भारतद्वारा चुनावको परिणामलाई स्वागत

हिमाल प्रेस २८ फागुन २०८२ १८:०८ | Thursday, March 12, 2026
भारतद्वारा चुनावको परिणामलाई स्वागत

काठमाडौँ- भारतले नेपालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामलाई स्वागत गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले चुनावको परिणामलाई भारतले स्वागत गरेको बताएका हुन्। ‘नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात हामीले त्यसको स्वागत गरेका छौँ,’ उनले भने।

चुनावको परिणामसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमार्फत कुरा गरेर बधाई दिएको पनि उनले बताए।

प्रवक्ता जयसवालले भने, ‘हाम्रा प्रधानमन्त्रीज्यूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र वरिष्ठ नेता श्री बालेन शाहसँग टेलिफोन वार्ता गर्नुभएको छ। उहाँले दुवै नेताहरूलाई निर्वाचनमा प्राप्त जित र उहाँहरूको पार्टीले हासिल गरेको सानदार सफलताका लागि बधाई दिनुभयो।’

संवादका क्रममा प्रधामन्त्री मोदीले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालका जनता तथा नयाँ सरकारसँग मिलेर काम गर्न र साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उपचाइ हासिल गर्न भारत सदैव प्रतिबद्ध रहेको बताएको जयसवालले उल्लेख गरे।

प्रवक्ता जयसावलले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा आफूहरूले राखेको सुनाए।

‘तपाईँहरूलाई थाहा नै छ, भारत र नेपालबीच एक अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको छ। आगामी दिन तथा वर्षहरूमा यो गतिशीलता थप सुदृढ र प्रगाढ हुँदै जाने हामीले अपेक्षा गरेका छौँ,’ उनले भने,

नेपालमा फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि भारतले पहिलोपटक नेपालका विषयमा औपचारिक प्रतिक्रिया जनाएको हो।

प्रकाशित: २८ फागुन २०८२ १८:०८ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast