काठमाडौँ : आजबाट ‘भक्तपुर फिल्म महोत्सव’ सुरु भएको छ। नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु गरिएको हो।
भक्तपुरका युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गरेको हो।
चैत ७ सम्म हुने महोत्सवमा २४ फिल्म देखाइनेछ। महोत्सवमा फिचर, डकुमेन्ट्री लघु फिल्म देखाइने आयोजकले जनाएको छ। जसमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्महरु छन्।
महोत्सवको पहिलो दिन ‘ढोरपाटन’का निर्देशकद्वय सुनीर पाण्डे र राजन कठेत, फिल्म समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमिल्सेना, निर्माता अनुप पौडेल, सिनिमेटोग्राफर बबिन दुलाललगायत उपस्थित थिए।
भक्तपुर जन्मथलो भएकै कारण यसको आवश्यकता ठानेर भक्तपुरमा यो महोत्सव सुरु गरिएको संयोजक सफल वैद्यले बताए। ‘भक्तपुर हाम्रो जन्मथलो। भक्तपुरमा केही गरौं भन्ने थियो। त्यसैले हामीले यो महोत्सव सुरु गर्यौं,’ वैद्यले भने। वैद्य फिल्मका विद्यार्थी हुन्। महोत्सव निर्देशक भने किरण किलम्बु हुन्।





