चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ। वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ। हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउन सुरु गरिएको उनले जानकारी दिए। क्रमशः अन्य क्षेत्रहरुमा नियन्तित्र डढेलो लगाइनेछ।
उक्त कार्यका लागि निकुञ्जका ३० जना कर्मचारी खटिएका छन्। सूचना अधिारी मगरले भने, ‘नियन्त्रित डढेलो लगाएपछि ठूलो डढेलोको सम्भावना टर्छ।’ यसले वन र वन्यजन्तुमा ठूलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए।
नियन्त्रित डढेलो लगाउन निकुञ्जका घाँसे मैदानमा एक महिना लाग्ने उनले जानकारी दिए। घाँसे मैदानलाई खण्ड खण्ड बनाएर डढेलो लगाइन्छ।





