काठमाडौँ- आफूलाई वैकल्पिक राजनीतिक शक्ति भन्दै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अत्यन्त कमजोर नतिजासहित राष्ट्रिय राजनीतिको प्रतिस्पर्धाबाट ओझेलमा परेको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संरक्षक रहेको यो पार्टीले प्रत्यक्षतर्फ कुनै सिट ल्याउन सकेन भने समानुपातिकतर्फ पनि देशभरबाट २४ हजार ६७५ मत ल्याएको छ। समानुपातिकतर्फ तीन लाख २० हजारभन्दा बढी मत ल्याएका दलले मात्रै सिट संख्या पाएका छन्।
निर्वाचनमा कमजोर मत ल्याएपछि तत्कालीन नेकपा माओवादीबाट विद्रोह गरेर प्रलोपामा समाहित भएका जनार्दन शर्मा र सुदन किराँती तथा रास्वपाबाट प्रलोपामा प्रवेश गरेका सन्तोष परियार अब पाँच वर्ष संसद्बाहिर रहने भएका छन्।
प्रलोपाले प्रत्यक्षतर्फ ९२ क्षेत्रमा उम्मेदवारी दिएको थियो। तीमध्ये गोरखाका दुई क्षेत्रबाट उम्मेदवारी फिर्ता लिइयो। बाँकी अधिकांश क्षेत्रका उम्मेदवारको जमानत जफत भएको छ।
चुनावी परिणाम सार्वजनिक भएपछि पार्टीभित्रै नेतृत्व, रणनीति र संगठनात्मक तयारीमाथि प्रश्न उठ्न थालेका छन्। पाँच सदस्यीय अध्यक्ष मण्डल रहेको यो पार्टीको नेतृत्वमा दुर्गा सोब, सुदन किराँती, ओजस्वी भट्टराई, सन्तोष परियार र सुरेन्द्रप्रसाद जयसवाल छन्। अध्यक्ष परिषद्का सदस्यमध्ये सुरेन्द्रप्रसाद जयसवालबाहेक अरू कोही पनि प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिएनन्।
पार्टीका विभिन्न तहका नेताहरूले चुनावमा सक्रियता नदेखाएको र कतिपयले त अन्य दलका उम्मेदवारलाई समर्थन गरेको आरोप पार्टीभित्रबाटै उठेको छ।
ललितपुर २ का उम्मेदवार कृष्ण महर्जनले चुनावी अभियानमा पार्टी नेतृत्वबाट कुनै साथ नपाएको गुनासो गरे। ‘पार्टी नेतृत्व चुनावमा देखिएन। प्रत्यक्ष उम्मेदवारहरूलाई कुनै सहयोग भएन। प्रत्यक्ष उम्मेदवारहरू आफ्नै बलबुँतामा स्रोतसाधन परिचालन गरेर चुनाव लड्नुपर्यो,’ उनले हिमालप्रेससँग भने।
महर्जनका अनुसार प्रत्यक्ष उम्मेदवारहरूले ल्याएको मत पनि व्यक्तिगत प्रयासकै परिणाम हो। ‘पार्टीको हिसाबले कुनै पनि साथ समर्थन रहेन। न भौतिक उपस्थिति, न भौतिक समर्थन, न आर्थिक सहयोग केही पनि भएन,’ उनले भने।
केही नेताहरू खुलेरै अन्य दलको पक्षमा लागेका थिए। मौन अवधि सुरु हुनुअघि कृष्ण महर्जनले नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनलाई समर्थन गरे। उनी प्रलोपा बागमती प्रदेश अध्यक्षसमेत हुन्। कतिपय नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी, नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा मत मागेका थिए।
ललितपुरकै एक नेताले यसलाई राजनीतिक अपरिपक्वता भनेका छन्। महर्जन पार्टी जिम्मेवारीबाट अलग हुने तयारीमा छन्।
