रुकुम पश्चिममा १२ मध्ये ९ उम्मेदवारको जमानत जफत

हिमाल प्रेस २५ फागुन २०८२ १७:४३ | Monday, March 9, 2026
18
SHARES
रुकुम पश्चिममा १२ मध्ये ९ उम्मेदवारको जमानत जफत

काठमाडौँ– रुकुम पश्चिमका १२ मध्ये नौ उम्मेदवारको जमानत जफत भएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेवादरको धरौटी जफत भएको हो।

कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेदवारको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन्।

जिल्लामा ६२ हजार ९६७ मत खसेकामा कूल ५९ हजार ५२३ मत सदर भएको छ। यसको १० प्रतिशत अर्थात् पाँच हजार ९५३ मत ल्याउन नसक्दा नौ उम्मेदवारको जमानत जफत भएको हो।

जमानत (धरौटी) जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेकपा (एमाले) का नन्दराम देवकोटा, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, नेकपा (संयुक्त) का शेरबहादुर केसी, आम जनता पार्टीकी प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका शाहीले चार हजार ७६, नेकपा (एमाले) का देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्काले २२८, राष्ट्रिय जनमोर्चाका श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका केसीले ८४, नेकपा (संयुक्त) का केसीले ५४, आमजनता पार्टीका नेपालीले ४५ र नेपाल मजदुर किसान पार्टीका विकिले १५ मत प्राप्त गरेका थिए।

रुकुम पश्चिमबाट विजयी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्माले २१ हजार ६०९, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले १६ हजार ६६१ र प्रगतिशिल लोकतान्त्रिक पार्टी उम्मेदवार जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएका थिए। निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष निर्वाचनमा सहभागी उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ।

प्रकाशित: २५ फागुन २०८२ १७:४३ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast