बाँके- यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ।
महिला, कानुन र विकास मञ्च काठमाडौँको सहयोगमा सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले, बाँके र बर्दियामा निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा सुरु गरेको हो।
बाँके र बर्दियामा विशेषगरी थारू, मधेशी, मुस्लिम, सीमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका महिला र १८ वर्ष पुगेका युवायवतीलाई मतदाता शिक्षा दिन लागिएको हो।
बाँकेको जानकी गाउँपालिका-२ मा मधेशी समुदायका महिलालाई मतदाता शिक्षाबारे जानकारी दिइएको छ।
अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भूमिका मतपत्रबारे जानकारी, मतदान गर्न जाँदा ध्यान दिनुपर्ने कुरालगायतका बारेमा अधिवक्ता विश्वजित तिवारीले सहजीकरण गरेका थिए।
कार्यक्रममा सहभागी महिलालाई मतदानबारे अभ्यासका लागि नमूना मतदान गराइएको थियो। कार्यक्रममा वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले मत बदर बढी हुने गरेकाले यो मतदाता शिक्षाले सहयोग पुग्ने बताए।
उनले मताधिकारको प्रयोग गरी निर्वाचनमा सहभागी हुन आग्रह गर्दै मतदानबारे जागरुक बन्नुपर्नेमा जोड दिए। नमुना मतपत्रका माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराइएको छ।
प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए।





