काठमाडौँ- झापाको चुनावी मैदानमा पूर्वसभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच तीखो राजनीतिक सवालजबाफ सुरु भएको छ।
झापाको बिर्तामोडमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्ने क्रममा पूर्वसभामुख घिमिरेको भूमिकामाथि टिप्पणी गरेपछि यो विवाद सतहमा आएको हो। लामिछानेले घिमिरेलाई लक्षित गरी ‘कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ?’ भनी प्रश्न गरेका थिए।
उनले संसदमा जनताका मुद्दा उठाउँदा घिमिरेले माइक काटिदिएको र ‘बा’ को आदेश मानेर आफूलाई दुई घण्टाभित्रै पदमुक्त गराएको आरोप समेत लगाए। घिमिरेलाई सभामुख बनाउन आफ्नो हस्ताक्षर प्रयोग भएकोमा लामिछानेले सोही मञ्चबाट ‘रबर स्ट्याम्प’ चयन गरेको भन्दै आत्मालोचना समेत गरे।
लामिछानेको यस प्रहारको प्रतिवाद गर्दै पूर्वसभामुख देवराज घिमिरेले विज्ञप्ति जारी गरी आफ्ना भनाइहरू राखेका छन्। घिमिरेले लामिछानेका अभिव्यक्तिलाई ‘घृणा फैलाउने नियतले दिइएको भ्रमित टिप्पणी’ को संज्ञा दिएका छन्। संसदीय अभ्यासमा माइक काट्नु सभामुखको व्यक्तिगत निर्णय नभई नियमावली र समय व्यवस्थापनको पाटो भएको दाबी गर्दै उनले संसद्को कार्यप्रणाली बुझ्न लामिछानेलाई सुझाव दिए।
घिमिरेले उल्टै लामिछानेको नैतिकतामाथि प्रश्न उठाउँदै सांसद पदमा बहाल रहने कानुनी आधार नभएको व्यक्तिले कुन आधारमा जनतासँग मत मागिरहेको भनी प्रश्न गरे। झापा क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका घिमिरेले आफू स्वस्थ चुनावी प्रतिस्पर्धाको पक्षमा रहेको बताउँदै व्यक्तिगत आरोप र घृणाले निर्वाचन प्रभावित नहुने बताए।





