पोखरा-कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन्।
कास्कीका तीनवटा निर्वाचन क्षेत्रमा रास्वपाले कास्की ३ बाट खाता खाेलेकाे हाे । कास्की १ र २ मा समेत रास्वपाकाे जित सुनिश्चित झै छ।
गण्डकी प्रदेश निर्वाचन कार्यालयका अनुसार बिनाले ३७ हजार ७५० मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरेका छन् ।
रास्वपाबाट गण्डकीमा उनी प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार हुन् । राजनीतिअघि सामाजिक कार्यमा निकै कृयाशील रहँदै आएकी थिइन् । उनले झण्डै २५ हजार फराकिलो मतान्तरले चुनाव जित्न सफल भएकी छन्।
कास्की ३ मा २०७४ र ०७९ काे चुनाव एमाले जितेकाे क्षेत्र हाे । ०७९ काे चुनाव जितेकाे नेकपा एमाले अहिले तेस्रो स्थानमा छ । एमालेका दामोदर पौडेल बैरागीले ७ हजार ९०६ मत ल्याएका छन् ।
नेकपाका गोपाल गिरीले १ हजार ४५६ मत ल्याएका छन् । राप्रपा अर्जुन खनालले १ हजार ४०६ मत पाए।
कास्की ३ मा कुल १५ जना उम्मेदवार थिए । बिहीबारकाे मतदानमा कुल ६५ हजार ४०७ मत खसेकाे थियाे । यहाँ कुल १ लाख ७ हजार ५६० मतदातामध्ये करिब ६० दशमलब ८१ प्रतिशत मत खसेकाे हाे ।





