नारायणकाजी श्रेष्ठ नेपाली राजनीतिको एक बौद्धिक, क्रान्तिकारी र प्रभावशाली व्यक्तित्व हुन्। तत्कालीन नेकपा (एकता केन्द्र मशाल) का महामन्त्री रहेका श्रेष्ठ माओवादीसँगको एकतापछि संसदीय राजनीति र सरकारका उच्च जिम्मेवारीमा पुगे। दुई पटक उपप्रधानमन्त्रीसहित गृहमन्त्री र परराष्ट्रमन्त्रीको भूमिका निर्वाह गरेका उनी हाल नवनिर्मित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता छन्।
भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र दोषीलाई कानुनी दायरामा ल्याउने अटुट प्रतिबद्धताका लागि परिचित श्रेष्ठले गृहमन्त्रीको जिम्मेवारीमा रहँदा नक्कली भुटानी शरणार्थी घोटाला, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी काण्ड, बाँसबारी जग्गा घोटालाजस्ता ठूला प्रकरणमा अनुसन्धान अघि बढाए। उनले गृहमन्त्री तथा सचिवले पाउने अनावश्यक सुराकी खर्च (भत्ता) कटौती गर्ने पहिलो निर्णय गरेर भ्रष्टाचारको जडमा नै प्रहार गरे।
आवाज उठाउने मात्र नभएर, ठोस कारबाही प्रक्रिया अघि बढाउने काम उनले गरे। विगतका दुई निर्वाचनमा पराजय व्यहोरेका श्रेष्ठ यसपटक मधेशको सर्लाही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्, जहाँ उनको भ्रष्टाचारविरोधी अभियान र जनसेवाको प्रतिबद्धताले आमनागरिकको मन जितिरहेका छन्। उनीसँग चुनावी माहोलका बारेमा हिमालप्रेसले गरेको कुराकानी :
विगतमा तपाईँले पहाडी जिल्ला (मकवानपुर र गोरखा) बाट चुनाव लड्नुभयो। यसपटक सर्लाही रोज्नुभयो। कतिपयले यसलाई ‘सुरक्षित क्षेत्रको खोजी’ भनेका छन्, तपाईँ के भन्नुहुन्छ?
यसलाई ‘सुरक्षित क्षेत्र’ भन्नु त झुटो प्रचार हो। यो त ‘सांगठनिक आधार, जनचाहना र मुद्दाको निरन्तरता’ को प्राकृतिक परिणाम हो। सर्लाही-३ मा हाम्रो पार्टी (तत्कालीन माओवादी र एकीकृत समाजवादी) को आधार अत्यन्त बलियो छ। गत निर्वाचनको समानुपातिक मतले त्यो प्रमाणित गर्छ। म गृहमन्त्री हुँदा मधेशका मिटरब्याज पीडितका लागि जुन ऐतिहासिक कानुन बनाएँ, त्यसले यहाँका लाखौँ जनतालाई राहत दियो। उनीहरूले मलाई आफ्नो अभिभावक र भ्रष्टाचारविरोधी योद्धाका रूपमा बोलाइरहनुभएको छ। मैले पहाडमा पनि जनताको सेवा गरेँ, तर मधेशको पीडा, उत्पीडन र भ्रष्टाचारको जालो च्यात्ने मेरो प्रतिबद्धता यहाँ अझ बढी मागिएको छ। यो मेरो व्यक्तिगत रोजाइ होइन, पार्टी, स्थानीय कार्यकर्ता र जनताको सामूहिक आग्रह हो। म पूर्ण विश्वस्त छु: सर्लाही-३ ले मलाई जिताएर भ्रष्टाचारमुक्त, सुशासनयुक्त नेपाल निर्माणको अभियानमा साथ दिनेछ।
सर्लाही-३ मा यहाँकाे प्रतिस्पर्धी निकै बलियो हुनुहुन्छ, जसले अघिल्लो पटक गठबन्धनलाई हराएका थिए। यसपटक तपाईंले जित्ने आधार के होला?
