काठमाडौँ- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा हेरिएको छ।
यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा चार पटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा भइरहेको छ। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन यस निर्वाचनमा होमिएका हुन्।
आज बिहान ६ बजेसम्मको मतपरिणामअनुसार बालेनले ८१४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका प्रतिद्वन्द्वी केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्।
हालसम्म कुल १ हजार ४ सय मत गणना भइसकेको छ। मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन आउन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





