काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खगेन्द्र सुनारले शिक्षकहरूविरुद्ध दिएको एउटा अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ। शिक्षकहरूको अपमान हुने गरी बोलेको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि उनको आलोचना भएको हो।
सुनारले शिक्षकलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्ने अभिव्यक्ति दिएका छन्। उनले भिडियोमा भनेका छन्, ‘त्यो मास्टरले हिजो हामीलाई पढाउने बेलामा जसरी कन्सिरीको रौँ तानेर टाउको ट्वाक्क डस्टरले हान्थ्यो नि, त्यसलाई उत्तानो पारेर त्यसको पैतालामा भाटा हान्नुपर्छ।’
सुनारले शिक्षकलाई पढाइ नपुगेको र आफू पनि शिक्षा संकायको विद्यार्थी तथा शिक्षक भएको बताएका छन्। उनले भनेका छन्, ‘त्यो मास्टरलाई पढाइ नपुगेको हो। मैले पनि शिक्षा संकाय पढेको हुँ। पढाउने कसरी हो र शिक्षण विधि के हो भन्ने कुरा म पनि टिचर हुनुको नाताले मलाई पनि थाहा छ। त्यसैले गर्दा जसरी हामीलाई डस्टरले टाउकाँ ट्वाक्क हान्थ्यो, त्यसलाई पनि ठाडो खुट्टा पारेर भाटा हान्न तयार हुनुपर्छ।’
नवनिर्वाचित सांसदको यस्तो अभिव्यक्तिलाई लिएर नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।
‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित एकजना माननीय सांसदबाट शिक्षक र शिक्षण पेसाप्रति अभिव्यक्त अमर्यादित शब्द र आशयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।
महासंघले सुनारको नाम उल्लेख नगरी पदीय गरिमालाई बिर्सेर गरिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ। साथै महासंघले उक्त अभिव्यक्तिप्रति क्षमा माग्न र आइन्दा यस्ता विचार व्यक्त नगर्न सम्बन्धित व्यक्तिलाई सचेत गराएको छ।
‘नेपाली शिक्षक-कर्मचारी पेसागत मर्यादा र स्वभिमानविपरीतका कुनै पनि अभिव्यक्ति र व्यवहार महासंघलाई ग्राह्य हुन सक्दैन’, महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक भिडियोमा दिएको अभिव्यक्ति कहिलेको हो भन्ने खुलेको छैन। सुनार बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित भएका हुन्।