प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो र म यसलाई स्वागत गर्छु। तर यसपटक परिस्थिति पूर्ण रूपमा बदलिएको छ। तत्कालीन माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले हाम्रो शक्तिलाई एकीकृत र अजेय बनाएको छ। बागमती र हरिवनजस्ता प्रमुख नगरपालिकामा हाम्रो नेतृत्व छ, विकासका काम जनताको आँखाअगाडि छन्। अघिल्लो पटक झिनो मतान्तरले पराजय भए पनि अहिले एकीकृत शक्ति, मिटरब्याज पीडितप्रतिको मेरो ऐतिहासिक योगदान र भ्रष्टाचारविरोधी अडानले जनताको मन जितेको छ। हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको नारा दिएका छौँ। जनताले अब ‘काम गर्ने, भ्रष्टाचार नगर्ने र जनताका पक्षमा उभिने’ नेतृत्व खोजिरहेका छन्। मलाई पूर्ण विश्वास छ- यो पटक सर्लाही-३ ले कम्युनिस्ट एकताको जित र विकासको नयाँ युगको थालनी गर्नेछ।
तपाईँकै पार्टीका यहाँका एक नेता असन्तुष्ट भएर अर्कै पार्टीबाट चुनाव लड्दै हुनुहुन्छ। यसले तपाईँको मतमा असर गर्दैन?
राजनीतिमा व्यक्तिगत आकांक्षा स्वाभाविक हुन सक्छन्, तर पार्टी निर्णय, पद्धति र सामूहिक हित सर्वोपरि हुन्छ। रामेश्वरजीसँग शीर्ष नेताहरूले बारम्बार संवाद गर्नुभयो, उहाँलाई समेट्ने प्रयास भयो। उहाँ अहिले फरक क्षेत्रमा हुनुहुन्छ। तर सर्लाही-३ का आमकार्यकर्ता, इमानदार कम्युनिस्टहरू र जनता व्यक्तिगत अनुहारभन्दा नीति, विचार, मिटरब्याज निर्मूलन र सुशासनका पक्षमा उभिन्छन्। हाम्रो सांगठनिक संरचना यति बलियो छ कि कुनै व्यक्तिगत असन्तुष्टिले यसलाई छुन सक्दैन। बरु यो घटनाले हाम्रा कार्यकर्तालाई झन् एकजुट बनाएको छ। जनताले हेर्ने भनेको काम र प्रतिबद्धता हो- म त्यसमा कहिल्यै कमजोर भएको छैन।
तपाईँले मिटरब्याज पीडितको कुरा गर्नुभयो, तर स्थानीय तहमा बागमतीका मेयर भ्रष्टाचार प्रकरणमा निलम्बनमा हुनुहुन्छ। यसले तपाईँको ‘सुशासन’ को नारालाई असर गर्दैन?
सुशासन हाम्रो पार्टीको मूल मन्त्र हो भने मेरो जीवनभरको अभियान हो। कुनै एक व्यक्तिमाथि लागेको आरोप वा कानुनी प्रक्रियाले सिंगो पार्टी वा अभियानलाई रोक्न सक्दैन। बागमतीमा भएका विकासका काम- कृत्रिम ताल, पर्यटकीय पूर्वाधार, सडक, शिक्षा र स्वास्थ्यका पूर्वाधार- जनताले प्रत्यक्ष देखेका छन्। म आफैँ गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी घोटाला, ललिता निवास, सुन तस्करीजस्ता ठूला प्रकरणमा ‘कसैलाई छोड्दिनँ’ भन्दै अनुसन्धान र कारबाही अघि बढाएँ। गृहमन्त्री र सचिवले पाउने अनावश्यक सुराकी भत्ता कटौती गरेर भ्रष्टाचारको संस्कृति रोक्ने प्रयास गरेँ। त्यो मेरो अडान हो। स्थानीय स्तरमा भएका प्रक्रियागत वा कानुनी कुरा अदालतले हेर्ला, तर हामीले गरेको विकास र जनसेवालाई जनताले कहिल्यै बिर्सनुहुन्न। हाम्रो सुशासन अभियान अझ सशक्त बनेर अघि बढ्नेछ- यो पटक सर्लाहीबाटै देशव्यापी सुशासनको नयाँ मोडल सुरु हुनेछ।
हरिवन नगरपालिकामा तपाईँको पार्टीको मेयर हुनुहुन्छ, तर एउटा पनि वडा जित्न सक्नुभएको छैन। यस्तो ‘अन्तर्घात वा मिश्रित’ अवस्थामा तपाईँ कसरी ढुक्क हुनुहुन्छ?
स्थानीय र राष्ट्रिय निर्वाचनको मनोविज्ञान भिन्न हुन्छ। स्थानीयमा व्यक्तिगत, टोलगत र सामुदायिक सम्बन्धले प्रभाव पार्छ। तर प्रतिनिधिसभामा जनताले राष्ट्रिय नीति निर्माण, भ्रष्टाचार नियन्त्रण र समृद्धिको नेतृत्व खोज्छन्। हरिवन र बागमती दुवैमा हाम्रो ‘जनमोर्चा लिगेसी’, इमानदार कम्युनिस्ट संगठन र पुरानो जनसम्पर्क अत्यन्त बलियो छ। त्यही इमानदार कार्यकर्ताको पसिना, मिटरब्याज पीडितप्रतिको मेरो योगदान र सुशासनप्रतिको अटल अडानले राष्ट्रिय चुनावमा फरक नतिजा ल्याउनेछ। म ढुक्क छु- जनताले अब ‘काम र मुद्दा’ हेर्नेछन्, अनि हामीलाई भारी मतले जिताउने छन्। यो ‘अन्तर्घात’ को भाषा पुरानो भइसक्यो, अब एकताबद्ध कम्युनिस्ट शक्तिको जितको समय हो।
विगतका दुई हारले तपाईँको राजनीतिक प्रतिष्ठामा प्रश्न उठाएको थियो। के यो निर्वाचन तपाईँका लागि ‘गर या मर’ को लडाइँ हो?
हारजित चुनावी प्रक्रियाको सामान्य अंग हो। म कहिल्यै पदका लागि राजनीति गरिनँ, सधैँ मुद्दा र जनताको पक्षमा लडेँ। तर हो, यसपटक म प्रत्यक्ष निर्वाचित भएर सर्लाहीका जनताको प्रत्यक्ष सेवा गर्न र संसद्बाटै भ्रष्टाचारविरोधी अभियानलाई थप सशक्त बनाउन चाहन्छु। विगतका हारले मलाई झन् परिपक्व र दृढ बनाएको छ। अहिले देशभर भ्रष्टाचार जर्जर बनाइरहेको छ, सुशासन रोक्नेहरू सक्रिय छन्। म यो लडाइँलाई ‘गर या मर’ होइन, ‘जनताको अधिकार स्थापित गर्ने ऐतिहासिक अवसर’ का रूपमा लिन्छु। सर्लाहीका उत्पीडित किसान, मिटरब्याज पीडित र आमसर्वसाधारणले मलाई न्याय दिनेछन् भन्नेमा म पूर्ण आशावादी छु। यो जितले मेरो प्रतिष्ठा होइन, सिंगो मधेश र देशको सुशासनको प्रतिष्ठा उँचो पार्नेछ।
निर्वाचित भएपछि सर्लाही-३ का जनताले तपाईँबाट के अपेक्षा गर्ने? तपाईँको पहिलो प्राथमिकता के हुनेछ?
निर्वाचित भएपछि मेरो पहिलो प्राथमिकता मिटरब्याजको पूर्ण निर्मूल, किसानहरूको ऋण माफी र कृषि क्षेत्रको आधुनिकीकरण हुनेछ। दोस्रो, यहाँको कृषि र पर्यटनलाई जोडेर युवाहरूलाई स्थानीय रोजगारी सिर्जना गर्ने। बागमतीको पर्यटकीय मोडल (कृत्रिम ताल, पूर्वाधार) लाई सर्लाहीभरि विस्तार गरी हरिवन-बागमती खण्डलाई आर्थिक हब बनाउने मेरो स्पष्ट संकल्प छ।
तीबाहेक, म ‘हुने खाने होइन,हुँदा खाने’ को प्रतिनिधि बनेर काम गर्नेछु। संसद्मा भ्रष्टाचारविरोधी कानुन थप कडा बनाउने, सुशासन अभियानलाई राष्ट्रिय स्तरमा पुर्याउने र कुनै पनि घोटालामा ‘कसैलाई छोड्दिनँ’ भन्ने मेरो पुरानो अडानलाई निरन्तरता दिनेछु। सर्लाही-३ ले मलाई जिताएर देशकै लागि सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्नेछ। म जनताको सेवामा समर्पित रहनेछु- यो मेरो बाचा हो। जनताले साथ दिनुभयो भने सर्लाही-३ ले मात्र होइन, सिंगो नेपालले फेरि एक पटक सुशासनको जित हेर्नेछ। जय जनता, जय सुशासन!