पार्टीको मुख्य लक्ष्य रुकुम पश्चिममा जनार्दन शर्मालाई जिताउने र तीन प्रतिशत थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टी बन्ने थियो। पार्टीका नेताहरूका अनुसार चुनावको मुखमा केन्द्रीय तहकै नेताकार्यकर्ताले धमाधम पार्टी परित्याग गरेपछि संगठनात्मक आधार कमजोर हुँदै गएको थियो।
केही क्षेत्रमा गठबन्धन गरे पनि त्यसको प्रभाव देखिएन। रुकुम पश्चिम, गोरखा, पर्वत तथा पुरानो राप्ति अञ्चलका जिल्लामा गरिएको सहकार्यबाट अपेक्षित परिणाम नआएको पार्टी नेताहरू बताउँछन्।
मंसिर ७ गते जेनजी युवा समूह, सन्तोष परियार र जनार्दन शर्माबीच पार्टी एकता भएपछि डा.बाबुराम भट्टराईलाई पार्टीले संरक्षकको भूमिकामा राखेको थियो। डा. भट्टराईले आफू सक्रिय राजनीति र चुनाव नलड्ने भन्दै युवालाई नेतृत्व हस्तान्तरण गरेको बताउँदै आएका थिए।
तर फागुन ६ गते उनले गोरखा-२ बाट उम्मेदवारी दिएपछि पार्टीभित्र मात्रै होइन राष्ट्रिय राजनीतिमा पनि तरंग पैदा भएको थियो। गोरखामा प्रलोपा क्रमशः कमजोर बन्दै गएको थियो। धेरैजसो कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीतिर गइसकेका थिए। उम्मेदवारी दर्ताको केही दिनअघि गोरखा पुगेका डा. भट्टराई त्यतिबेला चुनाव लड्ने तयारीमा थिएनन्।
क्षेत्र नम्बर २ मा प्रलोपाबाट पूर्वरथि बाबुराम श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरिएको थियो। तर डा.भट्टराई गोरखा पुगेपछि कार्यकर्ताले उनलाई उम्मेदवार बन्न दबाब दिएका थिए। त्यतिबेला प्रलोपा गोरखाका एक नेताले भनेका थिए, ‘बाबुराम भट्टराई नउठ्ने भनेर पाइन्छ? हारे हारिन्छ, जिते जितिन्छ तर उठ्नुपर्छ।’
कार्यकर्ताले श्रेष्ठलाई चुनावमा सहयोग नगर्ने संकेत दिएपछि अन्ततः डा.भट्टराईले उम्मेदवारी दिएका थिए। चुनावी माहोल आफ्नो पक्षमा नदेखिएपछि काठमाडौँमा रहेका नेताकार्यकर्ताको दबाबमा उनले फागुन ११ गते उम्मेदवारी फिर्ता लिएका थिए।
प्रलोपाका एक नेता कार्यकर्ता दबाब दिँदैमा डा.भट्टराईले उम्मेदवारी दिनु र फिर्ता लिनुले राम्रो सन्देश नगएको बताउँछन्। उनी भन्छन्, ‘उहाँ जत्तिको नेता/लिडरले स्ट्यान्ड लिन सक्नुपर्थ्यो। त्यो देखिएन। त्यसकारण पनि पार्टीका साथीहरूमा अन्योल र मनोबल कमजोर भयो।’
गोरखा २ बाट डा.भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखा १ बाट गोपालबाबु श्रेष्ठलाई पनि उम्मेदवारी फिर्ता लिन लगाइएको थियो। बाबुराम र गोपालले उम्मेदवारी फिर्ता लिएपछि प्रलोपाको मत आफ्नो पक्षमा आउने आशा नेपाली कांग्रेस, नेकपा एमाले र अन्य दलले गरेका थिए। अन्ततः प्रलोपाले नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको थियो।
