संग्रहालयका लागि निर्देशक तामाङले गरे १७१ फिल्मका पोस्टरसहित १० पटकथा हस्तान्तरण

हिमाल प्रेस २५ फागुन २०८२ १७:५७ | Monday, March 9, 2026
14
SHARES
संग्रहालयका लागि निर्देशक तामाङले गरे १७१ फिल्मका पोस्टरसहित १० पटकथा हस्तान्तरण

काठमाडौँ- नेपाली फिल्मको इतिहास संरक्षण गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले फिल्म संग्रहालय कार्य गरिरहेको छ। यसैबीच निर्देशक दीपक तामाङ (लामा) ले महत्वपूर्ण सामग्री हस्तान्तरण गरेका छन्।

उनले तामाङ फिल्मका १ सय २० पोस्टर, नेपाली फिल्मका ५१ पोस्टर र १० वटा फिल्मका पटकथा बोर्डलाई हस्तान्तरण गरेका हुन्।

बोर्डमा सोमबार आयोजित एक कार्यक्रममा उनले अध्यक्ष दिनेश डीसीलाई उक्त सामग्री औपचारिक रूपमा बुझाएका छन्।

कार्यक्रममा आदिवासी जनजाति फिल्मकर्मी महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, बोर्ड सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट तथा गणेश प्रसाद सुवेदी लगायतको उपस्थिति थिए।

हस्तान्तरण कार्यक्रममा निर्देशक तामाङले आफूले निर्देशन गरेका ७८ वटा फिल्मका सम्पूर्ण स्क्रिप्ट पनि क्रमशः बोर्डलाई हस्तान्तरण गर्ने जानकारी दिए।

केही फिल्मका स्क्रिप्ट हराएकाले पुनः टाइप गरिरहेको र तयार हुनेबित्तिकै बोर्डलाई उपलब्ध गराइने उनले बताए।

उनले नेपाली फिल्मको इतिहास जोगाउन चलचित्र विकास बोर्डले थालेको ऐतिहासिक चलचित्र संग्रहालय निर्माण अभियानमा आफू र आफ्नो टिम सधैं सहयोग गर्न तयार रहेको पनि बताए।

चलचित्र विकास बोर्डले नेपाली फिल्मका पोस्टर, पटकथा तथा महत्वपूर्ण दस्तावेजहरू संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण प्रक्रिया अघि बढाइरहेको छ।

संग्रहालयले नेपाली फिल्मको इतिहास, अध्ययन तथा अनुसन्धानका लागि महत्वपूर्ण केन्द्र बन्ने बोर्डको अपेक्षा गरिएको छ।

प्रकाशित: २५ फागुन २०८२ १७:५७ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast