काठमाडौँ- नेपाली कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा भएको समीक्षाबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले ३ देखि ५ हजारभन्दा कम मतान्तरले हारेका क्षेत्रहरूमा मुख्य रूपमा आन्तरिक कमजोरी जिम्मेवार देखिएको बताए।
चालिसेको भनाइमा ३ देखि ५ हजार मतान्तरले पराजित भएका क्षेत्रमा संगठनभित्रको मतभिन्नता र चुनावी अभियानमा भएका कमजोरी प्रमुख कारण बनेका छन्। त्यस्तै ५ देखि १० हजारसम्मको ठूलो मतान्तरले हारेका क्षेत्रमा अन्तर्घात, कमजोर प्रचार अभियान र प्रतिकूल ‘न्यारेटिभ’ का कारण पार्टी रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ।
प्रवक्ता चालिसेले भने,‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौं। यो भोटको माइग्रेसन मात्रै हो कि माइन्डसेट नै माइग्रेशन भएको हो भन्ने विषयलाई हामीले गम्भीरतापूर्वक हेरिरहेका छौं। ३ देखि ५ हजारभन्दा कम मतान्तरले हारेका २०/२१ वटा निर्वाचन क्षेत्रमा मुख्यत: आन्तरिक कारण जिम्मेवार देखिएको हाम्रो निष्कर्ष छ।’
उनका अनुसार केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदातामा कांग्रेसप्रतिको विश्वासमा समेत कमी आएको देखिएको छ। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको पार्टीले अपेक्षित मत नपाउनु गम्भीर समीक्षा विषय बनेको उनले बताए।
चालिसेले थपे, ‘३ देखि ५ हजार मतान्तरले पराजित हुनुमा चुनावी अभियानमै त्रुटि भएको हुनसक्छ, त्यसको समीक्षा भइरहेको छ। ५ देखि १० हजारसम्मको ठूलो अन्तरमा पराजय भएका केही क्षेत्रमा अन्तर्घात, प्रचारमा कमजोरी र न्यारेटिभका कारण हामी डिफेन्सिभ बन्यौं, जसमा हामी असफल भयौं। कतिपय स्थानमा संगठनात्मक कमजोरी मात्र नभई जनताको विश्वासमै प्रश्न उठेको देखिन्छ।’
जारी बैठकमा मुख्य रूपमा निर्वाचन समीक्षा र सभापतिको राजीनामासम्बन्धी विषयमा छलफल भइरहेको पनि उनले जानकारी दिए।




