सुर्खेत- कर्णालीमा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम तयारी पूरा भएको छ। कर्णाली प्रदेशमा ९ सय ४१ मतदानस्थलका १ हजार ४ सय ३७ मतदान केन्द्रमा मतपेटिका, मतपत्र र सुरक्षाकर्मीसहित कर्मचारी खटिएका छन्।
कर्णालीका दुर्गम हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री र कर्मचारीहरू पुर्याइसकिएको छ। हुम्लाका ८, डोल्पाका २० र मुगुका ३ मतदान केन्द्रमा सामग्री र कर्मचारीहरूलाई हेलिकप्टरबाट पठाइएको छ। भोलि (बिहीबार) हुने मतदानका लागि मतदान स्थल र केन्द्रहरूमा पुगेका कर्मचारीहरूले सहजताका लागि राजनीतिक दलहरुसँग सर्वदलीय बैठक गरी सहमति समेत गरिसकेका छन्।
यसै गरी कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतका दुई निर्वाचन क्षेत्रमा निर्वाचन प्रहरीसहित नेपाल प्रहरी १ हजार ८२८ , सशस्त्र ७ सय ५१ र निजामती कर्मचारी १ हजार ८ सय १८ जना खटिएका छन्। अबेर राति १ बजेसम्म सबै मतपेटिका संकलन गरिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ।
कर्णालीमा १० लाख ३५ हजार २ सय ५० मतदाता छन्, जसमा महिला ५ लाख ९ हजार ३६१ र पुरूषमा ५ लाख २७ हजार ८८६ मतदाता रहेका छन्।
मतदानका दिन अपांगता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकलाई केन्द्रसम्म ल्याउने साधन र मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने सम्बन्धमा स्थानीय राजनीतिक दलसँग छलफल गरी सहमति समेत गरिसकेका छन्। यसपटकको निर्वाचनमा नेपाली सेनाले मतपेटिका गणनास्थलसम्म पुर्याउने जिम्मा लिएको छ।
हिमाली जिल्ला र पहाडी जिल्लाका केही मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट गणना स्थलसम्म ओसार्ने तयारी भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
कर्णाली प्रदेशमा मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। मतगणना स्थलमा तारजाली लगाइएको छ।
तारजाली बाहिर राजनीतिक दलका प्रतिनिधि रहने छन् भने भित्र मुख्य निर्वाचन अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी रहनेछन्। केन्द्रहरूमा मतदाताहरूलाई मतदान गर्न सहज बनाउन वृद्धवृद्धा,अपांगतामैत्री बनाइएको छ।
मतदाता क्रम संख्याका आधारमा मतदाताहरू लाइन बस्ने व्यवस्थापन गरिएको छ। बिहीबार बिहान ७ बजेबाट सबै मतदान केन्द्रहरूमा मतदान गर्न सुरु गरिने छ। कर्णालीमा १२ निर्वाचन क्षेत्रमा १२ जना जनप्रतिनिधि मतदानमार्फत चुनिनेछन्, जसमा १ सय ३८ जना चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचनमा सुरक्षाकर्मी कर्माचारीहरू सबै आआफ्नो निर्वाचन क्षेत्रमा खटिएका सुर्खेतका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले बताए। मतदान सम्पन्न भएलगत्तै मत पेटिका निर्वाचनस्थल पुर्याइने उनले बताए। सुर्खेत निर्वाचन क्षेत्र नं. १ को मतगणना सिटीहल मेहलकुना र २ को मतगणना वीरेन्द्रनगरको सिटी हलमा गणना हुने जानकारी दिए।






