काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री डा.डिला संग्रौला पन्तले पार्टी सभापतिको राजीनामाले मात्र वर्तमान समस्या समाधान नहुने बताएकी छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा नआउनुमा सभापति वा एक व्यक्तिलाई मात्र जिम्मेवार ठहर गर्नु गलत हुने उनको भनाइ छ।
केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै उनले नेपाली कांग्रेस ३५ वर्षदेखि सरकार र लोकतान्त्रिक आन्दोलनको नेतृत्वमा रहे पनि अहिले खुम्चिनुका कारणहरूबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गरिन्। पार्टीको कमजोरी व्यक्तिगत नभई संरचनागत र दीर्घकालीन भएको उनले तर्क गरिन्।
उनले हालको समस्या समाधान गर्दै नियमित महाधिवेशनमार्फत पार्टीलाई पुनः एकताबद्ध बनाउनुपर्नेमा जोड दिइन्। विशेष महाधिवेशनमार्फत ल्याइएको नेतृत्वको सन्देश जनतासम्म प्रभावकारी रूपमा पुग्न नसकेको स्वीकार गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन संगठन पुनर्संरचना आवश्यक रहेको बताइन्।
संग्रौलाले ५० दिनको नेतृत्व वा कार्यकालका आधारमा कुनै व्यक्तिको क्षमता मूल्यांकन गर्नु उपयुक्त नहुने भन्दै लामो समयदेखि जम्मा भएको असन्तोष यस पटकको चुनावी परिणाममा देखिएको बताइन्। पटकपटक सत्तामा रहँदा पनि जनताका अपेक्षा अनुसारको डेलिभरी दिन नसक्दा मतदाता निराश भएको उनको विश्लेषण थियो।
उनले अब कांग्रेस सत्ताको राजनीतिभन्दा बाहिर रहेकाले संसद् र सडक दुवैमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन्। महँगी, बेरोजगारी र सुशासनजस्ता जनसरोकारका मुद्दामा सक्रिय हुनुपर्ने भन्दै आवश्यक परे सडक आन्दोलनसमेत गर्नुपर्ने बताइन्।
उनले पार्टीलाई आधुनिक र प्रभावकारी बनाउन डिजिटल संरचना विस्तार, संगठनात्मक सुधार, पुस्तान्तरण सुनिश्चितता र विज्ञ तथा समाजमा प्रभावशाली व्यक्तिहरूलाई नीति निर्माण तहमा ल्याउनेजस्ता ७ बुँदे प्रस्ताव पनि अघि सारेकी छिन्। अन्ततः उनले नेतृत्वले जिम्मेवारीबाट भाग्ने होइन, चुनौती समाधान गर्दै पार्टीलाई पुनः सशक्त बनाउने संकल्प आवश्यक रहेको धारणा राखेकी छन्।




