सुर्खेत- प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका सबै मतदानस्थलमा कर्मचारीहरू पुगेका छन्। सोमबार प्रदेश निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री लिएर गएका कर्मचारीहरू मतदानस्थल पुगिसकेको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरूङले जानकारी दिए।
मतदान अधिकृत, सहायक मतदान अधिकृतसँगै अन्य कर्माचारी र सुरक्षाकर्मीहरू निर्वाचनको सामान लिएर गएकोमा सम्बन्धित ठाउँमा पुगिसकेका गुरूङले बताए।
निर्वाचन गराउन खटिएका उनीहरूले ५१ प्रकारका सामग्रीहरू लिएर गएका छन्। आइतबर मतदान अधिकृतको टोलीले सबै सामान रुजु गरेको र सोमबर बिहानदेखि ती सामग्रीहरु बुझेर कार्यक्षेत्रमा खटिन सुरु गरेको प्रदेश निर्वाचन अधिकारी गुरुङ जानकारी दिए।
निर्वाचनमा खटिने कर्मचारीहरूले मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्टेप्लर, लाहा, सिल गर्ने डोरीलगायतका ५१ प्रकारका सामग्रीहरु लिएर मतदास्थल गएका हुन्।
कर्णालीका दुर्गम हिमाली क्षेत्रमा भने हेलिकोप्टरबाट मतदान सामग्री र कर्मचारीहरू पुगेका छन्। उनले भने, ‘हुम्लाका ८ मतदान केन्द्र, डोल्पाका २० मतदान केन्द्र र मुगुका ३ मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारीहरूलाई हेलिकोप्टरबाट पठाइएको छ।’
१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र छन्। यहाँ १० लाख ३७ हजार २५० मतदाता रहेका छन्।