गोरखामा कांग्रेसलाई सघाउने निर्णयलाई कार्यकर्ताले अनुचित ठाने। कार्यकर्ताको चाहना रास्वपालाई सघाउनुपर्छ भन्ने थियो। कांग्रेस, एमाले, माओवादीको विकल्पमा भनिएको पार्टीले पुराना दललाई समर्थन गर्नुको सट्टा नयाँ दललाई सहयोग गर्नुपर्छ भन्ने कार्यकर्ताको बुझाइ थियो। केन्द्रीय तहमा रास्वपा र डा.भट्टराईबीच सौहार्दपूर्ण सम्बन्ध थियो। प्रलोपाले दुवै क्षेत्रमा कांग्रेसलाई सहयोग गरे पनि दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सानदार जित निकाले।
पार्टीभित्रका कतिपय नेताका अनुसार डा. भट्टराई चुनावी अभियानमा खुलेर सक्रिय भएको भए परिणाम केही फरक आउन सक्थ्यो। प्रलोपा गण्डकी प्रदेश अध्यक्ष नेत्र चापागाईंले भने पार्टीको रणनीतिक भ्रम र नेतृत्वको ढुलमुले भूमिकालाई असफलताको प्रमुख कारण मानेका छन्। ‘चुनावको मतपरिणामले प्रलोपा लगभग विघटनको अवस्थामा पुगेजस्तो देखिएको छ। पुराना पार्टीका कार्यकर्ताले आफ्नै पार्टीमा मत हाल्न चाहन्थे भने नयाँप्रतिको आकर्षण घण्टी चिह्वमा केन्द्रित भयो। मतदाता दुईतिर केन्द्रित हुँदा अरू नयाँ पार्टीमा मत आउने सम्भावना निकै कम भयो,’ उनले भने।
उनका अनुसार पार्टीले वैकल्पिक शक्तिहरूसँग ध्रुवीकरण गर्ने निर्णय गरे पनि त्यसलाई कार्यान्वयन गर्न सकेन। ‘बिहान नयाँतिर, बेलुका पुरानातिर ढुलमुल भएर हिँड्दा पार्टी कमजोर भयो। कसैले माटो चिह्वमा, कसैले सूर्यमा, कसैले रूखमा, कसैले घण्टीमा मत हाल्नुस् भन्न थालेपछि पार्टी वैचारिक र संगठनात्मक रूपमा विघटनको संघारमा पुगेको थियो,’ उनले भने।
केन्द्रीय सदस्य रोशन पोखरेलले भने चुनावी परिणामलाई व्यापक राजनीतिक परिवर्तनको संकेतका रूपमा हेर्नुपर्ने बताए। ‘२०८२ को चुनाव दलहरूले सोचेभन्दा निकै फरक परिणाम आयो। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सुनामी आयो। त्यो सुनामीमा हाम्रोजस्तो सानो पार्टी पनि पर्यो,’ उनले भने।
उनका अनुसार मतदाता पुराना दलको विकल्प खोजिरहेका थिए। ‘नयाँ पार्टी भन्नेबित्तिकै देशभर रास्वपाको माहोल छ भन्ने भयो। विचार र दृष्टिकोण के हो भन्नेभन्दा पनि बाहिरी माहोल हेरेर मत गयो। पुराना पार्टी र रास्वपाबीचमा हामी पर्यौँ,’ उनले हिमालप्रेससँग भने।
पोखरेलका अनुसार चुनावी परिणामले पुराना दलप्रतिको असन्तुष्टि भने प्रस्ट देखाएको छ। ‘जस्तो परिणाम आए पनि पुराना पार्टीका भ्रष्ट सोच, दम्भ र अहंकारलाई मतदाताले चुनौती दिएका छन्। हाम्रो पार्टीका अध्यक्ष परिषद्का पाँचैजना बसेर केही दिनमै केन्द्रीय समितिको बैठकको मिति तय गर्छन्। त्यहाँ चुनावको निर्मम समीक्षा हुन्छ र पार्टी पुनर्गठनको प्रक्रिया अघि बढ्छ,’ उनले भने।
