पोखरा- पछिल्ला दुई आमनिर्वाचनमा कास्कीका तीनवटै क्षेत्र नेकपा (एमाले) का उम्मेदवारले जितेका थिए। कास्की क्षेत्र नम्बर २ लाई त एमालेले आफ्नो गढ नै मान्छ। २१ फागुनको प्रतिनिधि सभा सदस्य चुनावको प्रचारप्रसार अवधि टुंगिँदै गर्दा एमालेले कास्की २ को विरासत जोगिएला वा अरूलाई सुम्पिएला? उत्तिकै चासोको विषय छ।
२०७४ र ०७९ को चुनावमा एमालेले कास्कीका तीनवटै क्षेत्र आफ्नो पक्षमा पारेको थियो। कास्की २ मा त एमाले नेता रवीन्द्र अधिकारीले जितमा ह्याट्रिक नै पूरा गरेका थिए। पूर्व पर्यटन मन्त्रीसमेत रहेका अधिकारीले २०६४, ०७० र ०७४ मा चुनाव जितेका हुन्। हेलिकप्टर दुर्घटनामा उनको असामयिक निधनपछि २०७५ मा उपनिर्वाचन भयो। त्यसबेला उनकी पत्नी विद्या भट्टराईलाई टिकट दिइएकोमा उनले पनि उपनिर्वाचनसहित २०७९ को चुनाव पनि सहजै जितिन्।
यसपालि एमालेका युवा नेता रश्मि आचार्यले एमालेको गढ जोगाउँदै आफूले नै चुनाव जित्ने दाबी गर्छन्। अनेरास्ववियु पूर्व केन्द्रीय उपाध्यक्ष आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति हुन्। बौद्धिक युवा नेताको छवि बनाएका आचार्यका निम्ति स्व. रवीन्द्र अधिकारी र उनकी पत्नी विद्या भट्टराईले जितेको यो क्षेत्र उनका लागि सहज हुने एकातिर अनुमान छ। तर, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टीसमेतका उम्मेदवारले उनलाई चुनौती दिएको अर्काथरि बताउँछन्।
एमाले केन्द्रीय सदस्य कृष्ण थापाले कास्कीका तीनवटै क्षेत्रमा नै विगतका निर्वाचनभन्दा बढी अन्तरले एमालेको जित सुनिश्चित भएको दाबी गर्छन्। एमाले कास्की इन्चार्जसमेत रहेका उनले यो चुनाव नालापानीको लडाइँ भएको बताउँदै देशभक्त शक्ति कमजोर हुन नहुने जनाए। यसपालि रश्मिलाई उम्मेदवारको टिकट दिनुअघि थापालाई टिकट दिएको चर्चा थियो। आफ्नो टिकट खोसिएको विषयलाई पनि थापाले बेलाबेलामा गुनासो पोख्दै आएका छन्। कास्की २ मा रास्वपा र कांग्रेसले बढी टक्कर दिएको हुँदा एमालेलाई जित निकाल्न भने गाह्रो देखिन्छ।
रास्वपाका उत्तम पौडेलले एमालेका आचार्यलाई टक्कर दिएका छन्। रास्वपा सभापति रवि लामिछानेसँगै टेलिभिजनमा काम गरेका पौडेल युवा नेता हुन्। ०७९ को चुनावमा समेत रास्वपा यहाँ दोस्रो भएको थियो। त्यसबेला एमालेकी विद्याले १६ हजार ९९८ मत ल्याउँदा रास्वपाका माधवप्रसाद कँडेलले १२ हजार ४९५ ल्याएका थिए। कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेदवार नेकपा (समाजवादी) का श्रीनाथ बरालले तेस्रो मत ९ हजार ६५९ प्राप्त गरेका थिए।
नेपाली कांग्रेसबाट पाका नेता माधवप्रसाद बास्तोला (मधु) चुनावी मैदानमा छन्। पोखरा ११ का पूर्व वडाध्यक्षसमेत रहेका बास्तोला नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्तासमेत हुन्। सामाजिक कार्य तथा पार्टीको गतिविधिमा उनको सक्रियता पाको उमेरसम्म पनि घटेको पाइँदैन।
नेकपाले हेमबहादुर थापा (किरण) लाई अघि सारेको छ। चार स्वतन्त्रसहित १७ उम्मेदवारमध्ये राप्रपाबाट केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ र नेकपा (माओवादी) का प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ पनि चुनाव जित्ने आत्मविश्वासका साथ मतदातासँग भेटघाटलाई करिब टुंगाएका छन्।
कास्की २ मा ८४ हजार १३४ मतदाता छन्। यो निर्वाचन क्षेत्र पोखराको मुख्य बजार क्षेत्र पर्छ। पोखराका वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, र ३३ पर्छ।
२०६४ र २०७० मा संविधानसभा सदस्यका लागि कास्कीमा कुल ४ क्षेत्र कायम थिए। ०६४ मा कास्की १ मा माओवादीका देव गुरुङ, २ मा माओवादीकै राजकाजी गुरुङ (करण), ३ मा एमालेका रवीन्द्र अधिकारी र ४ माओवादीकी दुर्गा विक निर्वाचित भएका थिए। २०७० सालमा कास्की १ मा कांग्रेसका यज्ञबहादुर थापा, २ मा कांग्रेसकै शारदा पौडेल, ३ मा एमालेका रवीन्द्र अधिकारी र ४ एमालेकी सीता गिरी वली निर्वाचित भएका हुन्।
अहिले कास्की १ बाट एमालेका वैनबहादुर क्षत्री (अधिकारी) उम्मेदवार छन्। पहिलोपल्ट संसदीय चुनाव लड्न लागेका उनी एमाले कास्की अध्यक्षसमेत हुन्। कांग्रेसबाट तिलक रानाभाट, नेकपाबाट राजकाजी गुरुङ (करण), रास्वपाबाट खड्गराज पौडेल (गनेश) र राप्रपाका बाबुराम थापाबीच मुख्य प्रतिस्पर्धा छ।
कास्की १ बाट एमालेका खगराज अधिकारीले ०७४ र मनबहादुर गुरुङले ०७९ को चुनाव जितेका हुन्।
हाल यहाँ १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये एकजना स्वतन्त्र छन्। १ लाख १६ हजार ८७८ मतदाता छन्। कास्की १ मा मादी गाउँपालिका (वडा १ देखि १२ पूरै) र रुपा गाउँपालिका (वडा १ देखि ७ पूरै) सहित पोखराका ११ वटा वडाहरु पर्दछन्। पोखराको वडा १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाहरु कास्की १ मा पर्छन्।
कास्की ३ मा एमालेले दामोदर पौडेल बैरागीले दोहोरिएर टिकट दिएको हो। २०७९ को चुनाव जितेका उनलाई अहिले कांग्रेस, नेकपा, रास्वपा र राप्रपाका उम्मेदवारले कडा चुनौती दिएका छन्।
कास्की ३ बाट २०७४ मा एमालेका जगतबहादुर विश्वकर्माले चुनाव जितेका हुन्। उनी ३२ हजार ६९० मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत पाएका थिए। २०७९ मा एमालेका बैरागीले नेकपा (माओवादी केन्द्र) का रामजी बराल जीवनलाई करिब ५५ सय मतान्तरले हराए। दामोदरले २२ हजार ९८० मत ल्याउँदा जीवनले १७ हजार ५३५ मत प्राप्त गरे। तेस्रो रहेका रास्वपाका योगराज पौडेलले १२ हजार १८० मत ल्याए। कास्की ३ मा विभिन्न दलका १५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
कास्की ३ मा एमालेबाट दामोदर बैरागी, कांग्रेसका मनोज गुरुङ, राप्रपाका युवा नेता अर्जुनप्रसाद खनाल, रास्वपाबाट बिना गुरुङ, नेकपाबाट गोपाल गिरीबीच कडा प्रतिस्पर्धा छ। समाजसेवामा भिजेका कांग्रेसका मनोज र एमालेका बैरागीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
यहाँ कुल १ लाख ७ हजार ५६० मतदाता छन्। यो अन्नपूर्ण गाउँपालिका (वडा १ देखि ११ पूरै), माछापुच्छ्रे गाउँपालिका (वडा १ देखि ९ पूरै) र पोखराका ११ वटा वडाहरु पोखराका वडा १, २, ३, ५, ६, १८, १९, २२, २३, २४, २५ पर्दछन्।






