काठमाडौँ- टेलिफिल्म ‘बिजोग रमाइलो’ बन्ने भएको छ। चर्चित कलाकार हरिश निरौला ‘कक्रोच’ को लेखन तथा निर्देशनमा उक्त सिरियल प्रसारण हुन लागेको हो।
निर्देशक निरौलाले फेसबुकमा एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्। सार्वजनिक पोस्टरमा टेलिफिल्म ‘सक्किगो नि’ का अधिकांश कलाकारको अनुहार देखिन्छ। ‘बिजोग रमाइलो’ शब्द पनि ‘सक्किगो नि’ कै एक पात्र गल्फने बाजेले बोल्ने थेगो हो। उक्त पात्रमा बबिन राईले अभिनय गरेका थिए।
पोस्टरमा निर्देशक निरौला र बबिनसहित सागर लम्साल ‘बले’, कमलमणि नेपाल ‘खुपीका बाउ’, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘यधुमे’, गोविन्द कोइराला ‘जयन्ते’, सुरक्षा इटनी ‘सुरु’, भावना आचार्य ‘लुरी’, अशोक धिताल ‘बाहुन डन’, गजित विष्ट ‘जेठान’लगायत कलाकार देखिएका छन्।
सबै कलाकार ‘सक्किगो नि’ कै गेटअपमा छन्। उनीहरू एक टोकरीभित्र अटाएका छन्। तर ‘सक्किगो नि’ कै मुख्य पात्र तथा लेखक निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ भने छैनन्। यसअनुसार ‘बिजोग रमाइलो’ मा ‘पाँडे’/‘जिग्री’ नदेखिने पक्का भएकाे छ। दर्शकले पनि कमेन्टमार्फत उनीहरूकाे खाेजी गरेका छन्।
यद्यपि सिरियल प्रसारणसहित अन्य जानकारी केही समयपछि सार्वजनिक गर्ने टिमले जनाएको छ।





