इनिशा हत्या प्रकरण : छानबिन माग गर्दै विद्यार्थी आन्दोलित, यसरी हुँदै छ अनुसन्धान?

रमा केसी २९ फागुन २०८२ १६:०५ | Friday, March 13, 2026
22
SHARES
इनिशा हत्या प्रकरण : छानबिन माग गर्दै विद्यार्थी आन्दोलित, यसरी हुँदै छ अनुसन्धान? इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै शुक्रबार वीरेन्द्रनगरमा प्रदर्शनमा उत्रिएका विद्यार्थी। तस्बिर : हिमालप्रेस

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ स्थित सहिद पार्क नजिकको जंगलमा १६ वर्षीया बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका छन्।

फागुन २३ गते जनजागरण सामुदायिक वन क्षेत्रमा इनिशा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए।

वीरेन्द्रनगरस्थित उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत इनिशाको घटनामा संलग्नलाई छानबिन गरी कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै विद्यार्थीले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा धर्ना दिएका छन्।

विद्यार्थीले इनिशाको हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने बताएका छन्। प्रदर्शनका क्रममा केही समय उनीहरूले विद्यालयअगाडि पनि धर्ना दिएका थिए। उनीहरूले घटनामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।

पोस्टमार्टम रिपोर्टअनुसार शारीरिक सम्बन्धपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको उल्लेख छ। घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय किशोरले इनिशासँग शारीरिक सम्बन्ध राखेको र त्यसपछि रक्तस्राब भई अचेत भएको बयान प्रहरीसमक्ष दिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि सीआईबी टोलीसँग सहयोग 

घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सुर्खेत आउन लागेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको गम्भीरता मध्यनजर गर्दै सीआईबीसँग सहयोग मागेको जनाएको छ।

प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली शुक्रबार साँझसम्म वीरेन्द्रनगर आइपुग्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोनजंग बुढथापाले जानकारी दिए।

‘घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेका थियौँ’, बुढथापाले भने, ‘भोलिदेखि सीआईबीको टोलीले थप अनुसन्धान सुरु गर्छ।’

सुर्खेत प्रहरीले पहिलो चरणको अनुसन्धान जिल्लास्तरमै सम्पन्न भइसकेको जनाएको छ। ‘पहिलो चरणको अनुसन्धान हामीले जिल्लाबाटै सकेका छौँ’, उनले भने, ‘घटनाको गम्भीरतालाई दृष्टिगत गर्दै केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिइएको हो।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ भने पीडित र आरोपित पक्षका मोबाइललगायत विद्युतीय सामग्री अनुसन्धानका लागि फरेन्सिक प्रयोगशालामा पठाइएको छ।

उनले केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि नमुना पठाइएको बताए। ‘ती रिपोर्ट आएपछि पोस्टमार्टम रिपोर्टसँग तुलना गरेर घटनाको निष्कर्षमा पुग्नेछौँ,’ उनले भने।

प्रहरीका अनुसार जिल्लास्तरमा छुट्टै अनुसन्धान टोली बनाएर पनि काम भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट आएको पोलिग्राफ टोलीले समेत अनुसन्धानमा सहयोग गरिरहेको छ।

‘पोलिग्राफ परीक्षणले बयानको सत्यता जाँच्न सहयोग गर्छ’, प्रहरी उपरीक्षक शाहीले भने, ‘घटनास्थलबाट संकलित प्रमाणहरू प्रयोगशालामा पठाइएको छ।’

पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स तथा किशोरकिशोरीबीच भएका विद्युतीय सम्पर्कका प्रमाणको पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

पीडित परिवारले शव बुझेका छैनन्। पीडित परिवारको जाहेरीका आधारमा भेरी अस्पताल, बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेत पुगेर शव परीक्षण गरी प्रतिवेदन दिएको हो।

प्रतिवेदनअनुसार जबरजस्ती करणीका क्रममा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राबका कारण मृत्यु भएको उल्लेख छ।

गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भएकी इनिशा फागुन २३ गते बिहान वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका रहेको डीएसपी बुढथापाले जानकारी दिए।

सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अन्य तीनजनालाई नियन्त्रणमा लिएको जनाएको छ।

इनिशाको मृत्युपछि नागरिक समाज र मानवअधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै न्यायका पक्षमा आवाज उठाइरहेका छन्।

प्रकाशित: २९ फागुन २०८२ १६:०५ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast