सर्लाही- सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति ८ बजे सर्लाहीको इश्वरपुर नगरपालिका १३ बाँकेसंग्रामपुर सडक खण्डको ठिल्ला नजिक तीनवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएको थियो। सूचनापश्चात प्रहरी चौकी गौरीशंकरबाट प्रहरी सहायक निरीक्षक लिलानाथ मिश्राको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीले घटनास्थलबाट ४ जनालाई घाइते अवस्थामा उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाएको थियो। ती मध्ये गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो।
प्रहरीका अनुसार गम्भीर घाइते भएका सर्लाहीको हरिपुर्वा नगरपालिका ९ मिर्चैयाका अन्दाजी ३०/३५ वर्षका मुकेश राय र सोही ठाउँका अन्दाजी ३०/३५ वर्षका रामज्ञान रायको उपचारका क्रममा मृत्यु भएको हो। हरिपूर्वा- ९ कै २२ वर्षीय विक्रम राय र ४२ वर्षीय विश्वास राय भने सामान्य घाइते भएका थिए। उपचारपश्चात उनीहरूलाई इलाका प्रहरी कार्यालय केशरगन्जको नियन्त्रणमा राखेर घटनाको अनसन्धान भइरहेको प्रहरीले जनाएको छ।




