प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ- स्वास्थ्य बिमा सुविधालाई वार्षिक २५ हजार रुपैयाँमा सीमित गरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन्।
स्वास्थ्य बिमा बोर्डले व्ययभार बढेको कारण देखाउँदै वर्षमा २५ हजार रुपैयाँ बराबरको मात्र बहिरंग (ओपीडी) सेवा उपलब्ध गराउने निर्णय गरेपछि प्रधानमन्त्रीले सरोकारवालासँग छलफल गर्न बैठक आह्वान गरेकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठक आज दिउँसो १:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
‘स्वास्थ्य बिमासँग सम्बन्धित सबै सरोकारवाला निकायका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ,’ रावलले भने। उनका अनुसार बैठकमा स्वास्थ्य बिमा सुविधा कटौतीपछि देखिएका समस्या र त्यसको समाधानका उपायबारे विस्तृत छलफल हुनेछ।
हाल सात सदस्यीय परिवारबाट ३ हजार ५ सय रुपैयाँ शुल्क लिएर वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा दिँदै आएको स्वास्थ्य बिमा बोर्डले अस्पताललाई गर्नुपर्ने भुक्तानी बढेको भन्दै सोमबार सूचना जारी गर्दै सुविधा घटाएको हो।
नयाँ निर्णयअनुसार फागुन १ गतेदेखि स्वास्थ्य बिमा गरेका परिवारले वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी सेवा पाउनेछन्।



