र्‍यापरदेखि राष्ट्रिय नेतृत्वसम्म : बालेनको राजनीतिक यात्रा

हिमाल प्रेस २४ फागुन २०८२ २१:१० | Sunday, March 8, 2026
22
SHARES
र्‍यापरदेखि राष्ट्रिय नेतृत्वसम्म : बालेनको राजनीतिक यात्रा

काठमाडौँ- नेपाली राजनीतिक मञ्चमा उभिने अधिकांश नेताहरूको शैली लगभग एउटै जस्तो देखिन्छ- लामो भाषण, भावनात्मक नारा, भीड उत्साहित पार्ने नाटकीय अभिनय। राजनीतिमा कहिलेकाहीँ यस्तो पात्र देखा पर्छ, जसले स्थापित शैलीलाई चुनौती दिन्छ र भत्काइदिन्छ। बालेन्द्र शाह (बालेन) ठ्याक्कै त्यस्ता पात्र हुन्। उनी मञ्चमा उभिँदा धेरै हाँस्दैनन्, भाषण गर्दा शब्दहरूको अनावश्यक भीड लगाउँदैनन् र राजनीतिक टिप्पणीमा रमाउँदैनन्।

उनको सरल तर प्रहार गर्ने शैली छ- कम, तर स्पष्ट र प्रभावशाली बोल्ने। युवाको चाहना बुझेर बोल्ने। जस्तै चितवन पुग्दा उनले जम्मा भएको मतदातासँग सोधे- यहाँहरुकाे कलर के हो? म प्लेनबाट झर्दै गर्दा नियाले चितवनको घरमा दुई पाखे बनाउने र त्यहाँ निलो जस्ता राख्ने । त्यो यहाँहरुको कलर रहेछ रास्वपा जस्तै त्यसले घरलाई मक्किन दिँदैन रास्वपाले नेपाललाई।’ उनी यसरी बोल्छन् जसले उनकाे धारणामा सबै रम्छन्।

उनले बाजा सोध्ने अनि घण्टी मन पर्दैन र भन्दै बजाउँदै कस्तो लाग्यो भन्दै मतदातालाई तान्ने काम गरे। लोकाचार तर्फ उनी लागेनन्। उनी परम्परागत ढंगले सबैलाई सम्बोधन गर्दै बोल्दैनन। जे हो सिधा बोले। मतदाताको मन जिते। यो शान्त स्वभावले उनलाई नेपाली राजनीतिमा एक भिन्न चित्रण दिन्छ। तर यो शान्तको पछाडि लुकेको छ उनको नजर- पुरानो व्यवस्थाप्रति असन्तुष्टि, अन्यायविरुद्ध साहसिक विद्रोह।

उनका निकट सहयोगीका अनुसार बालेन जोखिम उठाउने साहसका लागि चिनिन्छन्। चाहे त्यो इन्जिनियरिङ करियरमा रहँदै र्‍याप संगीतमा लागेर होस् वा राजनीतिमा प्रवेश गर्दा सुरक्षित बाटो रोज्नुको सट्टा शक्तिशाली नेताहरूसँग सीधा टक्कर लिनु। यो स्वभावले उनलाई युवा पुस्ताबीच भिन्नै पहिचान बनाएको छ, बालेन परिवर्तनका लागि जोखिम मोलेर अघि बढ्ने नेताका रूपमा चिनिन्छन्।

एक दशकअघिसम्म नयाँ पुस्ताबीच ‘र्‍यापर बालेन’ का रूपमा चिनिने यो युवक आज देशको सबैभन्दा ठूलो राजनीतिक आशाका रूपमा उभिएको छ। काठमाडौँ महानगरपालिकाको मेयर बनेर नेतृत्वको अभ्यास गरेका उनले अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा चुनाव जित्दै राष्ट्रिय राजनीतिमा निर्णायक उपस्थिति बनाएका छन्।

अझ रोचक कुरा त के भने उनले रोजेको चुनावी मैदान सुरक्षित र सजिलो थिएन। उनले चुनौती दिएका थिए- चारपटक प्रधानमन्त्री, ६ पटक सांसद र तीनपटक पार्टी अध्यक्ष बनिसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई। त्यो पनि ओलीकै किल्ला झापा-५ मा।

अन्ततः परिणाम उनकै पक्षमा आयो। ६८ हजार तीन सय ४८ मतसहित बालेन निर्वाचित भए। ओली १८ हजार ७३४ मतमै सीमित भए। ४९ हजारभन्दा बढी मतान्तरको यो परिणाम नेपाली राजनीतिमा एउटा युगान्तकारी सन्देशजस्तै बन्यो। त्यसैले यो चुनावी जित पुरानो राजनीतिक संरचनाप्रति मतदाताले दिएको नयाँ उत्तर बनेको छ।