उनका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीले सरकारलाई गुणदोषका आधारमा समर्थन गर्ने रणनीति पनि बनाइरहेको छ। ‘समाजवादी व्यवस्थाका निम्ति वातावरण बिस्तारै अनुकूल हुँदै गएको छ। पार्टीले सांगठनिक रूपमा पुनर्गठन गर्दै नयाँ ढंगले अघि बढ्ने तयारी गरिरहेको छ,’ उनले भने।
प्रलोपाको चुनावी परिणामबारे भने डा.भट्टराई निराश छैनन्। बाबुराम निकट एक नेताले भने, ‘उहाँ निराश हुनुहुन्न। नयाँ ढंगले अघि बढ्नुपर्छ, चुनावको निर्मम ढंगले समीक्षा गर्नुपर्छ, वातावरण बिस्तारै अनुकूल हुन्छ, आत्तिनुपर्ने अवस्था छैन, सम्भावना अझै छ भन्नुभएको छ।’
‘चुनाव नतिजाले पुराना दलप्रति असन्तुष्टि पुष्टि’
प्रलोपाका अध्यक्ष परिषद् सदस्य सुरेन्द्रप्रसाद जयसवालले भने चुनावी परिणामले पुराना राजनीतिक दलप्रति जनताको असन्तुष्टि देखाएको र विकल्पको खोजी तीव्र भएको बताए।
उनले पार्टी नयाँ भएकाले संगठन विस्तार, चुनाव चिह्न र नेतृत्वलाई जनस्तरसम्म स्थापित गर्न पर्याप्त समय नपाएको बताए। ‘हामीले भर्खरै पार्टी गठन गरेका थियौँ। चुनाव जित्नु वा नजित्नु एउटा पक्ष हो। तर नेपाली जनमत विकल्पको राजनीतितिर गएको छ भन्ने कुरा यो परिणामले देखाएको छ,’ उनले भने।
जयसवालले पार्टीले पाएको मतलाई लज्जास्पद भन्न नमिल्ने पनि बताए। उनका अनुसार विगतमा देशको नेतृत्व गरिसकेका केही राजनीतिक दलसमेत यसपटक समानुपातिकतर्फको थ्रेसहोल्ड पार गर्न नसक्नुले राजनीतिक प्रणालीबारे प्रश्न उठाएको छ।
उनले चुनावी परिणामबारे पार्टीको अध्यक्ष परिषद्को बैठकमा विस्तृत छलफल हुने बताए। ‘बैठकमा चुनावको निर्मम समीक्षा हुन्छ,’ जयसवालले भने।
पार्टी नेतृत्वले उम्मेदवारसँग पर्याप्त घरदैलो नगर्दा मतपरिणाम प्रभावित भएको भन्ने आरोप भने उनले अस्वीकार गरे। वैकल्पिक राजनीतिक धार र नयाँ नेतृत्व प्रणाली अघि सार्ने प्रयासकै कारण पार्टीले चुनाव लडेको उनको भनाइ छ।
जयसवालले यसपटक केही नयाँ दलका उम्मेदवारले जित हासिल गर्नुमा व्यक्तित्वको प्रभाव पनि महत्त्वपूर्ण रहेको बताए। ‘कतिपय उम्मेदवारको जित घण्टी चुनाव चिह्न र काठमाडौँ महानगरका प्रमुख बालेन शाहको लोकप्रियतासँग जोडिएको देखिन्छ,’ उनले भने।
प्रलोपाका कुन उम्मेदवारले कति मत ल्याए ? सूची
ताजिना विष्ट : सुनसरी २, मत १७६
प्रमोद पौडेल : सुनसरी ३, मत ११९
राजेन्द्र मण्डल : मोरङ ५, मत ८२
प्रकाश काफ्ले : पाँचथर, मत ११५
राजा राम (लडाई मुखिया) : रौतहट १, मत ९१
सुरेन्द्र प्रसाद जयसवाल : रौतहट २, मत ८५९
उपेन्द्र मुखिया विन : रौतहट ३, मत ७०
सत्यनारायण भगत : रौतहट ४, मत ७३
हमिद मन्सुरी : बारा १, मत १४
शिवचन्द्र कुशवाहा : बारा २, मत १३,९६
दिनेश सिंह (रञ्जित पटेल) : बारा ३, मत ११
अवधेश कुशवाहा : बारा ४, मत ६१
अभिताभ बचन दास : पर्सा २, मत ३३०
लुमडी धितान (लोचन) : सर्लाही १, मत २१५
नरेश राम : सर्लाही २, मत ४९
सविउल शेख : सर्लाही ३, मत १४४
रामचरित्र सहनी : सर्लाही ४, मत २९९
राकेश कुमार राय : धनुषा ४, मत ३५
पुजन कुमार सिंह : सिरहा, ३ मत ६४
दावा स्याङ्बो तामाङ : रसुवा १, मत १०
राजन गौतम : नुवाकोट १, मत ८८
राजन प्रसाद रेग्मी : धादिङ २, मत ४९
वीरबहादुर तामाङ : धादिङ १, मत १४२
विकास कामी : चितवन १, मत ७६
प्रकाश पाण्डे : चितवन २, मत ५८
बुद्धिराज पाख्रिन : चितवन ३, मत २४६
तेजप्रसाद उप्रेती : मकवानपुर १, मत ५०
सन्तोष विष्ट : मकवानपुर २, मत ७२
निर्मल स्याङ्तान : सिन्धुली २, मत १०४
ई.वीरेन्द्र श्रेष्ठ : रामेछाप मत ११५
कमल खत्री : दोलखा मत ६०
ज्ञानेन्द्र कुमार श्रेष्ठ : काभ्रे १, मत ५६
रमेश जि.सी. : काभ्रे २, मत १४४
सिद्धिराम खाइजु : भक्तपुर १, मत ९५
जन्मदेव जैसी : भक्तपुर २, ३०
रोहित बास्तोला : ललितपुर १, मत ३३
कृष्ण महर्जन : ललितपुर क्षेत्र २, मत ७३
विष्णुराज खड्का : ललितपुर ३, मत ५६
सविन सिग्देल : काठमाडौँ १, मत ३१
बालचन्द्र श्रेष्ठ : काठमाडौँ २, मत ५३
डा.शेखर अर्याल : काठमाडौँ ३, मत १०
दत्त बुढा : काठमाडौँ ४, मत १६
विष्णु श्रेष्ठ : काठमाडौँ ५, मत ५०
राकेश अर्याल : काठमाडौँ ६, मत १९
अमिन ताम्राकार : काठमाडौँ ७, मत ७५
राजु रोका : काठमाडौँ ९, मत ६४
केशव अर्याल : काठमाडौँ १०, मत ७५
मानसिंह महतो : नवलपुर २, मत ५६
कर्णबहादुर गुरुङ : कास्की क्षेत्र १, मत ७८
दिपक भण्डारी : कास्की क्षेत्र २, मत १००
रनबहादुर विश्वकर्मा : स्याङ्जा क्षेत्र १, मत ३०
चित्र सापकोटा : बाग्लुङ १, मत ६०
पदमबहादुर कुँवर : बाग्लुङ क्षेत्र २, मत ४३
देवेन्द्र कामी : म्याग्दी मत ३८
चन्द्रभूषण पाठक आलोक : नवलपरासी २, मत १३७
डा.श्री बहादुर कुँवर : रुपन्देही १, मत ३३
नारायण नागिला : रुपन्देही २, मत १००
गोविन्द काराखेती : रुपन्देही ३, ४६
सुनील चौधरी : रुपन्देही ५, मत ५३५
बोधराज जैसी : पाल्पा २, मत २८
पुष्करनाथ आचार्य : अर्घाखाँची मत २८
श्याम गहतराज : प्युठान, मत ५०
कृष्णा केसी : बाँके १, मत १,२४०
माजित अलिसेख : बाँके २, मत ३०
तेज प्रसाद भण्डारी : बाँके ३, मत ४८
प्रतीक अधिकारी : दाङ २, मत ७४
सन्दीप पुन : रुकुम पूर्व मत २०३
जनार्दन शर्मा : रुकुम (पश्चिम भाग) मत १४,३४६
जटिल कार्की : हुम्ला मत २४८
मन ऋषि धिताल : जुम्ला मत ११२
विकास बुढा : डोल्पा मत २१
ऐटन कुमार मल्ल : मुगु मत २२
जनक शाह : कैलाली १, मत २१६
डम्मर रावल : कैलाली २, मत ३७
लक्षिराम थारु : कैलाली ३, मत १०२
दिपक कुमार डि सी : बाजुरा मत ९७
पुष्प न्यौपाने : अछाम २, मत ११३
देपेन्द्रबहादुर साही : कञ्चनपुर १, मत ३६
धर्मानन्द जोशी : कञ्चनपुर २, मत १९५






