काठमाडौँ- अखिल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेका छन्।
यसअघि राखेका मागका विषयमा एन्फा गम्भीर नभएको भन्दै संघले आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गर्दै धर्ना दिएका हुन्। उनीहरूले सहिद स्मारक डिभिजन लिगको मिति तोक्ने प्रतिबद्धता गरे पनि मिति नतोकिएको भन्दै आपत्ति जनाएका छन्।
त्यस्तै खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गराउने निर्णय वर्तमान कार्यसमितिको बैठकबाट पारित भए पनि सन २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता प्राप्त नभएको र खेलाडी अक्षय कोषको पारदर्शीता नभएको जनाएका छन्।
आफूहरूले अघि सारेको मागमा पटकपटक वार्ता र सडक संघर्षका बाबजुद पनि एन्फा बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले बताए।
खेलाडी अक्षय कोषको पारदर्शीता नहँुदा खेलाडीहरू घाइते हुँदा उपचार नहुने अवस्था आएको हुँदा त्यसतर्फ एन्फा गम्भीर हुनुपर्ने उनीहरूले जनाएका छन्।