तथ्यांकहरूका अनुसार निर्वाचनमा युवा मतदाताहरूको सहभागिता विगतका चुनावभन्दा २० प्रतिशत बढी थियो। जसमा जेनजीको भूमिका निर्णायक रह्यो।

बालेनको परिवार, पृष्ठभूमि र चेतना

काठमाडौँको गैरीगाउँमा जन्मिएका बालेन्द्र शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्। मध्यमवर्गीय परिवारमा हुर्किएका उनले बाल्यकालदेखि अनुशासन र आत्मसंयम सिके। आफन्तका अनुसार उनी बाल्यकालदेखि कम बोल्ने तर गहिरो सोच्ने स्वभावका थिए। स्कुले जीवनमा उनी पढाइमा मात्र होइन, सामाजिक विषयमा पनि गहिरो रुचि राख्थे।

साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरे। त्यसपछि भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरे। इन्जिनियरका रूपमा काम गर्दा उनले देशका धेरै भूभाग घुम्ने अवसर पाए। दुर्गम पहाडदेखि तराईका सहरसम्म पुग्दा उनले विकासका असमानता र प्रशासनिक कमजोरीहरू नजिकबाट देखेका थिए।

यही अनुभवले उनलाई एउटा प्रश्नतर्फ डोर्‍यायो- नेपालको समस्या स्रोतको कमी हो कि नेतृत्वको पनि? धेरै पछि उनले जवाफ खोजे- समस्या नेतृत्व र व्यवस्थापनको पनि हो। उनको व्यक्तिगत आचरणमा पनि यो गम्भीरता झल्किन्छ। दैनिक जीवनमा उनी सादा जीवनशैली अपनाउँछन्- कम खर्चिलो, पर्यावरणमैत्री र स्वास्थ्यप्रति सचेत।

उनका साथीहरू भन्छन्, बालेन विवादबाट टाढा रहन्छन् तर अन्याय देख्दा चुप लागेर बस्दैनन्। यो विद्रोही नजरले उनलाई जोखिम उठाउने साहस दिएको छ। यसको उदाहरण काठमाडौँ महानगरको मेयर हुँदा सहरका अवैध संरचना हटाउने अभियानमा देखियो। बालेनको यो अभियानले ठूलाठूला प्रभावशालीहरूसँग पनि टक्कर लिएको थियो।

र्‍यापरदेखि सार्वजनिक नेतृत्वसम्म

राजनीतिमा आउनुअघि बालेनको पहिचान मुख्यतः संगीतसँग जोडिएको थियो। उनका र्‍याप गीतहरू युवामाझ लोकप्रिय थिए। ती गीत मनोरञ्जनका लागि मात्र थिएनन्। उनी गीतमार्फत सामाजिक असमानता, राजनीतिक भ्रष्टाचार र युवाको निराशाजस्ता विषय उठाउँथे। उनको कला वास्तवमा सामाजिक टिप्पणीको एउटा माध्यम बनेको थियो।

२०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर मैदानमा उत्रिँदा धेरैले यसलाई साहसी तर असम्भव प्रयास ठानेका थिए। परिणामले सबैलाई चकित पारिदियो।

बालेनले परम्परागत राजनीतिक दलका बलिया उम्मेदवारलाई पछि पार्दै काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाले। त्यसपछि सार्वजनिक सेवा सुधारका पहल र सहरी व्यवस्थापनका प्रयासले उनलाई राष्ट्रिय स्तरमा चर्चित बनायो। उनको लोकप्रियता सामाजिक सञ्जालमा सीमित रहेन। त्यो त वास्तविक राजनीतिक पुँजीमा रूपान्तरण भयो।

रास्वपाको घोषणापत्र र कार्यदिशा

रास्वपाबाट राजनीतिमा प्रवेश गरेका बालेनले पार्टीको घोषणापत्रलाई आफ्नो राजनीतिक दर्शनको आधार बनाएका छन्। रास्वपाको २०८२ को प्रतिनिधिसभा निर्वाचनका लागि जारी १०० बुँदे ‘नागरिक करार’ ले सुशासन, आर्थिक सुधार, सामाजिक समावेशीकरण, पूर्वाधार विकास र डिजिटल आधुनिकीकरणलाई जोड दिएको छ।

घोषणापत्रलाई ‘१०० नीतिगत खम्बा’ का रूपमा प्रस्तुत गरिएको छ, जसले नेपाललाई मध्यम आय भएको सम्मानजनक राष्ट्र बनाउने लक्ष्य राखेको छ। मुख्य कार्यहरूमा वार्षिक सात प्रतिशत आर्थिक वृद्धिदर कायम गर्दै पाँच वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब डलर पुर्‍याउने र प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि पुर्‍याउने उल्लेख छ। उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै आयात निर्भरता घटाउने नीति रास्वपाको छ।

रास्वपाले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने करार गरेको छ। सरकारी कार्यालयहरूमा बिचौलियाको भूमिका समाप्त गर्दै ‘अनलाइन, नट लाइन’ प्रणाली लागू गर्ने नीति रास्वपाले अघि सारेका छ। डिजिटल सुशासनमार्फत सेवा प्रवाहलाई पारदर्शी र कुशल बनाउने रास्वपाको लक्ष्य देखिन्छ।
यसैगरी राजनीतिक प्रणालीमा पनि सुधार गर्ने रास्वपाको योजना छ। त्यो भनेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री प्रणाली लागू गर्ने हो। राष्ट्रपति पदलाई गैरराजनीतिक बनाउँदै निर्वाचन कलेज विस्तार गर्ने नीति रास्वपाको छ।

सामाजिक समावेशीकरण गर्ने रास्वपाको सोच छ। युवा, महिला र सीमान्तकृत समुदायलाई अवसर प्रदान गर्दै हरेक क्षेत्रमा योग्यता प्रणालीलाई प्राथमिकता दिने रास्वपाको नीति छ। पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गर्नु पनि रास्वपाको प्राथमिकतामा परेको विषय हो।

बालेनले यी घोषणालाई कार्यान्वयन गर्न आफ्नो प्रशासनिक अनुभव प्रयोग गर्ने बाचा गरेका छन्। राष्ट्रिय स्तरमा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने उनको योजना छ।

जोखिम उठाउने निर्णय र भविष्यको बाटो

बाटो राष्ट्रिय राजनीतिमा प्रवेश गर्दा उनले फेरि एउटा असामान्य निर्णय लिएका छन्। सुरक्षित निर्वाचन क्षेत्र रोज्नुको सट्टा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सीधा प्रतिस्पर्धा गर्ने निर्णय गरे। धेरै विश्लेषकहरूले त्यसबेला उनको निर्णयलाई ‘राजनीतिक स्टन्ट’ पनि भनेका थिए। कतिपयले यसलाई ‘आत्मघाती जोखिम’ पनि ठाने। तर बालेन आफ्नो निर्णयमा स्पष्ट रहेछन् भन्ने कुरा निर्वाचन परिणामले देखाइसकेको छ।

उनले आफ्ना निकट साथीहरूसँग भन्ने गरेका थिए- ‘प्रधानमन्त्री बन्ने हो भने प्रधानमन्त्री भइसकेकालाई हराएर बन्नुपर्छ।’ यो उनको आत्मविश्वासको अभिव्यक्ति मात्र थिएन, यो त राजनीतिक दर्शनको संकेत पनि थियो। उनी सुरक्षित बाटो रोजेर नेतृत्वमा पुग्नेभन्दा कठिन बाटो रोजेर जनमत जित्न चाहन्थे। चुनावी अभियानका क्रममा उनी देशभर युवासँग संवाद गर्दै व्यापक यात्रामा निस्किए। जबकि धेरै स्थापित नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा सीमित थिए।

मधेशबाट उठेको पहिलो ठूलो राष्ट्रिय लहर

बालेनको चुनावी अभियानको एउटा रोचक पक्ष के थियो भने उनले आफ्नो अभियानलाई काठमाडौँ वा सहरी वर्गमा सीमित राखेनन्। उनले मधेशलाई आफ्नो आधार बनाए। मधेशको छोरो मुलुकको प्रधानमन्त्री बन्न लागेको भनेर मधेशी जनतासँग मत मागे। त्यो नाराले उनलाई त्यहाँ निकै चर्चित बनयो। यतिसम्म कि उम्मेदवार नचिने पनि मतदाताहरू घण्टीमा भोट हाल्ने अवस्थामा पुगे।

निर्वाचन परिणामअनुसार मधेश आन्दोलनपछि जन्मिएका मधेशी दल सबै सेलाए। पुराना दल पनि थला परेका छन्। बालेन रास्वपा प्रवेशपछि मधेश झरेका थिए। उनले जनकपुरमा आयोजित उद्घोष सभामा अत्यन्त सरल भाषामा संघीयताको मर्म व्याख्या गर्दै भनेका थिए- ‘जनकपुरका प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौँ धाउनुपर्ने अवस्था छ। अधिकार माग्न होइन, पशुपतिनाथ दर्शन गर्न काठमाडौँ जाने हो।’ यो उनको अर्थपूर्ण भाषण मधेशमा भुसको आगोझैँ फैलियो र मतमा सहयोग मिल्यो।

मधेशमा उनका पक्का सारथी थिए- खगेन्द्र कर्ण। उनको रणनीति फेरि अनौठौ थियो। उनले मधेशलाई मोदीको गुजरातझैँ आकलन गरे। मोदीले कुनै बेला गुजरातमा भाजपाका पक्षमा स्विप गराएका थिए। त्यसैगरी बालेनले पनि रास्वपाको पक्षमा मधेश स्विप गराउने गरी तयारी गरेका थिए। अमरेशकुमार सिंह, खगेन्द्र कर्ण, मनीष झासहितका टोलीले यसमा मिलेर काम गरेका थिए। जसमा बालेनले साँच्चै मधेश स्विप गराए।

बालेनको बोल्ने शैलीले मधेशी जनमतमा ठूलो प्रभाव पार्‍यो। नेपालको इतिहासमा मधेश क्षेत्रका मतदाताले पहिलो पटक काठमाडौँ केन्द्रित होइन, राष्ट्रिय वैकल्पिक नेतृत्वका रूपमा बालेनलाई समर्थन गरेको विश्लेषकहरूको भनाइ छ।

पुरानो राजनीतिक ढाँचाप्रति असन्तुष्ट मधेशी मतदाताको वैकल्पिक खोज पनि हो। जुन यसपटक मधेशमा देखियो। मधेशको प्रतिनिधित्वको दाबी गर्दै अन्तर्राष्ट्रिय कूटनीतिक समर्थन खोज्ने पुराना राजनीतिक प्रवृत्तिहरू पनि अब कमजोर हुने विश्लेषण गरिएको छ।

अब निराशा सम्बोधन

युवापुस्ताको निराशा चरमोत्कर्षमा पुग्दा भदौ २३ मा देशव्यापी प्रदर्शन भए, जसले पुराना दलहरूलाई थर्थर पारिदियो। जेनजी विद्रोहपछि उनलाई प्रधानमन्त्री पदको प्रस्ताव आएको चर्चा राजनीतिक वृत्तमा भएको थियो। तर उनले अस्वीकार गरेर जनताको म्यान्डेटबाट प्रधानमन्त्री बन्न चाहेका थिए। उनले सेनासँग गोप्य छलफल गरेर राष्ट्रिय सुरक्षालाई बलियो बनाउने र विद्रोहलाई शान्तिपूर्ण रूपमा सम्बोधन गर्ने योजना अघि सारेका थिए।

यो कदमले उनको शान्त स्वभाव र विद्रोही नजरलाई एकसाथ देखायो- जोखिम उठाएर पनि स्थिरता कायम गर्ने साहस। अब उनी प्रधानमन्त्री बन्ने बाटोमा छन्, तर आफ्नै सर्तमास् पुराना नेताहरूलाई हराएर, जनताको आशा पूरा गरेर।

नयाँ राजनीतिक कथाको सुरुवात

बालेनको विजयलाई विश्लेषकहरूले नेपाली राजनीतिमा नयाँ युगको थालनीका रूपमा हेरेका छन्। उनीहरूका अनुसार बालेनको विजय एउटा व्यक्तिको लोकप्रियताको परिणाम होइन, यो मतदाताको बदलिँदो मनोविज्ञानको अभिव्यक्ति पनि हो।

युवापुस्ताको निराशा, पुराना दलप्रतिको वितृष्णा र नयाँ नेतृत्वको खोज- यी सबै तत्त्व एक ठाउँमा जोडिँदा बालेन एउटा प्रतीक बने। चुनाव जित्नु मात्रै अन्तिम गन्तव्य होइन। अब उनको अगाडि अझ ठूलो जिम्मेवारी छ- जनताको अपेक्षालाई नीतिमा बदल्ने, विविध पृष्ठभूमिबाट आएका नेताहरूलाई एउटै राजनीतिक संस्कृतिमा ढाल्ने र परिवर्तनको आशालाई संस्थागत रूप दिने।

यही चुनौतीले अब बालेनको वास्तविक नेतृत्व क्षमता परीक्षण गर्नेछ। किनभने इतिहासले सधैँ एउटै प्रश्न सोध्छ- ‘चुनाव कसरी जितियो भन्ने होइन, जितपछि देशलाई कहाँ पुर्‍याइयो भन्ने।’

प्रकाशित: २४ फागुन २०८२ २१:१० | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast