काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले निकै पछाडि पारेका छन्। निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार शाहले २६ हजार ६२ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओलीले ६ हजार र्७९४ मत ल्याएका छन्। एमालेका अधिकांश पदाधिकारीहरू पछाडि परेका छन्। एमालेका १९ मध्ये १२ पदाधिकारी चुनावी प्रतिस्पर्धामा थिए। सचिव राजन भट्टराई पराजित भइसकेका छन् भने अरू पदाधिकारीहरू पनि अगाडि आउन सकेका छैनन्।
हालसम्मको मतगणनाअनुसार सचिव शेरधन राईले भोजपुरमा अग्रता लिइरहेका छन्। शेरधनले ३ हजार ९ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले २ हजार ५१४ मत ल्याएका छन्। ताप्लेजुङमा क्षितिज थेबेले ६ हजार ५८२ मत ल्याएर अग्रता लिइरहेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ६ हजार १९२ मत ल्याएका छन्।
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले अग्रता लिइरहेका छन्। उनले ७ हजार ६५० मत ल्याउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ६ हजार २४३ मत ल्याएका छन्। धनकुटामा राजेन्द्रकुमार राईले ८ हजार १५४ मत ल्याएर अग्रता लिइरहेका छन्। उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका सानबहादुर राईले ६ हजार ७८४ मत ल्याएका छन्। उदयपुर १ मा अम्बरबहादुर रायमाझीले २८१ मतको अग्रता लिँदै प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङलाई पछि पारिराखेका छन्। रायमाझीले ३ हजार ७७ मत ल्याएका छन् भने तामाङले २ हजार ७९६ मत ल्याएका छन्।
मधेश प्रदेशमा जम्मा एक स्थानमा एमालेले अग्रता लिइरहेको छ। धनुषा १ मा एमालेका रामचन्द्र मण्डलले ४४१ मत ल्याएर अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवले २९७ मत ल्याएका छन्। बागमती प्रदेशमा पनि एमालेले एक स्थानमा मात्रै अग्रता लिएको छ। सिन्धुली–१ मा एमालेका प्रदीप कटुवालले १० हजार २२८ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका उज्ज्वल बरालले ९ हजार ७२० मत ल्याएका छन्।
गण्डकीमा पनि एक स्थानमा मात्रै एमालेले अग्रता लिएको छ। स्याङ्जा–२ मा एमालेका खिमबहादुर थापाले ५ हजार ६१९ मत ल्याउँदा कांग्रेसका भागवतप्रकाश मल्लले ३ हजार ९९६ मत ल्याएका छन्। लुम्बिनीमा पनि एमालेले एक स्थानामा मात्रै अग्रता लिएको छ। पाल्पा–१ मा एमालेका नारायणप्रसाद आचार्यले ९ हजार २७३ मत ल्याउँदा कांग्रेसका सन्दीप रानाले ८ हजार ८५४ मत ल्याएका छन्। कर्णाली प्रदेशमा पनि एमालेले एक स्थानमा अग्रता लिएको छ। एमालेका लक्ष्मीप्रसाद पोखरेलले ५ हजार ५६५ मत ल्याउँदा कांग्रेसका दिक्पालकुमार शाहीले ४ हजार ११५ मत ल्याएका छन्।
सुदूरपश्चिम प्रदेशमा भने एमालेले तीन स्थानमा अग्रता लिएको छ। बझाङमा ऐन महर ६८३ मतले माथि छन्। उनले ९ हजार ११३ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी प्रकाश स्नेहीले ८ हजार ४३० मत ल्याएका छन्। अछाम २ मा यज्ञबहादुर बोगटीले २ हजार ७६६ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका पुष्पबहादुर शाहले १ हजार ७३९ मत ल्याएका छन्। दार्चुलामा एमालेका गणेशसिंह ठगुन्नाले ४ हजार २३२ मत ल्याउँदा कांग्रेसका धर्मानन्द जोशीले ४ हजार १६७ मत ल्याएका छन्।





