काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवार निर्वाचित भएको भन्दै प्रमाणपत्र हस्तान्तरण गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ।
पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसकेको भन्दै नेकपाले प्रमाणपत्र हस्तान्तरण गर्न नेकपाले आयोगलाई ध्यानाकर्षण गराएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरिसकेको अवस्थामा आफ्नो पार्टीका उम्मेदवार यादव निर्वाचित भएको नेकपाको भनाइ छ।
नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिएको बताएका छन्।
‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनबमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधिविपरितका कार्य हुनु चिन्ताजनक विषय हो,’ आचार्यले विज्ञप्ति निकालेर भनेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले भने मतगणनाको परिणाम सार्वजनिक गर्न सर्वोच्च अदालतको आदेश कुरेर बसेको छ। निर्वाचन अधिकृत मनोज बरालले मतगणना सकिए पनि नतिजा सार्वजनिक गर्न बाँकी रहेको बताए। सर्वोच्च अदालतको अन्तिम आदेश नआउँदासम्म मतपरिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगले निर्देशन दिएको उनको भनाइ छ।
‘प्रत्यक्षतर्फको मतगणना सकिएको छ,’ बरालले भने,‘सर्वोच्च अदालतको आदेशपछि प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगको निर्देशन छ, त्यसैले मतगणना सार्वजनिक गरेका छैनौँ।’
पेसाले निर्माण व्यवसायी रहेका रास्वपा उम्मेदवार साह कालोसूचीमा रहेको पाइएपछि आयोगले १८ फागुनमा उम्मेदवारी रद्द गर्ने निर्णय गरेको थियो। साहको उम्मेदवारी रद्द भए पनि आयोगले धनुषा–१ मा मतपत्र भने रास्वपाको चुनाव चिह्नसहितको पठाएको थियो। ठूलो संख्यामा मतदाताहरूले रास्वपालाई मतदान गरेका छन्। निर्वाचन आयोगकै निर्देशनअनुसार रास्वपाको मतसमेत गणना गरिएको छ।
स्रोतका अनुसार उम्मेदवारी रद्द भए पनि रास्वपाका उम्मेदवार साहले सबैभन्दा बढी मत पाएका छन्। त्यस्तै दोस्रो मत नेकपाका यादव र तेस्रो नेपाली कांग्रेसका रामपल्टन साहले प्राप्त गरेका छन्।
उम्मेदवारी रद्द गर्ने आयोगको निर्णयविरूद्ध रास्वपा उम्मेदवार साह सर्वोच्चमा रिट हालेका छन्। दाबीविरोधको अवधि सकिएपछि र मौन अवधिमा उम्मेदवारी खारेज गर्नु कानुनविपरित भएको भन्दै उनले सर्वोच्चमा रिट हालेका हुन्।
रिटमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ। रिटमाथि सुनुावाइका लागि सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासमा तोकिएको हो। निर्वाचन अधिकृत बरालले सर्वोच्चको आदेश आइसकेपछि मात्रै मतपरिणाम सार्वजनिक गरिने बताए।






