चुनावमा एमालेको सर्मनाक पराजयपछि योगेशले भने- हामी मरेका होइनौं

हिमाल प्रेस २५ फागुन २०८२ १३:४४ | Monday, March 9, 2026
20
SHARES
चुनावमा एमालेको सर्मनाक पराजयपछि योगेशले भने- हामी मरेका होइनौं

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेको सर्मनाक पराजयपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षा आवश्यक रहेको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उपमहासचिव भट्टराईले एमाले अहिले कठिन अवस्थामा पुगे पनि पार्टी समाप्त नभएको बताए। उनले पार्टीभित्र खुला बहस, नीतिगत सुधार र सामूहिक पहलबाट पुनः जनसमर्थन हासिल गर्न सकिने बताएका छन्। उनले लेखेका छन्,‘कमरेडहरू, हामी ढलेका मात्र हौं, मरेका होइनौं।’

भट्टराईका अनुसार निर्वाचन परिणामपछि पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमा कुराकानी भएको र त्यत्तिकै संख्यामा सन्देश प्राप्त भएको बताए। ती संवादमा पार्टी कार्यकर्ता र शुभेच्छुकबाट सुझाव, आलोचना, आक्रोश, निराशा तथा सम्भावनाबारे विभिन्न धारणा आएको उनको भनाइ छ।

उनले भनेका छन्,‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन्। यो आजको वस्तुगत यथार्थ हो।’

भट्टराईले पार्टीले भदौ २३ र २४ पछि लिएको नीतिबारे आफूहरूले पटकपटक छलफल र सुधारको आग्रह गरे पनि त्यसमा सफल हुन नसकेको उल्लेख गरेका छन्। अब भने पार्टीभित्र खुला बहस र पुनरावलोकन आवश्यक भएको उनको धारणा छ।

उनले पार्टीको वर्तमान अवस्थाका लागि नीतिगत निर्णयसँगै जिम्मेवारीमा रहेका सबै तहका नेतृत्वले जवाफदेहिता लिनुपर्ने बताएका छन्। उनका अनुसार केन्द्रीय कमिटी र सचिवालयले पनि सफलता र असफलताको जिम्मेवारी वहन गर्नुपर्छ।

भट्टराईले पार्टीभित्र गुटबन्दीको घेराबाट बाहिर निस्केर खुला छलफल गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। उनले भनेका छन्,‘पार्टीले सामना गर्नु परेको अवस्था सिंगो पार्टीको असफलता हो। सामूहिक बुद्धि, विवेक र पहलबाट मात्रै यो अवस्थालाई बदल्न सकिन्छ।’

प्रकाशित: २५ फागुन २०८२ १३:४४ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast