँग प्रतिनिधिसभामा ३२ सिट थियो।
प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत थिएन। सोही कारण प्रचण्ड आफू जोसँग मिले पनि सरकारको नेतृत्व गरिरहने दाबी गर्थे। सोही वर्ष असार दोस्रो साता तत्कालीन संसद्का दुई प्रमुख दल कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रचण्ड सरकार ढलेको थियो।
जनमत घट्यो, सत्तामोह बढ्यो
नेकपाका संयोजक प्रचण्ड मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गर्छन्।
प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट निर्वाचित भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफैँ सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने दाबी गरेका हुन्। उनले भनेका छन्, ‘मुलुकको राष्ट्रिय राजनीतिको मियो र संसद्को सबैभन्दा अनुभवी नेतृत्व अब म नै हुँ।’






