काठमाडौँ- अग्रज पत्रकार तथा राजनीतिक विश्लेषक गोपालकुमार झाले भ्रम, भीड र सामाजिक सञ्जालको प्रभाव देखाएर मात्र चुनाव जितिन्छ भन्ने सोच गलत रहेको बताएका छन्। हिमालप्रेस टकसोमा बोल्दै उनले मतदातालाई कमजोर रूपमा आकलन गर्नु गम्भीर भूल हुने टिप्पणी गरे। झाले भने, ‘नेपाली मतदाता बुझ्ने, तुलना गर्ने र निर्णय गर्ने क्षमता राख्छन्। अनुमोदन त्यत्तिकै हुँदैन।’
उनले झापा-५ लगायत विभिन्न स्थानमा देखिएको भीडलाई लिएर फैलाइने राजनीतिक भ्रमप्रति सचेत गराए। उनले भने,‘रमिते र मतदाता फरक कुरा हुन्। भीड देखिँदैमा सबै मतदाता हुन्छन् भन्ने भ्रममा पर्नु हुँदैन।’
ग्रासरुट संगठन, दीर्घकालीन काम र संरचनालाई बेवास्ता गरेर चुनाव जितिन्छ भन्ने राजनीतिक दलहरूको धारणा टिकाउ नहुने उनको भनाइ थियो।
झाले खुलेर बहस गर्न नसक्ने नेताले नेतृत्वको दाबी गर्नु उपयुक्त नहुने धारणा राखे। ‘यदि साँच्चै नेतृत्व गर्ने हैसियत छ भने कम्तीमा आफ्नैभन्दा जुनियर पुस्ताका नेतासँग खुला बहस गर्न सक्नुपर्छ,’ उनले भने।
बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको नेतृत्व छाडेर राष्ट्रिय राजनीतिमा जानु राजनीतिक अपराधसरह भएको उनको आरोप छ। ‘पाँच वर्षका लागि जनतासँग बाचा गरेर बीचमै पद छोड्नु धोका हो,’ उनले भने, ‘यसले उपनिर्वाचनको बोझ थप्छ, जुन कमजोर अर्थतन्त्रका लागि जायज हुँदैन।’
झाले दुई चार वटा सडक बनाउनु मात्र उपलब्धि नभएको बताउँदै नीति तहमा जनतालाई ‘गुड फिल’ दिन नसकेको आरोप पनि लगाए। ‘दिगो नीति, स्पष्ट दृष्टि र अध्ययन बिना देश चलाउन सकिँदैन,’ उनको भनाइ थियो।
कार्यक्रममा उनले निर्वाचनलाई लोकतन्त्रको अनिवार्य प्रक्रिया भएको उल्लेख गर्दै जनताको म्यान्डेटबाट सरकार बन्ने र त्यसैका आधारमा देश सञ्चालन हुने बताए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा-५ मा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली राजनीतिमा यी दुई उम्मेदवारको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।



